७ वैशाख २०८१ शुक्रबार
राजनीति

श्रमिक वर्गको सामाजिक सुरक्षामा जोड

काठमाडौँ – मुलुकका विभिन्न क्षेत्रमा क्रियाशील श्रमिक वर्गको सामाजिक सुरक्षामा लगानी वृद्धि गर्न आवश्यक कानून निर्माण तथा उचित वातावरणका लागि सरकार संवेदनशील हुनुपर्नेमा जोड दिइएको छ। 

नेपाल ट्रेड युनियन काँग्रेस, ललितपुरले नयाँ वर्ष, लोकतन्त्र दिवश र श्रमिक दिवशको सन्दर्भ पारेर आज आयोजना गरेको चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रममा सहभागी वक्ताले सरकारले उत्पदानशील क्षेत्रमा लगानी वृद्धि गरी रोजगारी सिर्जना गर्ने र श्रमिकको सामाजिक सुरक्षामा विशेष ध्यान दिनुपर्ने सुझाएका हुन्। 

नेपाली काँग्रेसका नेता ओमकारप्रसाद श्रेष्ठले मुलुकको विकास र समृद्धिमा दक्ष जनशक्ति उत्पादन गरी उनीहरुलाई रोजगारमा केन्द्रीत गर्न अवको मजदुर आन्दोलनको कार्यदिशा हुनपर्ने विचार व्यक्त गरे। 

सांसद धन खतिवडाले देशमा कृषि, पर्यटन, पूर्वाधार, यातायातलगायतका क्षेत्रको विकास गरिनुपर्ने बताउँदै यस क्षेत्रले रोजगारी बढाउने र बेरोजगार समस्या समाधान गर्न सहयोग गर्ने बताए। 

युनियनका केन्द्रीय अध्यक्ष खिलानाथ दाहालले आफ्नो संस्थाले श्रमिक वर्गको सामाजिक विकासका लागि विसं २०५४ देखि माग गर्दै आएको सामाजिक सुरक्षाको विषयमा अहिले विधेयक बनेकोमा खुशी व्यक्त गरे। युनियनका नेता मोहनकुमार बस्नेतले उक्त संस्थामा अहिले करिब तीन लाख ५० हजार सदस्यलाई संगठित गरिएको जानकारी दिँदै आगामी दिनमा स्वदेशमा रोजगार सिर्जना गरी विदेशिएका युवालाई फर्काउनुपर्नेमा जोड दिए। 

कार्यक्रम आयोजक संस्थाका अध्यक्ष कमलकुमार विष्टले स्वदेशमा शैक्षिक बेरोजगार बढदै गएकोमा चिन्ता व्यक्त गर्दै अनौपचारिक क्षेत्रमा कार्यरत श्रमिकलाई पनि संस्थामा संगठित गराउन पहल भइरहेको बताए। 

 

प्रकाशित: ८ वैशाख २०७५ ०७:३१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App