coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

स्वास्थ्य केन्द्रमा नाडी छामेर उपचार गरिँदै

सिरहा – रुघाखोकी, ज्वरोले थलिएकी डेढ बर्षीया कृतिका यादवको नाडी छामेर बिरामी ठम्याउँदै थिए स्वास्थ्य चौकी मझौराका ईन्चार्ज(सिअहेव) रामेश्वार प्रसाद यादव। छातीको घरघराहट(कफ जमेनजमेको) लगायतको जाँच गर्ने उपकरण एथेसस्कोप(आला) नहुँदा स्वास्थ्यकर्मी यादवले उनको नाडीं छामेर बिरामी पता लाउँदै थिए।

कृतिका मात्र होईन उपचारका लागि आउने हरेक बिरामीलाई स्वास्थ्यकर्मीले जाँच्ने बिधी उही हो– नाडीं छाम्ने। जाँच उपकरण नहुँदा स्वास्थ्यकर्मीसँग बिरामी जाँच्न नाडीं छाम्नुबाहेकको बिकल्प छैन्।

यहाँ उपचारका लागि त्यती धेरै बिरामी पनि आउँदैन्। बिरामी नआउनुको कारण हो–औषधी र उपकरण नहुनु। आकलझुकल बिरामी आईहालेपनि नाडी छामेर अन्दाजको भरमा लेखिएको औषधी लेखिएको पुर्जा बोकेर बिरामी घर फर्किनु पर्छ। औषधी र उपकरण अभावपूर्ती गर्न पटक–पटक गाउँपालिकाका स्वास्थ्य संयोजक मार्फत गुहार्दा पनि सुनवाई भएको छैन्। औषधी नै नभएपछि हामी कहाँबाट विरामीलाई दिनु स्वास्थ्य चौकीका ईन्चार्ज यादवले भने। उपकरण(आलाबिपी) उपलब्ध गराएपो हामी बिरामीलाई जाँच्नु, नभएपछि जेनतेन उपचार गर्नैप¥यो, उनले भने।

स्वास्थ्य चौकीमा आलाबिपी नभएको जानकारी जिल्लादेखि गाउँपालिका समेतमा गराइसकेको उनले बताए। तर, आपूर्तीका लागि अलमल छ। जिल्ला स्वस्थ्य कार्यालयले खरिद गरेर दिने की गाउँपालिकाले। गाउँपालिका स्वास्थ्य कार्यालयको भर परेको र स्वास्थ्य कार्यालय गाउँपालिकाको भरपर्दा यस स्वास्थ्य चौकीमा आलाबिपीदेखि औषधी समेत छैन्।

यहाँ दरबन्दीका एकजना हेल्थ असिस्टेन्ट, एकजना अहेव, एकजना अनमीको पद रिक्त छ। औषधी नै नभएपछि बिरामीको चाप छैन्। बिरामी नै नआउने भएपछि रिक्त दरबन्दीका स्वास्थ्यकर्मीको अभाव महसुस नभएको यादवले बताए।

गर्भनिरोधक भ्याक्सिन डिपो र गर्भबत्ती महिलाले खाने आयरन चक्की समे नभएको यादवले बताए। पहिला जिल्ला स्वास्थ्य कार्यालयको मातहतमा हुँदा अहिलेजस्तो औषधीको चरम अभाव हुँदैनथ्यो उनले भने। स्थानीय तहको मातहत आएदेखि अलमलै अलमल छ। कर्मचारीले समयमा तलब पाएको नवराजपुर गाउँपालिकाका स्वास्थ्य संयोजक दोरिकलाल कामैतले बताए। यस गाउँपालिकामा औषधी खरिदका लागि समिति नै गठन भएको थिएन, बल्ल समिति गठन भएको उनले बताए। समिति गठन नहुँदा खरिद प्रक्रिया सुरु भएको थिएन उनले भने,‘अब खरिद प्रक्रिया सुरु हुन्छ।’

यस गाउँपालिका अन्तर्गत रहेको स्वास्थ्य चौकी मझौरा, स्वास्थ्य चौकी भगवत्तीपुर तामासुइँया र प्राथमिक स्वास्थ्य केन्द्र नवराजपुरमा औषधीको चरम अभाव रहेको स्वास्थ्य संयोजक कामैतले बताए।

प्राथमिक स्वास्थ्य केन्द्र नवराजपुर ल्याव असिस्टेन्टको भरमा सञ्चालन भैरहेको छ। यहाँको हेल्थ असिस्टेन्ट दोरिकलाल कामैत गाउँपालिकामा स्वास्थ्य संयोजक भएर गएपछि केन्द्र ल्याव असिस्टेन्ट नन्दकिशोर यादवको भरमा छ। जिल्ला स्वास्थ्य कार्यालयबाट स्थानीय तहमा जिम्मेबारी सरेदेखि स्वास्थ्य केन्द्रहरुमा उपचार समग्रीको चरम अभाव भएको छ।

औषधी  नहुँदा बिरामी आउन छोडेपछि करार सेवामा आएका डा. रितेशराज कर्णपनि बिदा लिएर बसेका छन्।

रुघाखोकी र ज्वरोले थलिएका १३ महिने छोरा अमर पासवानलाई काँखमा बोकेर भगवानपुर–२ की जानकीदेवी गाउँकै प्राथमिक स्वास्थ्य केन्द्र भगवानपुर पुगिन्। ‘सरकारी अस्पतालमा भरपर्दो उपचार र निःशूल्क औषधीको सुविधा पाउँछ सुनेकी थिए उनले भनिन्,‘यहाँ आउँदा ठ्याकै उल्टो पाएँ।’ स्वास्थ्यकर्मीले अमरलाई जाँचेर औषधी लेखिएको सरकारी अस्पताल सम्झेर आएकी थिए उनले भनिन्,‘सरकारी अस्पतालमा औषधीको पुर्जा मात्र थमाउँदो रहेछ, औषधी दिदोरहेनछ।’

स्वास्थ्य मन्त्रालयको ‘स्वास्थ्य संस्था हस्तान्तरण निर्देशिका २०७४’ मा स्थानीय तहलाई प्राप्त बजेट औषधि खरीद गर्न पर्याप्त नभएमा अन्य स्रोत परिचालन गरेर भए पनि औषधिको व्यवस्था गर्नुपर्ने उल्लेख छ। बजेट अभाव देखाएर स्वास्थ्य सेवा रोक्न नहुने व्यवस्था निर्देशिकामा भए पनि व्यवहारमा लागू भएको पाइँदैन।

स्थानीय तह निर्वाचनपछि सरकारले स्वास्थ्य चौकी, प्राथमिक स्वास्थ्य केन्द्र, अस्पतालहरु स्थानीय तहलाई हस्तान्तरण गरेको छ। स्वास्थ्य संस्था हस्तान्तरण निर्देशिकाले स्थानीय तहले स्वास्थ्य सम्बन्धी कार्य गर्दा जिल्ला स्वास्थ्य कार्यालयसँग समन्वय गर्नुपर्ने उल्लेख छ।

जिल्ला स्वास्थ्य कार्यालयका निमित प्रमूख उमेश लाल कर्णका अनुसार औषधिको चरम अभाव हुन नदिन एक समय–समयमा केन्द्रबाट प्राप्त औषधि जिल्लाका विभिन्न स्वास्थ्य संस्थामा पठाइएको छ। ‘तर, यसबाट समस्याको समाधान हुँदैन। स्थानीय तहबाटै औषधिको समस्या समाधान गर्नुपर्छ,’ उनले भने। जिल्ला स्वास्थ्य कार्यालय र स्थानीय तहबीच औषधि आपूर्तिका विषयमा  तालमेलको समेत अभाव देखिएको छ।

प्रकाशित: ८ वैशाख २०७५ ०६:४६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App