रंगविरंगका फूलहरु फूल्ने प्राकृतिक बगैंचा भएकाले म्याग्दीको एउटा खर्कको नाउँ नै फूलबारी राखिएको छ। यतिबेला त्यहाँ लालीगुराँस र मार्कु फूलको बैंश देख्न पाइन्छ। फूलैफूलको उज्यालोमा आँखा शितल बन्छ भने मन प्रफूल्ल।
अन्नपूर्ण गाउँपालिका–७ मा पर्छ फूलबारी (२,९२५ मिटर)। त्यहाँ एकै ठाउँमा उभिएर हिमालको लामो लर्कन समेत दर्शन गर्न सकिन्छ। दाहिनेतिरबाट हिउँचुली, अन्नपूर्ण साउथ, अन्नपूर्ण प्रथम, बराह हिमाल, निलगिरि साउथ, धम्पुस पिक, टुकुचे पिक (मानापाथि), धौलागिरि र गुर्जा हिमाल लहरै उभिएका छन्।
फूलबारी क्षेत्रमा १६ थरि गुराँस पाइन्छ। गुराँसे जंगल बर्ड वाचिङका लागि समेत उपयोगी छ। त्यहाँ हरपल चराको चिरबिर सुनिन्छ। हिमाल हेर्न असोजदेखि मंसिरसम्म बेस्ट सिजन हो भने गुराँसमा रमाउने सिजन फागुनदेखि चैतसम्म।
करबाकेली पदमार्गको फूलबारीबाट गुर्जा, धौलागिरिदेखि अन्नपूर्ण हिमालसम्मको लामो लर्कन देखिन्छ।
फूलबारी क्षेत्र जडीबुटीका लागि समेत उर्बर छ। त्यहाँ सतुवा, पदमचाल, चिराइतो, खिरौंला, जिन्सिङ, स्ट्रबेरी, भुइँकाफल आदि पाइन्छ। त्यहाँको खर्कमा मृग, स्याल, थार, घोरल डुल्छन्। कालीज, फुक्रास, चिल, लामपुच्छ्रे, काँठे चाँचर, काँडे भ्याकुर आदि पनि पाइन्छ।
खासमा फूलबारी खर्क हो। बिशेषतः रिमा गाउँका गाउँलेहरु त्यहाँ बर्खा बेला गाई भैंसीका गोठ राख्थे। वरपरका काफल डाँडा र राम्चेका पनि केही गोठ हुन्थे। तिनताका ४० वटासम्म गोठ हुन्थ्यो । अचेल खर्कमा गाईभैंसी राख्ने चलन हराउँदै गइसक्यो। जब मुलुक शान्ति प्रक्रियामा प्रबेश ग-यो तब त्यही खर्कमा पर्यटन विकास गर्न गाउँले कस्सिए। त्यहाँ याम पुनले फूलबारी गेष्ठ हाउस चलाएका छन्। त्यस अघि माओवादी जनयुद्ध सुरु नहुँदै यो रुटमा काठमाडौंका केही कम्पनीले क्याम्पिङ ट्रेक चलाउँथे।
शान्त, शितल र आरामदायी गन्तव्य–फूलबारी। फूलबारीबाट मात्र १ घन्टा उकालो चढे संसारमै प्रख्यात पुनहिल (३,२१० मिटर) पुगिन्छ। पुनहिलमा बर्सेनी हजारौं पर्यटक पुग्छन्। तर, त्यसकै दक्षिणी बेस क्याम्प फूलबारीमा चहलपहल छैन।
त्यहाँको फूलबारी गेष्ठ हाउसमा तीस जनासम्म बस्न सक्छन्। त्यस्तै गुममाया पुनले अन्नपूर्ण गेष्ठ हाउस निर्माण गरिरहेकी छिन्। फूलबारीमा सस्तोमा खाना र बास पाइन्छ। त्यहाँ योग र ध्यान गरेर केही दिन बस्न सके तन र मन दुबैमा स्फूर्ति बढ्छ। तनावबाट मुक्ति मिल्छ। प्रकृतिसँग मितेरी गाँस्दा मनमा आनन्द छाउँछ।
फूलबारीलाई केन्द्र मानेर सेरोफेरोका पुनहिल, महरेडाँडा, खोप्रा, फलामेडाँडा, लेस्पार पदयात्रा गर्न सकिन्छ। आन्तरिक पर्यकका लागि समेत फूलबारी प्रकृतिको सुन्दर उपहार हो। करबाकेली पदमार्गका बासिन्दा सहयोगी छन्। आत्मीय छन्।
फूलबारीमा फाट्टफुट्ट पर्यटक आइपुग्छन्। पुनहिल आउने पर्यटक फूलबारी हुँदै करबाकेली पदमार्गबाट बेनी झर्ने वातावरण मिलाउन सके पर्यटनको प्रतिफल धेरैतिर बाँडिने थियो।
त्यसका लागि भर्खरै तिनै यामबहादुरको अगुवाईमा करबाकेली पर्यटन व्यवस्थापन समिति गठन भएको छ। पर्यटन अभियानका अर्का अगुवा काफलडाँडाका समाजसेवी चामबहादुर पुन पनि हुन्। समितिले करबाकेली इको ट्रेकको म्याप, भिडियो, पोष्टर, ब्रोसर आदि उत्पादन गरेर ग्रामीण पर्यटन विकास गर्ने योजना अघि बढाएको छ ।
कसरी पुग्ने : काठमाडौं–बेनी २८२ किमि बसमा १० घन्टा। बेनी–फलामेडाँडा–नागी–राम्चे ३५ किमि, जिपमा ४ घन्टा। राम्चेबाट २.५ घन्टा पदयात्रामा फूलबारी। अर्को रुट बेनी–रिमा–काफलडाँडा करबाकेली ४५ किमि, जीपमा ४ घन्टा। करबाकेली–फूलबारी पदयात्रा ३.५ घन्टा।
नेपाली मेनु
सादा खाना पेटभरि २५० रुपैयाँ
ब्रेकफास्ट सेट १५० रुपैयाँ
डबल बेड कोठा २०० रुपैयाँ
चिया कप १५ रुपैयाँ
उसिनेको आलु प्लेट १०० रुपैयाँ
सम्पर्क : ९८४६१०६६२४
आउनुस् है
याम पुन, अगुवा
फूलबारीमा बर्सेनी पर्यटक बढिरहेका छन्। उनीहरु यहाँको सौन्दर्यमा भुतुक्कै हुन्छन्। लन्च खान भनेर मात्रै आइपुग्नेहरु पनि एक रात यतै बस्छन्। हामी फूलबारीको मात्र होइन, समग्र करबाकेली क्षेत्रकै पर्यटन प्रवद्र्धनमा जुटेका छौं। स्वदेशी तथा विदेशी दुबै खाले पर्यटकलाई स्वागत गर्न हामी हरदम तयार छौं।
प्रकाशित: ८ वैशाख २०७५ ०४:०७ शनिबार