‘हामी सिकाउँछौं पेनाल्टी हान्न ’

शनिबार, ०८ बैशाख २०७५, ०९ : ०६ अजय फुयाल

3009


नकआउट चरणको फुटबलमा निर्धारित समय र थप गरिएको अतिरिक्त समय बराबरीमा टुंगियो भने निर्णयार्थ खेल पेनाल्टी सुटआउटमा धकेलिन्छ।

सुटआउटमा पहिलो पाँच-पाँच पेनाल्टीमा पनि बराबर भए खेल एक-एक पेनाल्टीको सडन डेथमा जान्छ । निर्धारित समय र अतिरिक्त समय हटाउने हो भने पेनाल्टीमात्र फुटबल रहदैन । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले यस्तो कुनै स्वरुपमा फुटबल कल्पना गरिसकेको छैन।

सुदूरपश्चिमको केन्द्र, प्रदेश नम्बर– ७ को राजधानी धनगढीमा पेनाल्टीमात्र हान्ने एउटा प्रतियोगिता हुन थालेको ६ वर्ष भइसकेको छ । हरेक नयाँ वर्षको स्वागतका लागि चैत मसान्तको राती हुने प्रतियोगितामा विजेताले एक लाख, उपविजेताले ५० हजार र टिकट काटेर जाने दर्शकले भाग्यशाली चिठ्ठामार्फत एउटा मोटरसाइकल पाउँछन्।

देशभरबाट ३२ टोली यसमा सहभागी हुन्छन् । सहभागिताका लागि टोलीबीच तछाडमछाड हुँदा पहिला आउने ३२ टोलीलाईमात्र दर्ता गराउन आयोजक बाध्य छन् । ‘लाइटमा खेलाउने भएकाले अध्यारो नभई प्रतियोगिता सुरु गर्न मिलेन । रातको १२ बजे फाइनल सक्नका लागि धेरै टोली भयो भने गाह्रो हुन्छ,’ आयोजक प्रमुख दीनेश श्रेष्ठ भन्छन्।कसरी सुरु भयो त यस्तो प्रतियोगिता नेपालमा ? फुटबल प्रशासनसँग कुनै साइनो नभएको खाले भकुन्डो प्रतियोगिताको सोच धनगढीमा कसरी पलायो त ?२०७० भदौमा दशरथ रंगशालाले दक्षिण एसियाली फुटबल (साफ) च्याम्पियनसिप आयोजना गरिरहेको थियो । नेपाली राष्ट्रिय टोली उपाधि दाबेदारका रूपमा घरेलु मैदानमा चुनौती पेस गरिरहेको थियो।

लामो समयदेखि अन्तर्राष्ट्रिय फुटबलमा सफलताका लागि तड्पिइरहेको नेपालले घरेलु मैदानमा साफ च्याम्पियनसिप जित्ने सम्भावना बलियो थियो । समूह चरणमा उपाधिको मुख्य दाबेदार भारतलाई हराएपछि नेपालको मनोबल उच्च बनेको थियो । भदौ २३ गतेको सेमिफाइनलमा प्रतिद्वन्द्वी थियो, अफगानिस्तान । भारतलाई हराइसकेपछि अफगानिस्तानको चुनौती पनि पाखा लगाउनेमा नेपाली टोलीका साथै समर्थक पनि विश्वस्त थिए । तर, दशरथ रंगशालाको त्यो साँझ नेपाल र नेपाली फुटबल प्रेमीका लागि निक्कै निष्ठुरी साबित भयो।

नेपालले अन्तर्राष्ट्रिय खेल खेल्दा दशरथ रंगशाला सधैँ भरिभराउ हुन्थ्यो । त्यो दिन पनि भयो । रंगशालामात्र नभई देशैभरी फुटबलप्रेमी लामो समयपछि नेपालले अन्तर्राष्ट्रिय उपाधि जित्ने आशामा टेलिभिजन अगाडि झुम्मिएका थिए ।राम्रो प्रदर्शन भए पनि नेपालले दुर्भाग्यजनक रूपमा ११औँ मिनेटमा एक गोल खाइसकेको थियो । तर, पुनरागमनको प्रयासमा नेपालले पूरा खेल आफ्नो नियन्त्रणमा राखेको थियो।

भाग्यवश अफगानी गोलकिपर मन्सुर फारियारले विमल घर्तीमगरमाथि फाउल गर्दा नेपालले पेनाल्टीको मौका पायो । पेनाल्टी हान्नका लागि नेपाली टोलीमा पहिलो रोजाइमा थिए, राजु तामाङ । तर, राजु मैदानबाट बाहिरिसकेकाले दोस्रो रोजाइका पेनाल्टी टेकर रोहित चन्दले त्यो मौका पाए । वास्तवमा त्यो पेनाल्टी नेपालका लागि अत्यन्तै महत्वपूर्ण थियो । घरेलु मैदानमा आफूले पूर्ण रूपमा नियन्त्रणमा राखेको खेलमा पाएको त्यो पेनाल्टीलाई गोलमा परिणत गर्न सके नेपालको जीत निश्चत हुन सक्थ्यो । लामो समयदेखि अन्तर्राष्ट्रिय उपाधि जित्ने प्रतिक्षा पूरा गर्ने अभियानमा त्यो एउटा कोसेढुंगा बन्न सक्थ्यो।

टिमको भाग्य निर्धारण गर्ने पेनाल्टी हान्नु खेलाडीका लागि पनि ठूलो दबाबको काम थियो । घरेलु मैदान र प्यारापिटमा भरिएका दर्शक पनि त्यस्तो बेला खेलाडीका लागि दबाब बन्न सक्छन् । त्यसैले नेपाली टोलीका अमेरिकी प्रशिक्षक ज्याक स्टेफानोस्कीले त्यो महत्वपूर्ण पेनाल्टी हान्ने जिम्मा राजुको अनुपस्थितीमा रोहितलाई दिएका थिए । रोहितमाथि उनको विश्वास अरुभन्दा बढि थियो । इन्डोनेसियामा व्यावसायिक फुटबलको अनुभव लिइसकेकाले रोहितमै त्यस्तो दबाबमुलक अवस्थालाई सहजै पार लगाउने परिपक्वता उनले देखेको हुन सक्छ।

लामो समयदेखिको उपाधि खडेरी तोड्ने अभियानको जग हाल्न रोहित विपक्षीको पेनाल्टी बक्समा गतिका साथ दौडिइरहेका थिए । त्योभन्दा तीव्र गतिमा रंगशालामा पुग्ने र टेलिभिजनको पर्दामा हेर्नेको मुटु ढुकढुक गरिरहेको थियो।पूरा रंगशालालाई स्तब्ध पार्दै रोहितको पहिलो प्रहार असफल भयो । रोहितले पोस्टको दायाँ भागमा ग्रास बल प्रहार गरे । विपक्षी गोलकिपरले त्यो प्रहार रोके।

भाग्यले रोहित र नेपाललाई अर्को मौका मिल्यो । साउदी अरेबीयाका रेफ्रि इदाम मोहम्मद तुमाह माखादमेहले ‘रिकिक’को निर्णय लिए । रोहितले बल किक गर्नुअघि गोलकिपर फागिरयार अघि बढेका कारण रेफ्रिले ‘रिकिक’मार्फत नेपाललाई अर्को मौका दिएका थिए।

रोहितको प्रहार खेर जाँदा एकाएक निराश बनेका सम्पूर्ण नेपाली समर्थकको मन फेरी उत्साहित भयो । रोहितमाथि प्रशिक्षक र टिमको विश्वास एकपटकको प्रहार खेर गए पनि डगमगाएन । दोस्रो पटक पनि पेनाल्टी हान्न उनै रोहित तम्सिए । तर, फेरी पाएको अवसरमा पनि उनी सफल भएनन् । रोहितले दोस्रो पटक पनि त्यही ठाउँमा पहिलाजस्तै सुस्त गतिमा प्रहार गर्दा बल गोलकिपरलाई छिचोल्न सफल भएन।

सुदूरपश्चिमको केन्द्र, प्रदेश नम्बर– ७ को राजधानी धनगढीमा पेनाल्टीमात्र हान्ने एउटा प्रतियोगिता हुन थालेको ६ वर्ष भइसकेको छ । हरेक नयाँ वर्षको स्वागतका लागि चैत मसान्तको राती हुने प्रतियोगितामा विजेताले एक लाख, उपविजेताले ५० हजार र टिकट काटेर जाने दर्शकले भाग्यशाली चिठ्ठामार्फत एउटा मोटरसाइकल पाउँछन्।
 

रोहित चन्दजस्ता स्टार खेलाडीको लगातारका प्रयास असफल हुँदा नेपाली राष्ट्रिय टोलीको लामो समयपछि अन्तर्राष्ट्रिय उपाधि जित्ने सपना चकनाचुर भयो । बराबरीमै निर्धारित र अतिरिक्त समय टुंगिएको खेलमा अफगानिस्तानले पेनाल्टी सुटआउटमा बाजी मार्दै फाइनलको यात्रा तय ग¥यो । नेपाली फुटबल फेरी एक पटक महत्वपूर्ण अवसरमा चुक्यो । करोडौं समर्थक फेरी एक पटक भाग्यलाई दोष थोपर्दै निराश भए।

धनगढीको एउटा रेस्टुरेन्टमा टेलिभिजनबाट नेपालको दुर्भाग्य र रोहित लगातार चुक्दाको दृश्य हेरिरहेका युवाको एउटा समूहको मन त्यतिमै सीमित भएन । दुःख मान्नु, रोहितलाई गाली गर्नु, भाग्यले ठगेकोमा निराश बन्नुले मात्र उनीहरूलाई सन्तोष मिलेन ।

विदेशी क्लबबाट खेलिसकेको, देशकै सबभन्दा स्टार खेलाडीले लगातार दुई पटक पेनाल्टी खेर फालेको दृश्य आफैँ पनि स्थानीय स्तरका पूर्व खेलाडीहरूलाई कुनै पनि मूल्यमा स्वीकार्य बनेन ।त्यसैले रेस्टुरेन्टबाटै उनीहरूको भावुक मनले घोषणा गर्‍यो, ‘पेनाल्टी कसरी हान्ने अब हामीले सिकाउनुपर्छ ।’ उनीहरूको यो घोषणा साँझको बसाईबाट निस्किएको फगत भावनामा मात्र सीमित भएन । पेनाल्टीमात्र हान्ने एउटा प्रतियोगिता गर्ने सोच पलायो।

दसैँ र तिहार नजिकिँदै थियो । दसैँ वा तिहारको अवसरमा प्रतियोगिता गर्न तयारी नपुग्ने भयो । त्यसैले नेपाली नयाँ वर्ष २०७० को अवसर छोप्ने योजना बन्यो । प्रत्येक वर्ष क्यालेन्डर फेरिने दिनलाई बाल्यकालदेखिका साथी मिलेर विशेष ढंगले मनाउने बानी लागिसकेको थियो । रोहितले पेनाल्टी खेर फालेको त्यो साँझले धनगढीका ती युवाको नयाँ वर्ष स्वागत गर्ने तरिका पनि नयाँ हुने भयो।

पेनाल्टी हान्न सिकाउने घोषणा गर्नेहरू थिए, जिल्ला स्तरका पूर्व खेलाडीहरू दिनेश श्रेष्ठ, शंकर श्रेष्ठ, फुटबल प्रशिक्षक ललित चन्द, प्रकाश केप्छाकी र दिनेश थापा । साँझको भावनालाई सार्थक बनाउने सोचमा उनीहरूले नयाँ वर्षको पूर्वसन्ध्यामा पेनाल्टी सुटआउट प्रतियोगिता गर्ने अठोट गरे । दिनेशको नेतृत्वमा तत्काल टिम बन्यो।

आफ्नै नजिकका साथीभाई र व्यावसायी बीचमा प्रचारप्रसार पनि भयो । रमाइलोका लागि गर्न लागिएको प्रतियोगिताको विजेतालाई पहिलो पटक नै नगदसहित खसी पुरस्कार राखियो । चैत मसान्तको राती १२ बजे फाइनल गरेर वैशाख १ लाई स्वागत गर्ने निधो भयो । अघिल्ला वर्षमा नयाँ वर्षको पूर्वसन्ध्या पार्टी, डिजे, तडकभडक, मदिरा सेवन र नाचगान हुने गथ्र्यो।

यसपाली फुटबल प्रतियोगिता र खसीको मासु हुने भयो । सेलेब्रेसनको नयाँ तरिका वा भनौँ पूर्व फुटबलरहरूको लहड ।पहिलो पटक नै प्रतियोगिता भव्य रूपमा सफल भयो । अर्को वर्षदेखि यही प्रतियोगिताको प्रतिक्षामा सुदूरपश्चिमभरीका सबै समूह, समुदाय र खेलप्रेमीका लागि यो एउटा भव्य महोत्सवका रूपमा स्थापित हुन थाल्यो।  

केही वर्षअघिमात्र सुरु भएको क्रिकेटको छोटो स्वरुप ट्वान्टी–ट्वान्टी दिनानुदिन लोकप्रिय हुँदै थियो । फुटबलका पुराना खेलाडीमा क्रिकेटको लोकप्रियताले फुटबललाई समाप्त पार्ने हो कि भन्ने चिन्ता पनि उत्तिकै थियो।

‘ट्वान्टी–ट्वान्टी क्रिकेट लोकप्रिय हुन थालेपछि हामीले फुटबलमा पनि छोटो र रोमाञ्चक स्वरुप हुनुपर्ने सोचिरहन्थ्यौँ । रोहितले लगातार दुई पटक पेनाल्टी खेर फालेपछि हामीले पेनाल्टी सुटआउटको योजना बनायौँ,’ प्रतियोगिताका मुख्य परिकल्पनाकार तथा संयोजक दिनेश सम्झन्छन्, ‘खासमा नयाँ वर्षको माहौल स्वस्थ र रमाइलो होस् भनेर हरेक न्यू इयर इभमा प्रतियोगिता गर्न थालेका थियौँ।

रोहित चन्दजस्तो अनुभवी खेलाडीले पनि किन पेनाल्टीमा गोल गर्न सकेनन् होला भन्ने लागेर यस्तो सोच पलाएको थियो । तर, रमाइलोका लागिमात्र गरेको प्रतियोगिता अहिले यस्तो अवस्थामा आउला भनेर हामीले कल्पना समेत गरेका थिएनौँ । सायद फुटबलप्रेमी पनि क्रिकेटमा जस्तै यो खेलमा पनि छोटो स्वरुपको खोजीमा थिए होलान् । त्यसैले यो प्रतियोगिता यति लोकप्रिय भयो।’

हुनपनि उनीहरूले सानोमा सँगै पढेका र सँगै फुटबल खेलेका साथीको नियमित भेटघाटका लागि लहडमा सुरु गरेको प्रतियोगिता अहिले छैटौँ संस्करण हुँदासम्म परिपक्व बनिसकेको छ । अघिल्लो साता क्यालेन्डर फेरिने रात धनगढी बजारमै प्रतियोगिता हुँदा ३२ टोली सहभागी थिए।

विजेतालाई एक लाख र उपविजेतालाई ५० हजारका साथै उत्कृष्ट गोलकिपर र सर्वाधिक गोल गर्ने तथा सबभन्दा बढि उमेरका खेलाडीलाई जनही १० हजार रुपैयाँ पुरस्कार पनि थियो । साथमा प्रतियोगिताको अर्को रमाइलो पक्ष थियो, सहभागी हुन खेलाडीको उमेर ३२ वर्ष पुगेको हुनु पर्ने।

पेनाल्टी सुटआउटकै लागि सिंगल पोस्टको मैदान बनाइएको थियो। हजारको हाराहारीमा बिन्दास दर्शक झिलिमिली रातमा पेनाल्टीको रोमाञ्चसँगै झुमिरहेका थिए । झन्डै दर्जन हाराहारीका फुड स्टल सबै व्यस्त थिए । डिजे र संगीतको माहौल साच्चै नयाँ वर्षको महोत्सव जस्तै । ‘खेलकुदको फिलिङ दिने यो एउटा गज्जबको फन इभेन्ट रहेछ।

नयाँ वर्षको स्वागत गर्न यो साच्चै राम्रो आइडिया हो,’ त्यही दिन सकिएको धनगढी प्रिमियर लिग (डिपिएल) को रिपोर्टिङ गर्न काठमाडौंबाट धनगढी पुगेका खेल पत्रकार निरञ्जन अधिकारीले अनुभव सुनाए । पेनाल्टी सुटआउट प्रतियोगिताका संस्थापक दिनेशको अनुभव अझै रोचक छ । देशभरबाट प्रतियोगितामा सहभागिताका लागि टिम तथा खेलाडी आउन थालेको उनी सुनाउँछन् । ‘देश भित्रमात्र होइन।

भारतबाट पनि धेरै मानिसले हाम्रो प्रतियोतिगामा चासो राख्न थालेका छन् । यो प्रतियोगिताको विषयमा बुझ्न दिल्लीबाट पनि मानिस आए । कसरी गर्ने, कसरी हुन्छ भन्ने मसँग सोधेर गएका छन्,’ दिनेशले भने, ‘सुरुमा पेनाल्टीमात्र हान्ने पनि प्रतियोगिता हुन्छ र ? भनेर अचम्म माने । मैले यो कुनै फुटबलको आधिकारिक विधा होइन । मनोरञ्जन र फुटबलको मिश्रण हो भनेपछि कुरा बुझे । उनीहरूले पनि गर्ने भनेका छन्।’







यसमा तपाईको मत

अन्य समाचार

घरमा मोर्डन लाइटिंग

घरमा मोर्डन लाइटिंग

सही लाइटिंगको प्रयोगबाट घरलाई मोडर्न र नयाँ रुप दिन सकिन्छ । लाइटिंग मिलेको घर हेर्दामा साह्रै राम्रा हुन्छन । ...

वाशिंग मेसिन खरिद गाइड

वाशिंग मेसिन खरिद गाइड

वाशिंग मेसिन खरिद गर्दा ख्याल गर्नुपर्ने थुप्रै कुराहरु हुन्छन् | यस गाइड मार्फत तपाईले आफ्नो परिवारको लागि कस्तो फ्रिज खरिद...

घरेलु उपकरण सम्बन्धि सुरक्षा टिप्स

घरेलु उपकरण सम्बन्धि सुरक्षा टिप्स

घरेलु उपकरण सुरक्षित शैलीमा प्रयोग नगर्नाले ठूला ठूला दुर्घटना हुन सक्छ। यी सुझावहरु पालाना गर्नाले यस्तो दुर्घटना न्यून हुन्छ ।

फ्रिजको हेरचाह कसरी गर्ने?

फ्रिजको हेरचाह कसरी गर्ने?

फ्रिजको औसत आयु १३ वर्ष मानिन्छ | तर यी कुराहरु ध्यानमा राखेर फ्रिजलाई कथित औसत आयुभन्दा धेरै समयसम्म प्रयोग गर्न...

मिसेस मकवानपुरको ताज मेलिनालाई

मिसेस मकवानपुरको ताज मेलिनालाई

मिसेस मकवानपुर २०१८ का १३ प्रतिष्पर्धीलाई पछी पार्दै मेलिना राना मगरले उपाधि जतेकी छिन्। हेटौंडामा शुक्रबार राती सम्पन्न प्रतियोगिताको फाइनलमा...

प्रियंकाभन्दा ११ वर्ष कान्छा निक, मुम्बईमा इन्गेजमेन्ट

प्रियंकाभन्दा ११ वर्ष कान्छा निक, मुम्बईमा इन्गेजमेन्ट

अन्ततः बलिउड अभिनेती प्रियंका चोपडा र अमेरिकी गायक निक जोनसले आफ्नो प्रेम सम्बन्धलाई औपचारिक रुपमा सार्वजनिक गरेका छन्। मुम्बईस्थित प्रियंकाको...

कमेडी र एक्सनलभस्टोरीको वर्चस्व

कमेडी र एक्सनलभस्टोरीको वर्चस्व

सातामा दुईदेखि तीनवटा फिल्म रिलिजको निरन्तरता चलिरहँदा शुक्रबारबाट चार फिल्म ‘ब्ल्याक’, ‘जय शम्भु’, ‘मिष्टर भर्जिन’ र ‘बाह्रमासे’ एकसाथ प्रदर्शनमा आउँदैछन्।

ट्रेलरमा ‘मेरी मामु’

ट्रेलरमा ‘मेरी मामु’

आमा र बच्चाको सम्बन्ध प्रस्तुत गरिएको फिल्म ‘मेरी मामु’को ट्रेलर सार्वजनिक भएको छ । ललितपुरको जावलाखेलस्थित डिएभी स्कुलमा बिहीबार विद्यार्थीमाझ...