coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अन्य

स्मृतिमा त्यो विद्यालय

वसन्ती शाही
दरवारमार्ग। ‘होटल अन्नपूर्ण’ अगाडि । मैले परैबाट उसलाई बोलाएँ– लोकेन्द्र...!
लोकेन्द्र र मेरो कहिलेकाहीँ फेसबुकमा कुराकानी हुन्थ्यो । नभेटेको त ३० वर्षभन्दा बढी भइसकेको थियो । यति लामो समय नदेख्दा पनि उसलाई चिन्न गाह्रो परेन मलाई । उसले पनि चिन्यो । र, भन्यो– तपाईँले त मलाई बिर्सनु नै भएको रहेनछ।

प्रायः विदेशतिरै बस्ने रहेछ, लोकेन्द्र । पर्यटन व्यवसाय अँगालेको रहेछ । देश–विदेश गरिरहनु पर्ने । अहिले पनि अरेबियन पाहुनाहरूलाई नेपाल घुमाउन ल्याएको रे । पाहुनालाई होटल अन्नपूर्णमा राखेर ऊ बाहिर निस्किएको रहेछ । केहीबेर उभिएरै कुराकानी गर्यौँ । अनि छुट्टियौँ ।ऊ त छुट्टियो । तर, ऊसँगका याद छुट्टिएनन् । ऊ र ऊजस्तै साना नानीहरूसँग बिताएका दिनहरू रिमाइन्ड हुन थाल्यो।

म १२ वर्ष उक्लिँदै थिएँ । कक्षा ७ भर्खर पास गरेको थिएँ । कक्षा ८ मा जुम्लामा पढ्न गएकी थिएँ । मैले जुम्ला पढ्नका लागि छात्रवृत्ति पाएकी थिएँ।छात्रवासको मूल भवनको भुइँ तलामा डाइनिङ हल थियो । त्यससँगै भान्सा कोठा पनि जोडिएको थियो । भान्सा कोठाबाटै भित्र जान मिल्ने स्टोर कोठा थियो । त्यहाँ हाम्रो मेसको लागि चाहिने दाल, चामल र तरकारीहरू स्टोर गरिन्थ्यो।

खाना बनाउने एउटी थापा थरकी ‘आमा’ हुनुहुन्थ्यो । उहाँकी एउटी छोरी पनि थिई, कैंची । ऊ पनि आमासँगै सहयोगीको काम गर्थी । कक्षा ६ देखि ८ सम्मका केटीहरू त्यहाँ बस्थे । अनि शिक्षक तालिम गर्ने केटीहरू पनि।त्यहाँ जुम्ला, हुम्ला, मुगु, कालिकोट र डोल्पा जिल्लाका केटीहरू धेरै थिए । म पढ्ने बेलामा जाजरकोटका दुई र बझाङका हामी तीन जना केटीहरू थियौं । अरु जिल्लाका साथीहरू दसँै बिदामा घर जान्थे । तिनीहरूलाई आउन जान नजिक थियो । हामी भने घर जादैनथ्यौं । किनकी घर टाढा थियो ।

हिउँदको लामो बिदामा भने नेपालगन्ज हुँदै घर जान्थ्यौं हवाईजहाजमा । त्यतिबेला नेपालगन्ज–जुम्लाको हवाई भाडा एक सय ७५ रूपैयाँ थियो। नेपालगन्ज– बझाङको भाडा दुई सय रूपैयाँ थियो । विद्यार्थी सहुलियत कार्डले गर्दा हामी जुम्लाबाट नेपालगन्ज एक सय ३० रूपैयाँमा पुग्थ्यौँ भने नेपालगन्जबाट बझाङ एक सय ५० मा । हामी हवाईजहाजको भाडा छात्रवृत्तिबाट आएको पैसाबाट बचाउँथ्यौं।हामीलाई छात्रावासमा छात्रवृत्तिबाफत प्रतिमहिना तीन सय रूपैयाँ दिइन्थ्यो । प्रतिमहिना मेसमा सालाखाला एक सय ८० देखि दुई सय रूपैयाँ लाग्थ्यो।

हप्तामा एक दिन मासु खान्थ्याै । अरु दिन कहिले आलुको झोल र भात तथा कहिले सिमीको दाल र भात खान्थ्यौं । तरकारी पकाउने चलन थिएन । होस्टेल आउँदा घरबाट ल्याएको घिउ केही दिनसम्म भातसँगै खाइन्थ्यो । घिउ सकिएपछि भात मिठो हुन छोड्थ्यो । दिउँसो खाजा खादैनथ्यौं । निकै भोक लाग्थ्यो । अनि घरको याद आउँथ्यो । घरको मिठो खाना र परिवारको याद आउँथ्यो । म कोठामा ढोका थुनेर कति दिन रोएकी थिएँ । छात्रावासको मूल गेटको अगाडि बोताल दाइको चिया पसल थियो । पैसा हुँदा त्यही चिया र बिस्कुट खाएर भोक मेटाउँथ्यौं।

स्कुल जाँदा सारी लगाउनु पथ्र्याे । कुर्था–सुरुवाल लगाउने चलन त्यति राम्रोसँग चलेको थिएन । मलाई सारी लगाउन आउँदैनथ्यो । पहिले–पहिले त सारी लगाउँदा खुबै लाज लाग्थ्यो । सबैजनाले आफूलाई नै हेरिरहेका छन् कि झैँ लाग्थ्यो । बिस्तारै बानी पर्दै गयो ।
 

त्यहाँ गएको पहिलो वर्ष । प्रथम श्रेणीमा कक्षा ८ पनि उत्तीर्ण गरें । त्यतिबेला कक्षा ८ पास गरेपछि १० महिनाको ‘बि लेभल’को शिक्षक तालिम दिइन्थ्यो । त्यो कोर्स १० महिनाको हुन्थ्यो, दुई सेमेस्टरमा विभाजित गरिएको । प्रत्येकमा पाँच विषय अध्ययन गर्नु पथ्र्याे । सोही मुताबिक मैले पनि कक्षा ९ पढ्ने समयमा त्यही तालिम गरें । त्यो तालिम लिइसकेपछि एसएलसीसरह मान्यता दिइन्थ्यो । तलब पनि त्यही बराबरीको दिइन्थ्यो । १० महिने शिक्षक तालिम सकेर घर फर्कें।

अन्तत्वगत्वा शिक्षणको तालिमपश्चात म शिक्षक नै भए । बुबाले नचाहेको पेशाले नै मलाई तान्यो । त्यतिबेला म १४ वर्षकी थिएँ । नागरिकता थिएन । राज्यको कानुनअनुसार नागरिकता लिन १६ वर्ष पुग्नु पथ्र्याे । तर पनि जिल्ला शिक्षा कार्यालय, बझाङका शिक्षा अधिकारी लोकेन्द्रमान प्रधानले मलाई प्रावि शिक्षकको पहिलो अस्थायी नियुक्ति दिए। त्यसपछि सुनिपीपलचौर प्राथमिक विद्यालय, सुडेबामा अध्यापन गर्न थालें । म सरकारी जागिरे भएँ, ‘मास्टर्नी’का रूपमा।

लोकेन्द्र त्यसबेला कक्षा १ मा पढ्थ्योे । पाँच- छ वर्षको थियो होला । मैले नै उसलाई सिलोटमा सिधा अक्षर कोर्न सिकाएकी थिएँ । ऊ गोरो वर्णको थियो । कमै मात्र केटीहरू पढ्ने त्यो समयमा लोकेन्द्रसँग उसकी बहिनी चन्दरा पनि पढ्न आउँथी । लोकेन्द्र लेख्न बस्दा चन्दरा मेरो कपाल खेलाउँथी । कपाल खेलाउन उसलाई खुब मन पथ्र्याे । मेरो बाटेको कपाल आफ्नो टाउकोबाट तल झार्थी, अनि आफै रमाउँथी । मेरोजस्तै लामो कपाल बनाउने चन्दराको रहर थियो।

विद्यार्थीहरू मसँग निकै झुम्मिन्थे । उनीहरू मेरा लागि साथीजस्तै थिए । टिफिनमा हामीसँगै बसेर गट्टा खेल्थ्यौँ । लुकामारी खेल्थ्यौँ । गीत गाउँथ्यौँ । रुखको फेदमा बसेर खाजा खान्थ्यौँ । खुब रमाइलो हुन्थ्यो।विद्यालयको एकतले भवन थियो । छ वटा कोठा थिए । बीचको कोठा अफिस थियो । अफिसमा दुई–चार वटा पुराना टेबल राखिएको थियो । केही थान कुर्सीहरू थिए । बाँकी कोठाहरूमा पढाइ हुन्थ्यो।

कक्षा कोठाहरू गोबर माटोले पोतिन्थ्यो, हरेक शुक्रबार । शुक्रबार नआउँदै कोठाहरू धुलाम्मे हुन्थे । विद्यार्थीहरु धुलोमै बस्थे । धुलोमै खेल्थे । स्कुल ड्रेस थिएन ।
स्कुलको जग्गा थुप्रै भएकाले विद्यार्थीलाई खेल्नका लागि जति पनि ठाउँ थियो । प्रत्येक शुक्रबार स्कुलको सरसफाइ सकिएपछि अतिरिक्त क्रियाकलापहरू हुन्थे । हाजिरी जवाफ, वादविवाद, हिज्जे, अन्ताक्षरी र खेलकुद गराउँथ्यौं । कहिलेकाहीँ विद्यार्थीलाई वनभोजमा पनि लैजान्थ्यौं।

विद्यार्थीहरूलाई चौरमा राखेर अर्धवार्षिक र वार्षिक परीक्षा लिइन्थ्यो । चौरमै सिट व्यवस्थापन गरिन्थ्यो ।त्यतिबेला स्कुलमा अरु महिला शिक्षकहरू थिएनन् । मलाई पुरुष शिक्षकहरूसँग घुलमिल हुन निकै गाह्रो हुन्थ्यो । उमेर पनि सानै भएकाले होला, ठूला शिक्षकहरूसँग घुलमिल गर्नै मन नलाग्ने । त्यसैले धेरै समय विद्यार्थीहरूसँगै हुन्थेँ म।

स्कुल जाँदा सारी लगाउनु पथ्र्याे । कुर्था–सुरुवाल लगाउने चलन त्यति राम्रोसँग चलेको थिएन । मलाई सारी लगाउन आउँदैनथ्यो । पहिले–पहिले त सारी लगाउँदा खुबै लाज लाग्थ्यो। सबैजनाले आफूलाई नै हेरिरहेका छन् कि झैँ लाग्थ्यो। बिस्तारै बानी पर्दै गयो।मैले यो विद्यालयमा चार वर्ष पढाएँ।

अहिले बुझ्दा र सम्झिँदा लाग्छ– त्यो बेलाको त्यहाँको समाज निकै नै रुढीवादी रहेछ ।
छोरीलाई स्कुल पढाउन साह्रै गाह्रो मान्ने।त्यसमा पनि ठकुरीका छोरीबेटीहरूले अरु गाउामा लाग्ने मेलापर्वमा जान नहुने । केटाहरूसँग खेल्न नहुने, अरुसँग बोल्न नहुने, श्रीमतीहरूले अरु जातको लोग्ने मान्छेहरूको अगाडि मुख देखाउन नहुने । टाउको र कुर्कुच्चा छोपेर हिँड्नु पर्ने । हिँड्दा खुट्टा बजाउन नहुने । अग्रजको अगाडि बोल्दा आँखाको नजर तल गरेर बोल्नु पर्ने । महिलाहरूले घरधन्दाबाहेक अन्य बाहिरी कामकाजहरू गर्न नमिल्ने । यस्ता रुढीवादी परम्पराहरु थिए, समाजमा।

त्यसै वर्ष मेरो महिनावारी सुरु भयो । पहिलो पटक आमाले मलाई ९ दिनसम्म अर्कै घरमा लुकाउनु भएको थियो । महिनावारी भएको बेला मैले पुरुषहरूलाई छुने अनुमति थिएन । स्कुल जाँदा पनि म अफिस कोठामा छिर्दैनथें । पुरुष शिक्षकहरूले पिउने पानी मलाई छुन मिल्दैन भनिएको थियो । स्कुल परिसरमा भएको मन्दिरको नजिक पनि मलाई नजानु भनिएको थियो । गाई र फलका वृक्षहरूलाई पनि नछुन सिकाइएको थियो, मलाई।

त्यतिबेला हाम्रो घरबाट म र मेरी बहिनी दुर्गा मात्र स्कुल जान्थ्यौँ । गाउँभरिबाटै हामी दुई जना मात्र थियौँ, स्कुल जाने चेलीहरू । हाम्रो ख्याल भने राखिन्थ्यो । स्कुलबाट अलिकति मात्रै ढिलो घर आइपुग्यो भने अग्रजको अगाडि स्पष्टीकरण दिनु पथ्र्याे।यस्तो समाजमा पनि मलाई घरदेखि टाढा (जुम्ला) पढ्नको लागि छात्रावासमा पठाउनु भनेको त्यसबेलाको परिवारको लागि निकै ठूलो कुरा थियो । परिवारजनले छोरीका लागि गरिएको निकै ठूलो त्याग थियो।

अध्ययन गर्न पाएकैले त सानै उमेरमा ‘मास्टर्नी’ हुन पनि पाएँ । हुन त सानै उमेरमा ‘मास्टर्नी’ भएपछिका आफ्नै सुख–दुःख छन्, मसँग । गाउँलेहरूका अगाडि नातिनी ‘मास्टर्नी’ भएकोमा मेरा हुजुरबुबाले गर्व गर्नु हुन्थ्यो । मेरो मासिक तलब ९ सय रूपैयाँ थियो । चौमासिक बुझ्दा त छत्तीस सय पो हुन्थ्यो । तलब पाएको दिन सबै पैसा ल्याएर हजुरबुबालाई दिन्थें । उहाँको मन खुसी भयो भने मात्रै त्यसमध्येबाट ५०÷१०० रूपैयाँ मैले पाउँथे । त्यो कुरा उहाँको विचारमा भर पथ्र्याे।

संयोगबस मेरो पढ्ने र पढाउने पहिलो स्कुल त्यही थियो । मेरो बुबा त्यही विद्यालयको ‘हेडमास्टर’ हुनुहुन्थ्यो । पढ्ने र पढाउने दुवै समयमा । म पढ्न जाँदा उहाँको चोर औला समातेर स्कुल पुग्थेँ । आधा घन्टाको दूरीमा थियो विद्यालय । बुबाले बाटोभरि अनेक कथा–कहानीहरू सुनाउनु हुन्थ्यो।

पछि मसँग विवाहका लागि हुम्ला, खर्पेल गाउँको निकै धनी परिवारबाट कुरा आयो । केटो अमेरिकाबाट पाइलट पढेर फर्केको छ भन्थे । घरमा सबै जना यो कुरामा खुसी थिए । सोहीमुताबिक केटा बाहिरबाट फर्कनेबित्तिकै हाम्रो विवाह भयो । अध्यापन गराइरहेको स्कुलमा विवाह हुने कुरा गर्न लाज लागेर जानकारी पनि गराइन् मैले । साथीजस्तै विद्यार्थीहरूलाई पनि भनिन् । र, स्कुलबाट म सुटुक्क बाहिरिएँ।

प्रकाशित: ८ वैशाख २०७५ ०१:४४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App