७ वैशाख २०८१ शुक्रबार
अन्य

‘समृद्धि’को शोक सन्देश

‘समृद्धि’को असामयिक निधनको खबरले सबैलाई अत्यन्तै मर्माहत तुल्याएको छ । अत्यन्तै गह्रौ हृदयले ‘समृद्धि’को मृत्युको शोक सन्देश लेखिरहेका छौँ । यति चाडै उनको रिक्तताबारे सार्वजनिक रूपमा लेख्नुपर्छ भन्ने अन्तस्करणमा कहीँ कतै थिएन।

‘समृद्धि’ले आत्महत्या गरेको जानकारी प्रहरीले दिएको पारिवारिक स्रोत बताउँछ । तर, उनको आत्महत्या टिपोट (सुसाइड नोट) परिवारका सदस्य र प्रहरीको हात नलागेकाले आत्महत्या गरेको भन्ने प्रहरीको जानकारीमाथि गहिरो संशय छ । ‘समृद्धि’ कतै  गहिरो रन्जिसको सिकार त भइनन् भन्ने परिवारको आंशका छ।

त्रिभुवन विश्वविद्यालय, शिक्षण अस्पताल, महाराजगन्जको ‘फोरेन्सिक साइन्स डिर्पाटमेन्ट’मा सम्पन्न ‘अटोप्सी’ अनुसार उनको मृत्युको कारण ‘एन्टिडिप्रेसेन्ट’ ‘ड्युलेजोटिन’को ‘ओभरडोज’ हो । नेपाल परनिर्भर भएजस्तै ‘ड्युलेजोटिन’को चक्की नखाइकन ‘समृद्धि’ निदाउनै नसक्ने औषधी निर्भर ‘डर्गडिपेन्डेन्ट’ बनेकी रहिछन्।‘समृद्धि’ केही समययता डिप्रेसनले पीडित थिइन् । यसको प्रमुख कारण ‘समृद्धि’को विदेशी साथीसंगीसँगको अनमेल तुलना नै थियो ।

उनको चिनियाँ साथी ‘फेइन्गयु’को आय आठ हजार पाँच सय, भारतीय सहेलीको एक हजार ९ सय, बंगालादेशी संगिनीको एक हजार पाँच सय, सिंहाली साथीको तीन हजार ९ सय अमेरिकी डलर छ । तर, सात सय २८ डलर मात्र आय भएकी ‘समृद्धि’लाई उनका विदेशी साथीसंगीसँग तुलना गरिदिएकाले उनी मानसिकरूपमा विगठित बन्दै थिइन् ।पछिल्लो समय उनको डिप्रेसनमा अझै तीव्रता आएको थियो ।

यसको परिणाम शारीरिक, मानसिक र प्राज्ञिक रूपले एकदमै विक्षिप्त बन्नुको खास कारणचाहिँ
काठमाडौंको दरबारमार्गस्थित होटल ड्रिमल्यान्डमा एक किशोरीलाई उनकै पे्रमीले मदिरामा औषधी दिएर बेहोस बनाई ‘गेङ्गवेङ्ग पार्टी’ आयोजना गरेको, तर किशोरीले होसमा आएपछि सामूहिक बलात्कार भएको प्रहरीमा जाहेरी गरेको कुख्यात सामूहिक बलात्कारको घटनाजस्तै उनीमाथि भएको बलात्कारको घटना हो।

यस्तो कहालीलाग्दो र अकल्पनीय ‘ग्याङरेप’को सिकार भएकी ‘समृद्धि’ कुन दौरबाट गु्रजिरहेकी थिइन् भन्ने कल्पना गर्न पनि सकिन्न ।
शब्दमा बयान गर्न नसकिने अमानवीय ‘ग्याङरेप’को घटना सबै राजनीतिक दलले सामूहिकरूपमा प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनको घोषणा–पत्र तयार गर्ने सिलसिलामा ‘अन्जाम’ दिएको भन्ने ‘समृद्धि’को परिवारले प्रहरी कार्यलयमा दिएको जाहेरी दरखास्तमा उल्लेख छ।

‘समृद्धि’ एकदमै चम्किलो व्यक्तित्व भएकी, आफ्नो जीवनका सबै सम्भावनाको उडान आफै भर्ने क्षमता राख्ने,  जीवनमा सबै खुसी अनि सुख प्राप्त गर्ने, आफ्ना सबै वैयक्तिक स्वतन्त्रता, स्वाधिनता र आफ्नो जीवनको सार्वभौमसत्ताको प्रयोग आफै गर्न सक्ने थिइनँ भन्ने उनको परिवारका सदस्यहरूको दाबी छ । यस्ती ‘समृद्धि’ डिप्रेसन हुनु र आत्महत्याजस्तो जघन्य अपराध गर्न पुग्नुको पछाडि निश्चय नै गहिरो पृष्ठभूमि हुनुपर्छ । र, त्यसको अनुसन्धान गर्ने र दोषीलाई न्यायको कठघरामा उभ्याउनै पर्छ भन्ने परिवारको माग छ।

‘संमृद्धि’को उमेर कसैलाई थाहा छैन । अत्यन्तै घुस्याहा र लालफित्ताशाही कर्मचारीतन्त्रको कारण ‘समृद्धि’को पिताजीले पटकपटक कोसिस गर्दा पनि स्थानीय पञ्जिकाधिकारीले घुस मागेको र उनले घुस दिन नसकेको कारण ‘समृद्धि’को जन्मदर्ता छैन।

ठूलाबडा र शक्तिशालीका छोरीले विदेशी नागरिकसँग बिहे गरेर जन्मेका बच्चाको मामली हजुरबाको नाम÷थरमा जन्मदर्ता गर्ने पञ्जिकाधिकारीले ‘समृद्धि’को पिताको आग्रहमा ‘तपाईँकी छोरीको जन्मदर्ता गरेर हामीलाई के फाइदा भन्ने प्रश्न गरेको’ उनका पिता बताउँछन्।

उनका पिताले उनको जन्मदर्ता गर्न स्थानीय पञ्जिकाधिकारीको नाममा परमादेश जारी गरिपाउँ भनेर सर्वोच्च अदालतमा अर्जी पनि दिए । तत्कालीन आन्तरिक राजस्व विभागका महानिर्देशक र आयल निगमका कार्यकारी निर्देशकको जस्तो तदारुकताका साथ उक्त रिटमाथि सुनवाई नै भएन । त्यो उनको रिट सर्वोच्च अदालतमा ‘पेन्डिङ’ भएका करिब २२ हजार केसमध्येको एक बनेर थन्किएको छ।

उनको मुद्दामा तत्कालै सुनवाई गर्दा ‘भाग शान्ति जय नेपाल’ गर्न नपाइने भएकाले हरियाली मुद्दा छाडेर यस्तो बन्जर मुद्दालाई प्रधानन्यायाधीशले पेशी चढाउने आदेश दिने सवालै थिएन ।
जन्मदर्ता नहुँदा नागरिकता नबनेको र नागरिकता नहुँदा पासपोर्ट नबनेकाले मात्र उनी नेपालमा बस्न बाध्य थिइन ।

नेपालको दक्षिण आलीमुनिबाट पर्यटकका रूपमा नेपाल आएर मोटो रकम ‘जय नेपाल’ गराएर नागरिकता र पासपोर्ट घरैमा लिएका थिए, उनका साथीसंगीका बाबु-आमाले।तराईका जिल्लामा आलीमुनिबाट आएर पैसाको बलमा नेपाली नागरिकता र पासपोर्ट बनाउन हजारौ सफल भए । तर, ‘संमृद्धि’को पितासँग ‘राष्ट्र सेवकहरू’लाई ‘जय नेपाल’ गराउने साधनस्रोत थिएन । र, ‘समृद्धि’को पासपोर्ट बनाउन असफल भए।

वास्तवमा ‘समृद्धि’ नेपालमा बस्ने केटी नै होइन, पासपोर्ट नभएर मात्र अड्किएकी थिइन।
‘समृद्धि’को आधुनिक, उदार र खुला विश्व दृष्ट्रिकोण (वेल्टेन साउगं) र त्यसअनुसारको व्यावहारको कारण डेढअक्कली(क्लेभर वाई हाफ)ले उनलाई ‘सोफेस्टिकेटड स्कर्ट’ हो भन्ने आरोप लगाए । केहीले अलिक तल भरेर उनी ‘कल गर्ल’ हो भन्ने लाञ्छना लगाए । केहीले छुद्र शब्दमा राणा, दरबारिया र पञ्चको रखैल भनेर आरोप लगाए ।

त्यसपछिको प्रजातन्त्र, लोकतन्त्र, र संघीय लोकतान्त्रिक गणतन्त्रका राजनीतिक वर्गको बैँस बिसाउनी पनि भने । उनलाई केही छुल्याहाले ‘धेरैको तिर्खा मेट्ने ढुंगेधाराको पानी’ र ‘साझा बसमा जो पनि चढ्छ’ सम्मको अभद्र लान्छना लगाए।खैर, ‘संमृद्धि’ सुकुमारता, लावण्यता र मृदुलताको संगम थिइन । यही नजाकतले गर्दा लेखक उनलाई मल्लिका–ए–हुस्न नै ठान्छ । उनको सुन्दरताको सबैले प्रशंसा गर्छन् । र, धेरै पछिसम्म पनि गरिरहने छन् ।

लेखक पनि ‘समृद्धि’को सौन्दर्यताको बेइम्तियाह प्रशंसक र सराफती प्रेमी हो । त्यसैले उनको रिक्तताले लेखकलाई पनि अत्यन्तै गहिरोसदमा लागेको छ।‘समृद्धि’ गरिव, मध्यमवर्ग, नवधनाढ्यदेखि परम्परागत कुलिन सबैको लागि आशा र विश्वासको एउटै केन्द्र थिइन । गरिबको लागि ‘समृद्धि’ अन्तिम आशा थिइन । उनको आवागमनले एक दिन गरिवको झोपडीमा अरुणोदय हुने र चकाचौध आउने अनन्त आशामा थिए।

उनको सामीप्यताले मध्यम वर्ग पनि अझै वर्ग उत्थान हुने आशामा थिए । नवधनाढ्य र परम्परागत धनीहरू उनको आगमनले चाउचाउ बेचेर फोब्र्स म्यागजिनको विश्वका धनीको सूचीमा सूचीकृत भएका उद्योगी जस्तो बन्ने सपना सँगालेर बसेका थिए।‘समृद्धि’ धेरैकी प्रेमिका थिइन । एक प्रेमीले उनलाई अरु धेरै प्रेमीको बाहुपासमा भएको देख्दादेख्दै, वेबफाई गरेको जान्दा जान्दै र एकांतिक प्रेमनिष्ठा (एक्स्क्लुसिभ फिडेलिटी) अस्वीकृत गरेको पीडाकै बीचमा उनको एकपलको साथ पाउने आशा र विश्वासमा धेरैलाई एकसाथ उनीप्रति लट्टु बनाई राख्ने तिलस्मी सीप र क्षमता थियो।

‘समृद्धि’को पिताको आफ्नै छोरीको लासको काँधीकाठ गर्नु पर्दाको असह्य पीडाको ‘एहसास’ आफ्ना प्रिय पुत्रको वियोग लुकाएर अत्यन्तै सहजताले आफ्नो राजकीय दायित्व निर्वाह गर्ने र पुत्र वियोगकै कारण अमेरिकाको राष्ट्रपति पद लागिको डेमोक्रेटिक पार्टीको मनोनयनको दौडसमेत त्याग्ने उपराष्ट्रपति जोइ वाइडेन (बाराक ओवामाका उपराष्ट्रपति)लाई अथवा केही महिनाअगाडि आफ्नो ३६ वर्षै छोरोको वियोगको केही दिनमै संसदीय निर्वाचन अभियानमा जुटेका माओवादी अध्यक्ष पुष्पकमल दाहाललाई मात्र छ।

‘समृद्धि’को अवसान आस्तिकको भाषामा छैठीको दिन भावीले ललाटमा लेखेको पुगेको हो वा निराकार निरञ्जनको इच्छा हो । अथवा नास्तिकको शब्दमा प्रकृतिको नियम वा समयको नियमित आकस्मिकता हो । जे सुकै लब्जको ‘इस्तेमाल’ गरे पनि ‘समृद्धि’ अब हामीबीच रहिनन् । र, कहिल्यै नपुरिने परानुभूति छोडेर गएकी छन्।

उनको अन्तिम संस्कारमा उनका परिवारका सदस्यहरू, फोटो पत्रकार चन्द्रशेखर कार्की र लेखकबाहेक कोही सहभागी थिएनन् । केहीले आत्महत्याको छानबिन नभइ शव नबुझ्ने होला भन्ठानेर मृत्यु संस्कारबारे अलमलमा  थिए । अर्कोतर्फ उनको परिवार लासमाथि राजनीति गरेर पीडामाथि पीडा थप्ने पक्षमा पनि थिएन।

खासमा ‘समृद्धि’को मृत्युबारे सञ्चारमाध्यमले वास्तविक समाचार नै दिएनन् । उनको मृत्यु भइसक्दा पनि केही सञ्चारमाध्यमले उनको विवाह भएको पो अफवाह छापे । एउटा समाचार पत्रले ‘समृद्धि’ले ७० वर्षको बूढो ‘सुगर ड्याडी’ फसाएर त्यसैसँग बिहे गरेको समाचार दियो । त्यस्तै, एक टेलिभिजनलेचाहिँ आफूभन्दा धेरै कान्छो धनाढ्य ‘वोइ टोय’ फसाउन सफल ‘समृद्धि’ले त्यसैसँग बिहे गरी भनेर गलतफेहमी पैदा गर्ने समाचार दियो ।

उनको मृत्युको ‘मातम’ छाएको उनको घरमा विवाहको सहनाई बजेको समाचार दिए । उनी बाँसको डोलामा कात्रोमा बेरिएर आर्यघाटको ब्रह्मनालमा सुतेको बेला दुलही बनेर डोलीमा अन्मिएको ‘फेक न्युज’ टेलिभिजन, पत्रपत्रिका र रेडियोले दिए । त्यसैले उनलाई चाहाने धेरै उनको दाहसंस्कारमा सहभागी बन्न पाएनन्।आत्महत्याजस्तो अपराधलाई सही भनेर ‘र्‍यासन लाइज’ गर्न किमार्थ सकिँदैन । तर, ‘समृद्धि’लाई आत्महत्या गर्न उक्साउने-बाध्य पार्नेविरुद्ध किटानी जाहेरी गर्दा पनि प्रहरीले कसैलाई गिरफतार गरेकोे छैन।

सर्वोच्च अदालतले अदालतको मानहानी गरेको भनेर आदेश दिएको एक घन्टामा ज्यानमारा र बलात्कारीलाई जस्तो देशको चिकित्सा शिक्षा सुधारको अभियन्ता डाक्टरलाई गिरफ्तार गर्ने तर प्रहरीको भगौडाको लिस्टमा नाम भएको व्यक्ति प्रधानमन्त्रीको सरकारी निवासमै देखिँदा पनि प्रहरीले गिरफ्तार नगर्दा ‘समृद्धि’को आत्महत्याका लागि बाध्य पार्नेलाई गिरफतार गर्ने र न्यायको कठघरामा उभ्याउने भनेर परिवारले आशा मारिसकेका छन्।

‘समृद्धि’को पिता उद्धविकास, आमा ऐश्वर्य (पाठकलाई भ्रम नपरोस उनी राजा वीरेन्द्रकी रानी ऐश्वर्य होइनन्) भाइहरू वृद्धि र विकास तथा बहिनीहरू पुगिसरी, उन्नति, समुन्नति र प्रगति छन् ।‘समृद्धि’को मृत आत्माको चिर शान्तिको कामना गर्दै उनीप्रति हार्दिक श्रदान्जली ! शोक संतप्त परिवारप्रति  गहिरो सहानुभूति !

प्रकाशित: ८ वैशाख २०७५ ०१:२५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App