६ वैशाख २०८१ बिहीबार
कला

मिथिलामा आधुनिक मिश्रण

काठमाडौं–सर्लाहीका चित्रकार उमेश शाहले मिथिला कलासँग र आधुनिक कलालाई अन्तत्र्रिmया गराई सिर्जेका लोकआधुनिक चित्रहरुको एकल प्रदर्शनी ‘इन्भेन्सन इन ट्रेडिसन–३’ सिद्धार्थ आर्ट ग्यालरीमा चलिरहेको छ ।
झट्ट हेर्दा सबैलाई मिथिला आर्ट लाग्नसक्छ । तर, उमेशका कलाहरु कन्टेम्पोरेरी आर्टका स्तरीय नमुना हुन् । ‘अरुले पश्चिमा आइडिया कन्टेम्पोरेरी आर्टमा प्रयोग गर्छन्, मैले भने आफ्नै देशको मिथिला कलासँग जोडेँ,’ उमेशले भने ।

उनका कलामा अर्को थप आकर्षण छन् । त्यो हो नारी सौन्दर्य र नारी संवेदना । मिथिला क्षेत्रका नारीहरुको दैनिकीमा देखिने र उनीहरुले गरिरहने क्रियाकलापलाई उनले टपक्क टिपेर चित्रबाट प्रस्फुरित गरेका छन् । नारीको रुप, रंग र उसका हाउभाउमा झल्कने सौन्दर्यलाई नै कलाकार शाहले निकै मिहिन रंगसंयोजन गरेका छन् ।
उनले बनाएका ऐनासँग नारीका प्रेममयी चित्र निकै लोभलाग्दा छन् । नारी आफ्नो सौन्दर्यमा त्यसै पनि सजग हुन्छन् । त्यसमा अझ ऐनाको साथ भयो भने उसको सौन्दर्यमा थप रंग उत्पन्न हुन्छन् ।

यही अभिव्यक्ति बोल्छन् शाहका प्रदर्शनीमा राखिएका चित्रले । ‘जहाँसुकै नारीलाई सौन्दर्यको प्रतीकका रुपमा लिइन्छ, मैले मिथिला महिलाको श्यामल शरीरको सौन्दर्य सम्मोहनलाई ऐनासँग तुलना गरेको छु,’ उनले भने, ‘पुराना ऐतिहासिक चित्रमा पाइने आफ्नोपनलाई मैले थोरै आधुनिकीकरण गर्न खोजेको छु ।’

नवयौवना नारी आफ्नै कामसँग कसरी रमाउने प्रयास गर्छन् र उनीहरूमा ती भाव कसरी जागृत हुन्छन् पनि चित्रमा हेर्न पाइन्छ । चित्रकार आफंै पनि तराईवासी हुन् । त्यसैेले पनि त्यहाँको रहनसहन र परिवेश चित्रमा समेट्न कन्जुस्याइँ गरेका छैनन् उनले ।
मिथिला क्षेत्रका महिलाको सौन्दर्य र उनीहरुको दैनिकीसँगै उनीहरुको व्यस्तताका बीच उत्पन्न हुने प्रेमबारे पनि चित्रले बोल्छ । टाँगामा गन्तव्यतिर लाग्दै गरेको जोडीको प्रेमालापको चित्रमा त्यही आधुनिक प्रेम झल्किन्छ ।

केही चित्रमा चारकोल प्रयोग भए पनि अधिकांश चित्रमा तेलरङको भरपुर प्रयोग उनले गरेका छन् । ‘तराईका रंग गाढा हुन्छन्,’ उमेशले चित्र कोर्दाका अनुभव नागरिकसँग बताए, ‘त्यही देखाउन मलाई पटकपटक रंगमाथि रंग पोत्नुपरेको थियो ।’

सर्लाहीका शाहले भारतको इन्द्रकला संगीत विश्वविद्यालयबाट कला विषयमा स्नातकोत्तर गरेका छन् । विगत १३ वर्षदेखि चित्रकलामा सक्रिय उनले आधुनिक कलालाई आफ्नो क्षेत्र बनाएका छन् । नेपालमा विभिन्न सामूहिक प्रदर्शनीमा सहभागी उनले भारतमा समेत एकल चित्रकला प्रदर्शनी गरिसकेका छन् । आफ्नो शैलीमा मानवीय विषय उठान गर्नसक्नु नै शाहको खुबी भएको कलासमीक्षक मदन चित्रकारले बताए ।
सिद्धार्थ आर्ट ग्यालरीमा गत बिहीबार काठमाडौं युनिभर्सिटीका पूर्व रजिस्ट्रार भद्रमान तुलाधरले उदघाटन गरेको शाहको प्रदर्शनी आउँदो असार १५ सम्म चल्नेछ । प्रदर्शनीमा उनका ३५ वटा चित्र सामेल छन् । चित्रको मूल्य ३५ हजारदेखि १ लाख २५ हजार रुपैयाँ राखिएको छ ।

 

प्रकाशित: ८ असार २०७३ ०२:३६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App