coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

प्रस्तावित विधान हुबहु पारित

काठमाडौं – नेपाल क्रिकेट संघ (क्यान)को विशेष साधारणले बिहीबार अन्तर्राष्ट्रिय क्रिकेट संघ (आइसिसी)ले दिएको विधान हुबहु पारित गरेको छ।

सल्लाहकार समूहले बनाएर आइसिसीबाट स्वीकृति पाएको क्यानको विधान बिहीबार साधारणसभाले अक्षरस पास गरेको क्यानका महासचिव आसोकनाथ प्याकुरेलले बताए।

‘गत माघमा आइसिसीका इमरान ख्वाजासहितको टालीसँग काठमाडौंमा भएको छलफलपछि बनेको विधानलाई हामीले हुबहु पारित गरेका छौं,’ महासचिव अशोकनाथ प्याकुरेलले भने, ‘उक्त विधानमा कतिपय प्राविधिक त्रुटीहरु पनि थिए, तर हामीले कुनै परिवर्तन नगरी त्यसलाई अक्षरस परित गरेका छौं।’

आइसिसी प्रतिनिधि अमर शेखको उपस्थतीमा बिहीबारबाट क्यानको विषेश साधरणसभा शुरु भएको थियो । दुई दिनका लागि तय गरिए पनि आइसिसीले दिएको विधान परित गर्दै क्यानको विशेष साधारणसभा बिहीबार सकिएको छ।

क्यानले विशेष साधारणसभाबाट पारित विधान अब राष्ट्रिय खेलकुद परिषद्(राखेप)मा स्विकृतीका लागि बुझाउनेछ। राखेपको स्विकृतीसँगै नयाँ विधान कार्यन्वयनमा जानेछ । यससँगै आइसिसीले क्यानलाई गरेको निलम्बन फुकुवा हुने सम्भावना बढेको छ । आइसिसीले यसअघि नै विधान परित गर्नका लागि विशेष साधारणसभा बलाउने क्यानको निर्णयलाई स्वागत गरिसकेको छ।

‘विधान संशोधनका लागि क्यानको विशेष साधारणसभाको मिति तय भएको विषयलाई आइसिसी स्वागत गर्छ । आइसिसीको पहलमा सबै सरोकारवाला समेटेर बनेको नेपाल सल्लाहकार समूहले प्रस्ताव गरेअनुसारको विधान विशेष साधारणसभाले अक्षरस पालना गर्नेमा आइसिसी आशावादी छ,’ आइसिसीले मंगलबार जारी गरेको विज्ञप्तीमा भनेको थियो, ‘इतिहासमै पहिलो पटक नेपालले हालै एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता हासिल गरेको अवस्थामा विशेष साधारणसभाले विधान अक्षरस पास गरे जुलाईमा हुने आइसिसीको वार्षिक साधारणसभाले नेपालको सदस्यता पुनस्र्थापित गर्ने विषयमा सकारात्मक थालनी गर्नेछ।’

आइसिसीका उपाध्यक्ष इमरान ख्वाजाले क्यानको विशेष साधारणसभा सकिएलगत्तै आइसिसीको बोर्ड बैठक बस्ने र निलम्बनबारे विशेष छलफल हुने बताएका थिए।

लगातारको विवाद, अपारदर्शिता, सुशासनको अभावका कारण क्यान प्रशासनप्रति आजित आइसिसीले दुई वर्षअघि सरकारी हस्तक्षेपको आरोपमा नेपालको सदस्यता निलम्बन गरेको थियो । तथापी आइसिसीले आफ्नै रोहबरमा नेपाली क्रिकेट टोलीलाई अन्तराष्ट्रिय प्रतियोगितामा भाग लिन दिएको थियो । नामिवियामा सम्पन्न विश्वकप छनोट प्रतियोगिताको सुपर सिक्समा पुग्न नसके पनि नेपाली क्रिकेट टोलीले पहिलो पटक एक दिवसीय अन्तराष्ट्रिय मान्यता पाउन सफल भएको थियो।

विशेष साधारणसभाले विधान पारित गरेपछि आइसिसीका ३, राखेपका १ र निर्वाचित क्यानका १ गरी कुल पाँच पदाधिकारीको सुपरिवेक्षण कमिटी गठन हुनेछ । उक्त कमिटीले क्यानको निर्वाचन गराउँदै नयाँ नेतृत्व  प्रदान गर्नेछ । यद्दपी, सुपरिवेक्षण कमिटीमा हुने सदस्यले क्यानको चुनावमा उम्मेद्वारी दिन पाउने छैन।

नेपालको समस्या समाधानका लागि आइसिसीले नेपाली क्रिकेटका सबै सरोकारवाला समेटेर क्यानका पूर्वअध्यक्ष विनयराज पाण्डेको अध्यक्षतामा सात सदस्यीय सल्लाहकार समूह बनाएको थियो । सल्लाहकार समितिले प्रस्ताव गरेको विधानलाई भदौमा बसेको निर्वाचित क्यानको साधारणसभाले संशोधनसहित पास गरेपछि निलम्बन फुकुवाको प्रतीक्षा लम्बिएको थियो।

तर माघमा अन्तिम मौकास्वरूप भन्दै ख्वाजा नेतृत्वमा आएको आइसिसी प्रतिनिधि मण्डलले दिएको रोडम्यापअनुसार निर्वाचित क्यान, सल्लाहकार समूह र राखेपले इमानदारीपूर्वक आइसिसी प्रतिनिधिमण्डलसँग भएको सहमति कार्यान्वयन गर्ने प्रतिबद्धता जनाएका थिए।

चरणबद्ध रूपमा भएका छलफलमा यसअघि समूहले बनाएको विधानमा उल्लेख गरिएको क्यान केन्द्रीय समितिका पदाधिकारीहरूको योग्यताको महल हटाउने निर्वाचित समितिको मागमा सहमति भएको थियो । यसै गरी निर्वाचित कमिटीले मताधिकार नहुने तर उम्मेदवार हुन पाउने गरी कार्यसमितिका १७ जना तथा राखेपका ७ प्रतिनिधिले साधारणसभामा भाग लिन पाउनुपर्ने प्रस्ताव पनि सहमतिमा अस्वीकृत भएको थियो।

सुपरिवेक्षण कमिटीले जिल्ला निर्वाचनको अध्ययन गरी प्रक्रिया नपुगेका वा विवाद भएका जिल्लामा पुनः निर्वाचन गराउने र विवादरहित तथा प्रक्रिया पुगेकाको हकमा मान्यता दिने सहमति भएको थियो।

प्रकाशित: ७ वैशाख २०७५ ०४:५० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App