६ वैशाख २०८१ बिहीबार
अन्य

‘काठमाडौं समस्याले गाँजिएको सहर हो’

सुरवीर पण्डित, हास्य कलाकार

तपाईंलाई मन पर्ने सहर कुन हो ?
मलाई आफू जन्मेको ठाउँ बुढानिलकण्ठ नै प्यारो लाग्छ । बुढानिलकण्ठदेखि अलि माथिकोे गाउँमा मेरो जन्म भएको हो। अहिले पनि यहीँ गाउँमै बस्छु।

यो गाउँको नाम धेरै राखिएको छ । तर, शिवपुरी नामले परिचित छ । यहाँको भेषभूषा र जीवनशैली मलाई राम्रो लाग्छ । पछिल्लो समय काठमाडौंका गाउँहरू पनि मानिसको चापले भरिएका छन् । खुला ठाउँ मासिँदै गएका छन् ।
नेपाल बाहिर कुन–कुन देश पुग्नु भएको छ ?
त्यति धेरै सहर पुगेको छैन । तीन–चार वटा देश मात्रै पुगेको छु । भारत, चीन, मलेसियालगायत देशका केही सहर घुमेको छु । यहाँ घुम्दा हाम्रो देशमा त सहर नै होइनन् जस्तो लाग्यो।

किनभने हाम्रो देशका सहरमा जनताले निकै सास्ती खेप्नुपरेको छ । सहरका हरेक चोकहरू अस्तव्यस्त छन् । सहरका गल्ली मोटरसाइकल पनि छिर्न नसक्ने खालका छन्  । यहाँ विपद्को बेला उत्तिकै जोखिम छ ।
तपार्इं घुमेका सहर कस्ता छन् ?
विदेशका सहरको बनावट शैली हाम्रोभन्दा भिन्न छ । उनीहरूले एकै किसिमको घर बनाएका छन् । मौलिकता जोगाएका छन् । सहर आधुनिक र स्मार्ट सिटीको अवधारणाअनुरूप विकास गरिएका छन् । त्यहाँ पनि असन र बानेश्वरजस्तै बाटो क्रस गर्ने मानिसको भीड हुन्छ । तर, त्यहाँका सडकमा ट्राफिक लाइट राखिएको छ । धुवाँधुलो कतै देखिन्न । सहरवासी पनि जथाभावी नियम मिच्दैनन् ।  
उपत्यका बाहिर राम्रो लाग्ने सहर ?
म पोखरा, धरान, विराटनगर, लुम्बिनीलगायत धेरै सहर पुगेँ । तीमध्ये पोखरा राम्रो लाग्यो । लुम्बिनी निकै सुन्दर छ । यो यसै पनि पवित्र स्थान मानिन्छ । पोखरामा घुुम्ने क्षेत्रहरू धेरै छन् ।
हाम्रा सहर किन अव्यवस्थित भएका होलान् ?
सिधा भन्नुपर्दा हाम्रा नेताहरूले काम गरेनन् । सहरको विकास गर्ने अभिभारा बोकेका नेताहरू दुई नम्बरी काममा पल्किए । नेता र सरकारी निकायका उच्च कर्मचारीले आफूलाई फाइदा हुने खालका काममा मात्रै हात हाले। 

विकासका काममा आपसी समन्वय भएन । यहीँ कारणले सहरको विकास हुन सकेन । अर्को कुरा, भौगोलिक र प्राकृतिक रूपमा हाम्रा सहर अरु देशकाभन्दा धेरै राम्रा छन् । तर, विकासको हिसाबले हामी पछि छौं।
काठमाडौंको पछिल्लो समस्या के देख्नुभएको छ ?
यहाँका समस्या धेरै छन् । काठमाडौंको जति दुःख अन्तका सहरमा छैन । सरकारले सहरको विकासतर्फ ध्यान नदिँदा यहाँका धेरै सम्भावना उजागर हुन सकेका छैनन् ।
सडक विस्तारले काठमाडौं एकदमै प्रदूषित छ । जताततै खाल्डाखुल्डी मात्र छन् । मानिसको भीडभाड पनि उत्तिकै बढेको छ ।
काठमाडौंको राम्रो लाग्ने पक्ष ?
यहाँको मौसम सदावहार लाग्छ । विदेशीहरू पनि नेपालको हावापानी र वातावरण एकदमै सुन्दर छ, भन्छन् । हामीले सहरको निम्ति केही गर्न सकेका छैनौं । अरु देशको कुरा गर्ने हो भने उनीहरूले मरुभूमिमा फूल फुलाएका छन् ।

हाम्रो देशमा सहरको विकासको लागि नेतृत्वमा हुनेले केही गर्न सकेनन् । बालुवाका देशहरू आज हरिया भएका छन् । विदेशी मुलुकहरू दूरदर्शी सपना बोकेर विकासका काम थाल्छन् । काठमाडौंको पुराना मठमन्दिर, धार्मिक क्षेत्रहरू पनि राम्रो लाग्छ ।
यहाँको नराम्रो पक्ष ?
काठमाडौं समस्या नै समस्याले गाँजिएको सहर हो । यहाँ हरेक निकायमा जाँदा आम नागरिकले समस्या खेप्नु परेको छ । साच्चै भन्ने हो भने काठमाडौं उदेकलाग्दो छ । यहाँको प्रदूषण र सडकको अवस्था सम्झँदा काठमाडौं छाडेर अन्तै जाऊँ भन्ने लाग्छ । उपत्यका मात्रै होइन, नेपालका सबै सहर प्रदूषित हुँदै गएका छन् । प्रदूषण, ट्राफिक जाम, अव्यवस्थित सडकका कारण यहाँ बस्ने धेरैजसो मानिस आजित छन् । सरकारले योजनाबद्ध रूपमा काम नगरेकै कारण राजधानी भद्रगोल बनेको हो।
सहरवासीको बानी कस्तो लाग्छ ?
सहरवासीकोे आचरण ठिक लाग्दैन । यहाँका मानिसहरू  भोजभतेरले बिग्रिएका छन् । अनावश्यक भोजले विकासका काम गर्ने मानिसहरूलाई भुलाएको छ । अरु देश कहाँ पुगिसके, हामी भने जात्रा र भोेजमै हरायौं । सहरवासीमा विकासका काम गरेर फड्को मार्नु पर्छ भन्ने सोच छैन । यद्यपि अरु देशकाभन्दा हाम्रा सहरमा बस्नेहरू धेरै मिलनसार छन् । एकले अर्कोलाई सहयोग गर्छन्।
तपार्इंको सपनाको सहर कस्तो होस् भन्ने चाहानु हुन्छ ?
सहर भन्नेबित्तिकै सुविधासम्पन्न हुनु पर्छ । र, म बस्ने सहर वा गाउँ पनि यस्तै होस् भन्ने चाहान्छु । बिरामी हुँदा सहजै उपचार पाइयोस् । सहर सफा, सुन्दर र व्यवस्थित होस् । फराकिला सडक, एकैनासे घर, सबैतिर हरियाली भयो भने सहर राम्रो बन्छ ।
नेपालका सहर अरु देशकाजस्तै किन बन्न सकेनन् होला ?
भएका नीति नियमलाई पनि माथिल्लो ओहदामा बस्नेहरूले कार्यान्वयन गरेनन् । उनीहरूले नीति नियम कुल्चेर काम गरे । यसले सहर मात्रै होइन, हरेक क्षेत्रको विकास हुन नसकेको हो । यदि भएका नीति नियम पालना गर्ने र विकासका कामलाई चुस्तता दिने हो भने हाम्रा सहर धेरै व्यवस्थित बन्न सक्छन् । नेपाल यस्तो देश हो, जहाँ हरेक थोक पाइन्छ । मात्र राज्यले यहाँका अवसर र सम्भावनालाई बुझ्न नसकेको हो ।
विदेशका सहरको मौलिक र ऐतिहासिक पक्ष कस्तो लाग्यो ?
हाम्रो सहरमाजस्तो मौलिकता र इतिहास अरु देशका सहरमा पाइन्न । मौलिकता र ऐतिहासिक पाटोलाई हेर्दा अरु सहरभन्दा नेपाल धेरै अघि छ।

सहरको विकास गर्दा मौलिकता र आधुनिकतालाई ध्यानमा राखेका कारण विदेशका सहर राम्रा बनेका हुन् । धुवाँधुलो र फोहोरले यहाँका सहर थोरै अव्यवस्थित होलान् । तर, यहाँका सहरको विशेषता र मौलिकता अरु देशकाभन्दा फरक छन् ।
सरकारले कसरी काम गर्दा विदेशसँग हाम्रा सहर तुलना गर्न योग्य होलान् ?
त्यसरी तुलना गर्न मिल्दैन । किनभने हरेक देशका सहरका आ–आफ्नै किसिमका मौलिकता र रहनसहन छ । सहरको इतिहास, चाडपर्व, मौलिकताको हिसाबले नेपालका सहर धेरै अगाडि नै पर्छन् ।

आधुनिकता र विकासको हिसाबले अन्य देशका सहर धेरै माथि छन् । विश्वमा धेरै ठाउँका सहरहरू स्मार्ट सिटीको अवधारणाले विकास भएका हुन् । चाहने हो भने काठमाडौं पनि विश्वको उत्कृष्ट सिटी बन्न सक्छ ।
सहरको विकासको लागि सरकारले कसरी काम गर्नुपर्ला ?
सहरको विकासको निम्ति सबै सरकारी निकायहरूबीच उचित समन्वय हुनु पर्छ । हाम्रा सहरका नबन्नुको मुख्य कारण पनि समन्वयकै अभावले हो । एक पक्षले बनाउँदै जाने, अर्कोले फेरि भत्काउनेजस्ता प्रवृत्तिले सहर बिग्रिएको हो । यस्ता प्रवृत्ति हटाइनु पर्छ ।
उपत्यकाभित्र कतै घुम्न निस्कनु पर्‍यो भने कुन ठाउँ रोज्नु हुन्छ ?
म आफ्नै गाउँतिर घुम्छु । बाहिरतिर त्यति हिँड्दिनँ । काम पर्‍यो भने मात्रै जान्छु । साँच्चै भन्नु पर्दा हाम्रा सहरमा घुम्ने र रमाइलो गर्ने ठाउँ अभाव छ । सहर नजिक शीतल प्रदान गर्ने ठाउँ छैनन् । अहिले त मानिसको चापले गर्दा यहाँका पार्क र घुम्ने स्थलहरू पनि भीडभाड देखिन्छ ।
प्रस्तुति :  शिवहरि घिमिरे

प्रकाशित: ७ वैशाख २०७५ ०१:४० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App