coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

न्यायको खोजीमा धनमाया

काँकडभिट्टा – वैदेशिक रोजगारबाट घर फर्किएकी बिर्तामोड–२ की ३० वर्षीया धनमाया बस्नेतलाई परिवारले घरबाट निकालिदिएको छ। 

पन्ध्र महिनाअघि वैदेशिक रोजगारका क्रममा खाडी मुलुक जोर्डन गएकी बस्नेत गर्भवती भएर घर फर्किएपछि उनको परिवारले घरबाट निकालेको हो। उनलाई श्रीमान किरण बस्नेतसहित परिवारका सदस्यले नै वैदेशिक रोजगारका लागि जोर्डन पठाएका थिए। जोर्डन जानका लागि बस्नेतलाई साउदी अरबमा रहेका श्रीमानले नै सहयोग गरेका थिए। 

दुई वर्षकी छोरी छाडेर रोजगारीको सिलसिलामा जोर्डन पुगेकी बस्नेतलाई सँगै काम गर्ने भारतीय नागरिकले बलात्कार गरेका थिए । उनी काठमाडौँको एसिसी मेनपावर कम्पनीमार्फत जोर्डन गएकी हुन्। जोर्डनको एउटा गलैँचा उद्योगमा काम गर्नेक्रममा आठ महिना अघि यस्तो घटना घटेको हो। 

उनी भन्छन्, “साथीसँग समूहमा थिएँ। हाम्रो पछिपछि आउँदै रहेछ, थाहा भएन। म सबैभन्दा पछाडि थिएँ। उसले मेरो अनुहारमा रुमालले छोपेको याद छ। अरु मलाई केही थाहा छैन। होसमा आउँदा सडकमा थिएँ।” 

श्रीमान् र परिवारका सदस्यलाई घटनाबारे जानकारी नगराएको बताए। “परिवारलाई यस्तो घटना सुनाउँदा पीडा हुन्छ भनेर कुरा लुकाए,” उनले पीडा सुनाइन्। बलात्कारपछि उनी गर्भवती बनेपछि जोर्डनस्थित उद्योगले बस्नेतलाई घर फर्काइदियो। हाल उनी आठ महिनाकी गर्भवती छिन्। सात दिनअघि मात्र घर फर्किएकी बस्नेतलाई उनका श्रीमान् किरण बस्नेतले गर्भवती भएको थाहा पाएपछि कचनकवल–२ स्थित माइतीको जिम्मा लगाएका छन्। 

बस्नेतका दुई छोरी र एक छोरा छन् । पन्ध्र वर्षकै उमेरमा बिर्तामोड नगरपालिका–२ किरण बस्नेतसँग उनको मागी विवाह भएको हो। बुधबार बुबा र स्थानीय महिलासहित आफ्नो जीविकोपार्जनको व्यवस्था मिलाइदिनका लागि श्रीमान भेटन आएकी धनमायालाई उनको परिवारले स्वीकार्न तयार भएन। श्रीमानले धनमायासँगको आफ्नो सम्बन्ध सकिएको बताउँदै उनलाई कुनै सहयोग गर्न नसक्ने बताएका छन्। 

श्रीमतीले आफूलाई समयमै साँचो कुरा नबताएका कारण यस्तो अवस्था आएको किरणको भनाइ छ। धनमायाका बुबा उदयबहादुर कार्की छोरीलाई ज्वाइँको परिवारले नै विदेश पठाएकाले यस्तो अवस्था सिर्जना भएको हुँदा जीविकोपार्जनका लागि व्यवस्था गर्नुपर्ने बताए। “छोरीको बसोबासको व्यवस्था ज्वाइँले नै गर्नुपर्छ,” कार्कीले भने। 

प्रकाशित: ६ वैशाख २०७५ ०७:३४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App