८ वैशाख २०८१ शनिबार
राजनीति

विशिष्टलाई स्वदेशी उपचार चल्दैन

काठमाडौं- विशिष्ट व्यक्ति साधारण र सामान्य स्वास्थ्य परीक्षणका लागि समेत लाखौं खर्चेर विदेश जान थाले भनेर वीर अस्पतालले करिब दुई वर्षअघि ३० लाख रुपैयाँ खर्च गरी अस्पतालको विशिष्ट क्याबिन मर्मतसम्भार गर्‍यो।

विशिष्ट व्यक्ति पद र सरकारी कोषको दुरुपयोग गरेर साधारण र सामान्य उपचारका लागि पनि विदेश गएको भन्दै सर्वसाधारण र सञ्चार माध्यमले आलोचना गरेपछि अस्पतालका विशिष्ट कक्ष मर्मतसम्भार गरिएको थियो।

अस्पतालले आफ्ना अति विशिष्ट क्याबिन मर्मतसम्भार त गर्‍यो। तर मर्मतसम्भार गरेपछि एक जना पनि विशिष्ट व्यक्ति उपचारका लागि दुई वर्षयता वीर अस्पताल पुगेका छैनन्।

विगतमा राजपरिवारका सदस्यहरुले समेत प्रयोग गरिएका आधुनिक र उच्च प्रविधि युक्त बिलासी क्याबिनहरु दुई बर्षदेखि बन्द छन्। दुई वर्षदेखि प्रयोगविहीन छन्, तिनमा माकुराको जालो र धुलो थुप्रिएको छ। यसैगरी शिक्षण अस्पतालले सरकारको अनुरोधमा विशिष्ट व्यक्तिहरुकै उपचारका लागि भनेर डिलक्स क्याबिन बनायो। तर कुनै पनि विशिष्ट व्यक्ति त्यहा“ उपचार गराउन गएनन्।

लाखौं खर्च गरेर डिलक्स क्याबिन बनाइएपछि विशिष्ट व्यक्ति स्वदेश स्वास्थ्य परीक्षण र उपचार गराउँदैन। यही क्रमलाई निरन्तरता दिदै बिहीबार पूर्व प्रधानमन्त्री केपी शर्मा ओली नियमित स्वास्थ्य परिक्षणका नाममा थाइल्याण्ड गए। उनलाई पछ्याउ“दै अर्का विशिष्ट व्यक्ति नेपाली कांग्रेसमा सभापति शेरबहादुर देउवा शुक्रबार त्यही निहँुमा सिंगापुर गए।

हालसालै स्वास्थ्य परीक्षणका लागि भारत गएर आएका पूर्व राष्ट्रपति डा. रामवरण यादव अमेरिका जाने तयारीमा छन्। उनले सरकारसँग त्यसका लागि खर्च पनि मागेका छन्।

केपी शर्मा ओली, शेरबहादुर देउवालगायत कसैले पनि मेडिकल बोर्डको सिफारिस लिएका छैनन। न्याम्सअन्तर्गतको बोर्ड सदस्य चिकित्सकले बिरामीको स्वास्थ्य परीक्षण गरेर आएको रिपोर्टले स्वेदशमा उपचार असम्भव भएपछि मात्र विदेशमा जान सिफारिस गर्ने प्रावधान छ। तर कसैले पनि बोर्डको सिफारिस लिँदैनन।

'तर विगत हेर्दा नेता उपचार गराउन विदेशी अस्पतालमा जान्छन् र आएर खर्चको बिल पेश गरेर पैसा लिन्छन्। सामान्यतया मन्त्रिपरिषदबाट निर्णय गराएर पैसा लिने चलन छ। 

'हामीस“ग ओली र देउवा कसैले पनि सिफारिसपत्र लिनुभएको छैन', मेडिकल बोर्डका सदस्य तथा वीर अस्पतालका निर्देशक डा. भूपेन्द्र बस्नेतले भने।

उनले पूर्व राष्ट्रपति डा. यादवले भने भारतमा उपचार गराउन जाँदा बोर्डको सिफारिस पत्र लिएको जानकारी दिए। 'ओली र देउवाजीको उपचार हुन सक्थ्यो कि सक्दैनथ्यो भनेर म केही भन्न सक्दिनँ तर उहा“हरु यहा“ आएको भए म त्यो भन्न सक्थेँ', डा. बस्नेतले भने।

शिक्षण अस्पतालका निर्देशक डा. दीपक महराले साधारण र सामान्य स्वास्थ्य उपचारका लागि विदेश जाने नेताहरुका बारेमा कुनै प्रतिक्रिया दिन चाहेनन्। तर पनि उनले यो प्रश्न संवेदनशील भएको उल्लेख गरे। 'नेताहरुले स्वदेशमै उपचार गराउने हो भने नेपाली चिकित्सकप्रतिको आम विश्वास र स्वास्थ्य सुविधाहरु अझै विश्वसनीय हुने थियो', उनले भने।

'उपचार स्वेदशमा सम्भव छैन भने विदेश गएर गराउनु खराब कुरा होइन', डा. सुन्दरमणी दिक्षितले भने, 'पैसा खेर फाल्न उपचारका नाममा एमाले अध्यक्ष ओली थाइल्यान्ड र कांग्रेस सभापति देउवा सिंगापुर जानुभएको छ।'

उनले दुवै नेताको उपचार स्वदेशमै सम्भव भएको दाबी पनि गरे। 'तर एकपटक शक्तिशाली पदमा पुगे भन्दैमा राज्य कोष नै आफ्नो निजी सम्पत्ति हो र त्यसलाई अनुकूल प्रयोग गर्न पाउनुपर्छ भन्ने मानसिकता उहा“हरुमा छ', उनले टिप्पणी गरे।

नर्भिक अस्पतालका जनसम्पर्क निर्देशक आरपी मैनालीले विदेशमा उपलब्ध स्वास्थ्य सेवा र सुविधा आफूहरू दिन सक्षम रहेको बताए। 'हामी जुनसुकै नेता र विशिष्ट व्यक्तिहरु वा सर्वसाधारणको उपचार गर्दा सम्भव भएसम्म देशकै वरिष्ठ चिकित्सकबाट सेवा दिने प्रयास गर्छौं', उनले भने।

रोचक घटना

विसं २०२७ मा सिकार खेल्न जाँदा तत्कालीन रानी रत्नराज्यलक्ष्मीदेवी शाहलाई गोली लाग्यो। कैलाली, टीकापुर जंगलमा राति ११ बजे गोली लागेको थियो। तत्कालीन राजा महेन्द्रले चलाएको गोली लागेको थियो। तत्कालीन शाही सेनाले दिल्लीनजिक भएकाले स्काई भ्यानमा दिल्ली लैजान महेन्द्रलाई प्रस्ताव गर्‍यो तर महेन्द्रलेे काठमाडौं ल्याउन भने, त्यतिबेला मशाल बालेर विमानस्थल जहाज ल्यान्ड गराउने अभ्यास भइरहेको थियो। राति एक बजे रा“को बालेर काठमाडौं विमानस्थलमा जहाज ल्यान्ड गराइयो। वीरमा गोली झिकेर उपचार गरेकी पूर्व रानी रत्न सकुशल छिन्।

यो घटनाको केही समयपछि पूर्वराजा महेन्द्रलाई हर्टअट्याक्ट भयो। त्यतिबेला नेपालमा कोरनरी केयर युनिट थिएन। शाही चिकित्सकले राजालाई ठिक भएपछि दरबारमा सिसियु राख्न सिफारिस गरे। महेन्द्रले प्रश्न गरे, 'दरबारमा किन? वीरमा किन नराख्ने?' राजाले त्यतिबेला डा. सुन्दरमणि दीक्षितलाई तालिम लिन बेलायत पठाए।

पूर्वयुवराज दीपेन्द्र १२/१३ वर्षका थिए। पत्थरी भयो। शाही चिकित्सकले बेलायत लैजान सुझाव दिए। राजा वीरेन्द्र र रानी ऐश्वर्यले मानेनन्। वीरमै उपचार गराउन सुझाए। वीरमै पत्थरीको अपरेसन गरियो, सफल पनि भयो।

डा. दीक्षितका अनुसार तत्कालीन प्रधानमन्त्री लोकन्द्रबहादुर चन्द २०४४ मा बिरामी परेर डा. दीक्षितको क्लिनिकमा गए। दीक्षितले अस्पताल भर्ना गरेर उपचार गर्नुपर्ने सुझाव दिए। त्यतिबेला दीक्षितले चन्दलाई सोधे, 'तपार्इंलाई सामान्य वार्डमा भर्ना गरांै कि नगरौं?' चन्दले हुन्छ भने। दीक्षितले चन्दलाई भने, 'तपार्इंका दुई–दुईवटी श्रीमती छन्। भोलि यहा“ आएर उपद्रो मच्चाउलान्। त्यसैले उपचार गराउने सहमतिपत्रमा हस्ताक्षर गराएर ल्याउनुस्।' चन्दले हस्ताक्षर गराएर ल्याए। त्यहा“ चन्दलाई भेट्न पञ्चायतकालीन सबै मन्त्री आए। उनीहरुको पहलमा अस्पतालमा सेवासुविधा थपिए। 

पूर्वप्रधानमन्त्री बिपीलाई क्यान्सर भयो। त्यतिबेला स्वदेशमा उपचार सम्भव थिएन। उनले भारत जाने निर्णय गरे तर उपचार खर्च राज्यको ढुकुटीबाट लिएनन्।

प्रकाशित: ११ भाद्र २०७३ ०१:२९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App