coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

'अधिकतम माग पूरा गर्छु'

काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहालले डा. गोविन्द केसीसँग सरकारले गरेका सम्झौता अधिकत कार्यान्वयन गर्ने बताएका छन्। सरकारसँगको आठौं अनशन सम्झौतामा टुंगिएको एक महिना पुगेकै दिन मागबारे ध्यानाकर्षण गराउन पुगेका डा. केसीसँग बालुटावारमा भएको भेटमा दाहालले यस्तो वचन दिएका हुन्।

डा. केसीले उठाएका विषयमा सबैभन्दा बढी सचेत आफ्नै पार्टी रहेको तर हुबहु लागू गराउन सक्ने अवस्था नभएको भन्दै उनले अधितम प्रयास गर्ने बताए। दाहालले युद्धको समयमा आफूहरुले जति सजिलोसँग काम गर्न सकिन्छ भन्ने ठानेको थियो प्रणालीभित्र बसेर काम गर्दा सोचेभन्दा धेरै अफ्ठेरो पाएको सुनाएका थिए।

'तपार्इंले उठाएका कुरासँग सबैभन्दा नजिक हाम्रो पार्टी नै हो', दाहाललाई उद्धृत गर्दै केसीले नागरिकसँग भने।

दाहालले पहिलोपटक प्रधानमन्त्री बन्दा नै श्रीलंकामा जस्तै स्वास्थ्य र शिक्षा निःशुल्क बनाउन सकिन्छ कि भनेर तयारी गरे पनि सम्भव नभएको सुनाएका थिए। 'यहाँको कर्मचारी प्रशासन र राज्यसंयन्त्रमा काम गर्न सोचेजस्तो रहेनछ' दाहालले भने, 'तपार्इंका कुरासँग सबैभन्दा नजिक हामी नै हौं।'

उनले डा. केसीको आन्दोलनले संस्थागत स्वरुप लिइसकेको र जनसमुदायमा ठूलो सकारात्मक सोच रहेको समेत बताए। उनले डा. केसीले उठाएका कतिपय माग पूरा गर्न ठूलो जनदबाब आवश्यक पर्नेसमेत बताए।

त्यसअघि डा. केसीले चिकित्सा शिक्षामा आफूले थालेको अभियानबारे विस्तृत बताएका थिए। सुरुमै डा. केसीले आफ्नो परिचय दिएर प्रधानमन्त्री भएकोमा बधाई दिएका थिए। लगत्तै

प्रधानमन्त्रीले दाहालले आफूले यो जिम्मेवारीलाई चुनौतीका रुपमा लिएको बताउँदा डा. केसीले कार्यकारी प्रमुखको कुर्सीमा बसेर चुनौती भन्न नहुने विचार राखेका थिए।

दाहालले मुस्कुराउँदै डा. केसीसँग उमेरसमेत सोधेका थिए। 'म ६० वर्ष भएँ,' डा. केसीले भने, 'दाहालले जवाफमा आफूभन्दा तीनचार वर्ष भर्खरको भन्दै ठट्टा गरेका थिए। त्यसको प्रत्युत्तरमा केसीले पनि योचाहिँ तपाईं नै देखिनुहुन्छ भनेको भेटमा सहभागी डा. केसीका विद्यार्थी बद्री अर्यालले बताए।

डा. केसीले सो क्रममा दाहालको नेतृत्वमा माओवादीले लामो समयसम्म समानताका लागि युद्ध लडेको भन्दै प्रधानमन्त्रीको पार्टीले गर्नुपर्ने कुराका लागि आफू लडिरहेको भनाइ राखेका थिए। उनले आठौं अनशन तोड्ने समयमा दाहाल र देउवाले कार्यान्वयको वचन दिएकै आधारमा अनशन तोडेको भन्दै अहिले माग पूरा गर्न डराइरहेको आरोप लगाएका थिए। उनले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीलाई महाभियोग लगाउने विषयमा दाहाल डराएको भन्दासमेत कुनै जवाफ दिएनन्।

उनले अहिले पनि ८० प्रतिशत जनसंख्याको बसोबास रहेको ग्रामीण क्षेत्रमा स्वास्थ्य सेवा र चिकित्सा शिक्षाका पूर्वाधार नभएको भन्दै सरकारलाई काम गरेर देखाउने अवसर नगुमाउन सुझाए।

डा. केसीले यसअघि भएका सम्झौता पढेर सुनाउन खोज्दा प्रधानमन्त्रीले आफूले पढिसकेको भन्दै थप कुरा राख्न भनेका थिए। डा. केसीले आफूले प्रधानमन्त्रीलाई आफूले स्पष्टसँगै विषयवस्तु राखेको भन्दै माग पूरा नगरे आफूले नवौं अनशन बस्ने स्पष्ट सन्देश दिएको बताए।

डा. केसीले अख्तियारमा कार्कीलाई प्रमुख आयुक्त नियुक्ति गरेर दाहालले शान्ति प्रक्रियामा आएपछि सबैभन्दा ठूलो गल्ती गरेको भन्दै त्यसको संरक्षक नबन्न बताएको जानकारी दिए। डा. केसीले आफूले दाहालसँग कम्तीमा महाभियोग समिति खडा गरेर छानबिन बढाउन आग्रह गरेको र नगरे अनशनको चेतावनी दिएको पनि सुनाए। 'मैले भ्याएजति कुरा भनेको छु, नभए के गर्छु पनि भनेको छु,' केसीले भने।

गत साउन १० मा चारबुँदे सम्झौतामा टुंगिएको अनशनका क्रममा भएका सहमति कुनै कार्यान्वयन भएका छैनन्। तत्कालीन सम्झौतालाई मन्त्रीपरिषद्ले अनुमोदनसमेत गरेको छैन। सरकारले त्यतिबेला संसदमा विचाराधीन मनमोहन प्रतिष्ठान विधेयक रोकेर मनमोहन अस्पताललाई वीरका लागि खरिद गर्ने, महाभियोग प्रक्रिया अगाडि बढाउने, चिकित्सा शिक्षासम्बन्धी ऐनमा सम्झौताका बुँदा थप्ने, तत्काल आइओएमका डिन नियुक्त गर्नेलगायत सम्झौता गरेको थियो।

प्रकाशित: ११ भाद्र २०७३ ०१:२८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App