मोही माग्ने ढुंग्रो लुकाउने!

कर्णाली ‘सुइना’ र ‘याक डुङ’

बिहिबार, ०६ बैशाख २०७५, ०९ : ०४ कृष्णमुरारी भण्डारी

नेपालगञ्जबाट हवाइजहाजमा कर्णाली जाँदा होस् वा विमानस्थल भएका हुम्ला, डोल्पा, मुगु, बाजुराबाट नेपालगञ्ज फर्किंदा! एउटा कुरा चाहिँ प्रस्टै रहेछ, त्यो के भने यो प्रदेशको मुख्यमन्त्री वा मन्त्रीले शासन सफलतासाथ चलाउन सक्छन् कि सक्दैन भन्ने थाहा पाउने इच्छा कसैमा छ भने उसले पर्खेर बसिरहनै पर्दैन, तत्कालै थाहा पाउन सक्ने रहेछ! 

पत्यार लागेन? एकदमै नअलमलिइकन शतप्रतिशत पत्याउनुहोस् । तर जमिनबाट कर्णाली जाँदाको कुरा भने बेग्लै छ है। जमिनमा टेकेर गरिने पदयात्रा होस् वा गुडेर गरिने सवारीको यात्राको कथा र व्यथा भने अलि बेग्लै छ!

कर्णालीका कुनै पनि विमानस्थलबाट उड्ने वा बस्ने प्लेनबाट आफूले चाहेको मान्छेलाई उडाउन मन्त्री वा सांसदले सक्छ कि सक्दैन? यसैबाट ऊ कति काबिल छ, सहजै पर्गेल्न सकिने रहेछ।

रारामा होटलहरू खै ?जाने कसरी ? फर्कने कसरी ? व्यापारीले के बेच्छन् ? पर्यटकले केमा खर्च गर्र्ने?

 

ननीयजीको कार्यकाल सफल हुन्छ कि हुँदैन, सामान्यजनले पनि पूर्वानुमान गर्न सक्ने रहेछ। आफूले चाहेका व्यक्तिलाई प्लेनमा उडाउन सक्ने हैसियत राख्यो भने पत्याउनुस्, यो माननीयले हाँक्यो अब यो प्रदेश, जिल्ला र स्थानीय निकाय! यसमा कहीँकतै कसैले शंका नगरे हुन्छ! र, यो माननीयको धामी–झाँक्री, ज्योतिषी वा तिलस्मी चमत्कार होइन। नत यो भाग्यको लीला नै हो! यो मात्र मान्छेलाई हजाइजहाजमा उडाउन सक्ने हाट–हुट, डाङ–डुङ गर्ने दलालसँग मिलेर सर्वसाधारण लुट्ने चतुर कला! कर्णालीमा जसले मानिस उडाउने र उतार्ने क्षमता राख्छ, सम्झनुहोस् उसले कर्णाली हाँक्यो! अहिलेसम्म भएको यही रहेछ।

कर्णाली अञ्चलका विमानस्थल साना छन् र डाँडाका टुप्पा वा पहाडका कन्दरामा छन्। तिनमा ठूला विमान उड्न र बस्न सक्दैनन्। दोहो-याइरहन पर्दैन कर्णालीको भूगोल कठिन र दुरुह छ। बिहान दश बजेअघि नेपालगञ्जबाट प्लेन उड्यो र विमानस्थलमा बस्न सक्यो भने उडान सफल भयो, होइन भने त्यो दिनको उडान सकियो। 

बिरामी हुन् कि बृद्ध, इमर्जेन्सीमा परेका नागरिक हुन् कि कर्णाली डुलेर फर्कन लागेका पर्यटक नै किन नहुन्? कि एयरपोर्टको सुनसान र चिसो सिरेटो खाएर होटलहरूमा बस्नुप-यो कि त घर, अफिस वा नातेदारको घर फर्किएर भोलि वा पर्सिपल्ट वा कहिले आउने हो ठेगान नभएको जहाज आउने दिन दौडधुप र हस्याङफस्याङ गर्दै सत्र जना अट्ने सिट भएको जहाजमा उड्न पाउने पचास–साठी जनाको मध्ययुगीन प्रतिस्पर्धामा सहभागी हुनुप-यो। 

यो प्रतिस्पर्धा यति कुटिल, कातिल, जाली र ज्यानमारा हुने रहेछ कि कर्णालीका धामीका के कुरा जामुन गुभाजुलाई पनि छक्याइहाल्छन्। जहाँ पदवाल, पैसावाल, दलाली, घुसखोरी, तिकडमबाजी, कर्मचारी रवाफ, नेताको चुरीफुरी, सामन्ती दम्भ, नातावाद कृपावाद, सेना, प्रहरी, सरकारी कोटाको महाभारत युद्ध भइरहेको हुन्छ र युद्धको नियम नै हो– जसको शक्ति, उसको भक्ति!

कर्णालीको सपना र सगरमाथाको गुइँठा नेपालको पर्यटन विकासका लागि यस्ता आइकन शब्द हुन्, जसले पर्यटन विकासका हाम्रा कोरा कल्पना र यथार्थलाई बोक्ने सामथ्र्य राख्छन्। कर्णालीले ‘सुइना’ अर्थात् सपना बेच्न खोजिरहँदा सगरमाथा भने ‘याक डुङ’ अर्थात् चौरीको गुइँठा बेचेर मनग्य डलर कमाइरहेको छ।   

कट पहिल्यै पाएर वा लिएर मात्र पनि कर्णालीमा भनेको ठाउँमा पुग्न नसकिनेरहेछ। यहाँ त देखिने र नदेखिने हजार तिकडम पार गरेर जहाज चढे पनि भगवान् नभाकी सफल नहोइने रहेछ । त्यसमाथि मौसमले साथ दिन्छ कि दिँदैन ? दियो, तपाईंको यात्रा सफल भयो, होइन भने नारायणहरि! 

अर्थात्, कर्णालीको यात्रा एक्काइसौँ शताब्दीको दुई दशक बित्न लागिसक्दा पनि राम भरोसे रहेछ। कर्णाली जाँदा, कर्णाली बस्दा र कर्णालीबाट फर्किंदा सर्वसाधारणलाई कर्णालीको भूगोल, प्रकृति, सम्पदा, संस्कृति, इतिहासमा घोत्लिनेभन्दा धेरै नै बढी गिजोलिरहने रहेछ–कसरी पुग्ने? कहाँ बस्ने ? कहिले र कसरी फर्किने अनि दलालको फन्दाबाट कसरी मुक्त हुने?

हिँडेर पाँच छ दिन वा त्यसभन्दा पनि बढी लाग्ने र सडक पुगेको ठाउँमा पनि डरलाग्दो र असुरक्षित गाडी–सडक, धुलो र उबडखाबड बाटोले छिटो भए दुई दिनअघि सुगम भनिएको जुम्ला सदरमुकाम पनि पुग्न सकिँदैन, कर्णाली प्रदेशको राजधानी भनिएको सुर्खेतबाट। सडक नपुगेका हुम्ला र डोल्पाको मात्र होइन, सडक पुगेका भनिएका जिल्लामा पनि सडकभन्दा तीन–चार दिन टाढाका मानिससँग त केही पनि विकल्प देखिँदैन। कर्णाली घोडापालनमा इतिहासदेखि नै बहुचर्चित हो तर घोडचडी यात्रा धेरै नै महँगो छ। 

त्यसैले कर्णाली बसेर कर्णालीको विकासबारे सोच्ने हो भने पूर्वाधारको न्यूनतम विकास र अझ छिचोलेर भन्दा सडक र सुचारु यातायात समृद्ध कर्णालीको न्यूनतम सुरुवात हो। रारा तालबारे बहुप्रचार भए पनि त्यहाँ पुग्ने, बस्ने र कसरी फर्कने टेन्सनमै पर्यटकले आधा मासु सुकाइसक्छन् अनि इरिटेट पर्यटकले आफ्नो ठाउँ पुगेपछि कर्णालीबारे के भन्ला? अनि त्यसले कर्णालीको पर्यटनलाई विस्तार गर्ला?

रारा ताललाई केन्द्रविन्दुमा राखेर कर्णाली रारा पर्यटन वर्ष–२०७५ वैशाख १ गतेबाट सुरु भएको छ। प्रधानमन्त्री केपी ओलीले रारातालको किनारामा उद्घाटन गर्दै कर्णालीको सम्पदामा कसी लगाउने प्रण गरे। कर्णाली प्रदेश सरकारको आयोजनामा नेपाल पर्यटन बोर्डले प्रवद्र्धन गरेको यो नयाँ नौलो महोत्सव कर्णाली प्रदेशका दशै जिल्लामा वर्षभर सञ्चालन गरिरहिने पनि बताइयो। कार्यक्रमलाई सम्बोधन गर्दै संघीय सरकारका पर्यटन मन्त्री रवीन्द्र अधिकारीले भने— हामी सन् २०२० मा नेपाल भ्रमण वर्ष मनाउन गइरहेका छौँ। हामी २५ लाख विदेशी पर्यटक नेपाल भित्र्याउने लक्ष्य लिएर योजना बनाइरहेका छौँ। आन्तरिक पर्यटन विकासविना अन्तर्राष्ट्रिय पर्यटक प्रवद्र्धन हुन नसक्ने हुनाले कर्णाली पर्यटन महोत्सव जस्तै अन्य प्रदेशमा पनि महोत्सव गरेर देशभर पर्यटनको माहौल बनाइनेछ। 

पर्यटन मन्त्रीले वर्षेनि २५ लाख विदेशी पर्यटक देशमा भित्र्याउने महत्वाकांक्षी योजना बताइरहँदा पर्यटन व्यवसायको वर्तमान अवस्थामा ध्यान दिन जरुरी देखिन्छ किनभने नेपालको पर्यटनले अन्तर्राष्ट्रिय बजारमा पहुँच पु-याउन सकेको छैन। विदेशी पर्यटन बजारमा हाम्रा विशेषताहरू नपस्कीकन पर्यटकहरू नेपालमा पैसा खर्च गर्न आउँदैनन्। 

पर्यटकहरू संसारभर सोची बिचारीकन मात्र खर्च गर्छन्। त्यसैले उनीहरूलाई खुसी पारेर मात्र नेपालमा खर्च गराउन सकिन्छ। विदेशी पर्यटकलाई आकर्षित गर्न र पैसा खर्च गर्न सक्ने आकर्षक ठाउँ हामीले के बनायौँ र के बनाउँदै छौँ? यतातिर मन्त्रीजी र पर्यटन विकासको रण र कार्यनीति बनाउन लागेकाको ध्यान गयो भने मात्र पर्यटन विश्व बजारबाट नेपालले केहीलाई आकर्षित गर्नसक्छ।

सगरमाथा, अन्नपूर्ण, काठमाडौँ, पोखरा, चितवन, लुम्बिनी जस्ता ठाउँ पर्यटकका रुचिका ठाउँ हुन् किनभने यहाँ पचास वर्षदेखि लगानी गरिएको छ। तर यीबाहेक अरू क्षेत्रहरूमा न्यूनतम विकास र विस्तार गर्न नसकेकाले विश्व पर्यटन बजारमा आक्रामक हस्तक्षेप गर्न नेपाल पछाडि परेको हो। स्वतःस्फूर्त रूपमा आएका पर्यटकहरू पनि पर्यटकीय क्षेत्रमा पुग्ने, बस्ने र फर्कने जस्ता आधारभूत सुविधाको अभावमा दुःखपाएका बग्रेल्ती उदाहरण छन्। अनि यस्ता अस्तव्यस्त बनेका पर्यटकले गरेका ‘ब्याड पब्लिसिटी’ले गर्दा नेपाली पर्यटन क्षेत्रको सन्देश उल्टो गइरहेको त छैन? यसतर्फ पनि जिम्मेवारहरूको ध्यान जानु जरुरी छ। 

गफ र हंगामाले प्रतिस्पर्धात्मक पर्यटन व्यवसायलाई आकर्षित गर्न सक्दैन। केही गरी पर्यटक आइहाले भने पनि ती दिगो हुँदैनन् बरू त्यसले धमिरो लगाउनसक्छ। नेपाल सरहद प्रवेश गरेका प्रत्येक पर्यटकको मन प्रसन्न नभई उनीहरूको दिल खुल्दैन। दिल नखुली कुनै पनि पर्यटकले मुठी खोल्दैन। यति ज्ञान त पर्यटन विकासका गफ दिने गफाडीमा पनि हुनुपर्छ। अनि मात्र खुला बजार अर्थतन्त्रमा प्रतिस्पर्धाको पर्यटनको ढोका खुल्नसक्छ।

भनौँ न, रारा तालमा कर्णाली महोत्सवको आयोजना भयो तर त्यहाँको व्यवस्थापनको अभावले विश्व पर्यटनमा हामी कहाँनेर रहेछौँ भन्ने यथार्थ बताइदियो। पर्यटकलाई बोलाउने अनि जाने, खाने, फर्कने कुरामै पाहुनालाई तनाव भयो भने त्यसले फर्केपछि नेपालबारे के सन्देश देला? पर्यटकलाई किन बोलाइएको हो ? ती कुरा सर्वसुलभ थिए? पार्ने प्रयत्न गरियो?

राराको पानी र राजा महेन्द्रले भनेजस्तै ‘स्वर्गकी अप्सरा’ देखाउन पर्यटकलाई बोलाएको हो भने खैरेले त्यहाँ के कुरामा खर्च गर्छ? रारालाई दुईतीन हजार डलर खर्च गर्ने ठाउँ बनाउन सकिन्छ? दालभात खाएर र रारा किनारामा सुत्नेमात्र को भने पैसा त फिर्ता नै जान्छ। अनि के उसलाई दिसा–पिसाव गर्न बोलाइएको हो? होइन भने उसले पैसा राजीखुसी कहाँ के कुरामा खर्च गर्ने? तीस लाख वा दुई तीन लाख रुपैयाँ केजी मूल्य पर्ने यार्सागुम्बा वा अनेक च्याउका परिकार बनाउन सकिँदैन? हिमाली एड्भेन्चर वा थप मनोरञ्जन, खानपान, किनमेल वा अरू जानैपर्ने आकर्षक ठाउँ वा क्षेत्रहरूको विकास हामीले गरेका छौँ? महँगो होला तर खाऊँ खाऊँ लाग्ने, किनूँकिनूँ लाग्ने, लैजाऊँ–लैजाऊँ लाग्ने के कुरा पस्किएका र पस्किने तयारी गरेका छौँ? के कुरा मज्जासँग पस्कन सक्छौँ हामी? ताकि पर्यटक खर्च गर्न चमचम गरोस्।

पर्यटन वर्ष मनाउन गफ दिनेहरूले के कुरा बिर्सनु भएन भने, रारा ताल सुन्दर छ, यसमा कुनै विवाद छैन तर रारामा पर्यटक बस्ने होटल खै? रारा जाने कसरी? फर्कने कसरी? हेर्ने के? समुद्री किनाराका खैरेलाई रारा ताल के कारणले आकर्षक हो? कति युवाले रोजगारी पाउँछन्? व्यापारीले के मौलिक व्यापार गर्छन्? पर्यटकले बढी दिन बसेर केमा खर्च गर्न सक्छ? अहिलेसम्म सरकार नै लाग्दा त न यात्रा गर्ने टिकट पाइन्छ न त बिरामी भयो भने उपचार! खाने बस्ने त कुरै छाडौँ! दलाल र दलालीकै भरमार र मारामारीलाई निरन्तरता दिने हो भने कसरी पर्यटन फस्टाउला?

राराबारे कतिवटा किताब निस्केका छन् ? गाइड बुक प्रकाशित छ? सिनेमा डकुमेन्ट्री बनेका छन्? पोखरा, काठमाडौँ, चितवन, भक्तपुर र हुँदाहुँदा बन्दीपुरबारे समेत धेरै भाषामा किताब निस्केका छन्। तर रारा वा कर्णालीबारे?

सडक नहुँदैमा पर्यटनको विकास हुँदैन भन्ने होइन। सगरमाथा, अन्नपूर्ण क्षेत्रमा पनि मोटर बाटो त छैन तर पर्यटन व्यवसाय फस्टाएको छ। डुल्ने ठाउँ र घोडेटो भए पनि अनेक बाटा छन्। जहाँ आरामदायी रूपमा पर्यटकले पदयात्रा गर्ने, खाने, बस्ने, हेर्ने, डुल्ने र फर्कने सुविधा सहजै प्राप्त गर्न सक्छन्। 

सगरमाथा क्षेत्रमा चौँरीका गुइँठा बेच्नेले पनि हजारौँ रुपैयाँ कमाउँछन् किनभने त्यही गुइँठाको न्यानोमा बसेर झ्यालबाट विदेशीले हिउँ परेको हेरेर मनोरञ्जन लिन पाउँछ। क्याटबरी चकलेट बेच्नेले पनि वर्षको दुईचार लाख कमाउँछन्। भारी बोक्नेले त तीन महिना काम गरेर वर्षभरि गुजारा गर्छन् तर कर्णाली इतिहास, संस्कृति, वनस्पति, जडिबुटी, प्रकृति, नदीनाला र उच्च हिमाली उत्पादन खानपान, चाडबाड र खेलकुद लगायतका कुरामा भर्जिन र सम्पन्न भएर पनि पूर्वाधारको अभावमा अज्ञानीको देशमा मणि बनिरहेको छ। सगरमाथामा बेचिने याक डुङको भाउमा कर्णालीले कहिले जडिबुटी बेच्न पाउने? कर्णालीले कतिन्जेल सुइना मात्र बेचिरहने?








यसमा तपाईको मत

अन्य समाचार

सुपथ मूल्य पसलमा प्रतिकिलो ५ देखि १०रुपैयाँ छूट (भिडियो)

सुपथ मूल्य पसलमा प्रतिकिलो ५ देखि १०रुपैयाँ छूट (भिडियो)

खाद्य व्यवस्था तथा व्यापार कम्पनि लिमिटेडले उपत्यकाका राम शाहपथ, थापाथली, नख्खु, जावलाखेल, भक्तपुरलगायतका स्थानमा पाँच स्थानमा पसल सञ्चालन गरेको छ...

नेपाली उपभोक्तामा युरोपेली ब्रान्डको प्रभाव (अन्तर्वार्ता)

नेपाली उपभोक्तामा युरोपेली ब्रान्डको प्रभाव (अन्तर्वार्ता)

लामो समयदेखि कपडा व्यवसायमा संलग्न रुपेश पाण्डेले पछिल्लो समय ब्रान्डेड कपडा ल्याएर बिक्री गर्दै आएका छन् । ...

भन्सार छलीको चिनी नियन्त्रणमा

भन्सार छलीको चिनी नियन्त्रणमा

भारतबाट भन्सार छली चोरी पैठारी गरी नेपाल ल्याएको करिब डेढ लाखको चिनी प्रहरीले बरामद गरेको छ । ...

दुई नयाँ बिमालेख जारी गर्दै राष्ट्रिय बिमा कम्पनी

दुई नयाँ बिमालेख जारी गर्दै राष्ट्रिय बिमा कम्पनी

राष्ट्रिय बिमा कम्पनीले थप नयाँ दुई बिमालेख बजारमा ल्याउने भएको छ । ...

महालक्ष्मी विकास बैंकको १८ प्रतिशत लाभांश

महालक्ष्मी विकास बैंकको १८ प्रतिशत लाभांश

महालक्ष्मी विकास बैंकले लगानीकर्तालाई १७.८९ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । ...

ललितपुर फाइनान्सको कामु सिइओमा खड्का

ललितपुर फाइनान्सको कामु सिइओमा खड्का

ललितपुर फाइनान्सको कायम मुकायम प्रमुख कार्यकारी अधिकृत (सिइओ) मा चन्द्रशेखर खड्का नियुक्त भएका छन् । ...

ओपो रेनोटू एफ आश्विन २९ गते नेपालमा सार्वजनिक गरिने

ओपो रेनोटू एफ आश्विन २९ गते नेपालमा सार्वजनिक गरिने

ओपोले आफ्नो रेनो सिरिज अन्तर्गतको रेनोटू एफ नेपाली बजारमा सार्वजनिक गर्ने मिति घोषणा गरेको छ। ...

माइक्रोसफ्टको अभिनव फोल्डिंग स्मार्टफोन

माइक्रोसफ्टको अभिनव फोल्डिंग स्मार्टफोन

माइक्रोसफ्ट सरफेस डुवो र माइक्रोसफ्ट सरफेस नियो सार्वजनिक गरेर प्रविधिको जगतलाई आश्चर्य चकित पारेको छ ...

Ncell Footer Ad