७ वैशाख २०८१ शुक्रबार
अन्तर्राष्ट्रिय

गोली चल्न थालेपछि निरीक्षण भ्रमणमा ढिलाइ

अर्गनाइजेसन फर द प्रोहिविसन अफ केमिकल विपन्स (ओपिसिडब्लू)का निरीक्षक बोकेर सिरियाको राजधानी दमास्कस पुगेका संयुक्त राष्ट्रसंघका सवारी साधन । तस्बिर / रोयटर्स

दमास्कस– संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषद्को टोलीले शंकास्पद ग्यास हमला भएको सिरियाली सहर दोमामा मंगलबार भ्रमण गर्ने क्रममा गोली चलेपछि अन्तर्राष्ट्रिय रासायनिक हतियार निरीक्षकहरुको टोलीको उक्त क्षेत्रको भ्रमणमा ढिलाइ भएको छ।

‘रासायनिक हतियारको निरीक्षण गर्ने अन्तर्राष्ट्रिय संस्था अर्गनाइजेसन फर द प्रोहिबिसन अफ केमिकल विपन्स (ओपिसिडब्लू)का निरीक्षकहरुले दोमा सहरमा भएको भनिएको शंकास्पद रासायनिक हमलाबारे गर्ने भनिएको पूर्व निर्धारित निरीक्षण सुरु गर्नुपूर्व संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषद्को टोलीले दोमा सहरको अवस्थाका बारे बुझ्न गएको थियो,’ टोली गएको बारे जानकारी दिने स्रोतलाई उद्धृत गर्दै समाचार एजेन्सी रोयटर्सले जनाएको छ।

दोमा सहरमा निरीक्षकको टोली पुग्न ढिला हुनुमा दमास्कस र मस्कोको हात रहेको पश्चिमा राष्ट्रहरुले आरोप लगाएका छन् । अमेरिका र फ्रान्स दुवैले निरीक्षकहरुलाई उक्त क्षेत्रमा पुर्‍याउन ढिलाइ गर्नुका पछाडि रासायनिक हमलाको प्रमाण लुकाउने वा नष्ट पार्ने षड्यन्त्र हुनसक्ने बताएका छन् ।

सिरिया र रुसले भने ओपिसिडब्लूका निरीक्षकहरुलाई त्यहाँ पुर्‍याउन ढिलाइ गरेको भन्ने अमेरिका र फ्रान्सको आरोप अस्वीकार गरेका छन् । ओपिसिडब्लूको एउटा अति सुविधासम्पन्न टोलीले दोमा सहरमा जान सुरक्षा चुनौती देखेपछि उक्त क्षेत्रको भ्रमणमा ढिलाई भएको स्रोतले रोयटर्सलाई जनाएको छ । उक्त स्रोतले थप जानकारी भने नदिएको बताइएको छ।
अप्रिल ७ मा सिरियाको राजधानी दमास्कस नजिकैको दोमा सहरमा सरकारी पक्षले सर्वसाधारणमाथि रासायनिक हमला गरेको र उक्त हमलाका कारण ४० भन्दा बढीको मृत्यु भएको भन्ने पश्चिमा राष्ट्र र उद्दार टोलीको भनाइलाई निरीक्षण गर्न ओपिसिडब्लूका प्रतिनिधि हाल सिरियामा रहेका छन्।

दमास्कसले भने अप्रिल ७ मा दोमा सहरमा कुनै पनि प्रकारको रासायनिक हमला नभएको बताउँदै आएको छ । सर्वसाधारण नागरिकमाथि सिरियाली राष्ट्रपति बसर अल–असदको सरकारले रासायनिक हमला गरेको भन्दै अमेरिका, फ्रान्स र बेलायतले गत शनिबार सिरियामा सयभन्दा बढी क्षेप्यास्त्र तथा हवाई हमला गरेका थिए।

उनीहरुले सिरियाको रासायनिक हतियार निर्माण गर्ने क्षेत्रमा आक्रमण गरिएको बताउँदै आएका छन् । अमेरिकालगायतका देशले शनिबार सिरियाको तीनवटा क्षेत्रमा क्षेप्यास्त्र हमला गरिएको बताएका थिए।

सिरियाली राष्ट्रपति बसर अल–असद सरकारले आफ्नै नागरिकमाथि प्रकट गरेको क्रुरताको सजायस्वरुप क्षेप्यास्त्र आक्रमण गरिएको पश्चिमा राष्ट्रहरुले बताउँदै आएका छन् । शनिबारको आक्रमण सिरियाली गृहयुद्धको सातौं वर्षमा पहिलो पटक मिलेर गरिएको पश्चिमा आक्रमण थियो।

सिरियामा हवाई तथा क्षेप्यास्त्र आक्रमण केबल सर्वसाधारण नागरिकको ज्यानको सुरक्षाका लागि गरिएको र बसर अल–असदको सत्ता परिवर्तनका लागि नभएको पश्चिमा देशले बताउँदै आएका छन्।

सिरियाको नजिकको साझेदार रुसले भने अमेरिकालगायतका देशले ओपिसिडब्लूको निरीक्षणको रिपोर्टसम्म नकुरेर भएको क्षेप्यास्त्र तथा हवाई हमला शंकास्पद भएको भन्दै सोही दिन नै संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद्को आपतकालीन बैठक आह्वान गरेको थियो ।
उक्त बैठकका सुरक्षा परिषद्का १५ मध्ये चार राष्ट्र अनुपस्थिति थिए भने रुसको प्रस्तावको पक्षमा चीन, बोलिभिया र रुसको मात्रै समर्थन रहेको थियो भने बाँकी अन्य राष्ट्रले भने सर्वसाधारण नागरिकको ज्यानको सुरक्षाका लागि अमेरिकालगायतका देशले सिरियमा गरेको आक्रमण न्यायोचित भएको भन्दै अमेरिकाको साथ दिएका थिए।

 दोमा सहरमा भएको रासायनिक हमलाका प्रमाणमाथि रुसले हस्तक्षेप गरेको आरोप अमेरिकालगायतका देशले लगाउँदै आएका छन् । उता, रुसले भने सिरियाको दोमामा कुनै रासायनिक हमला नभएको र उक्त घटना कपोकल्पित र पश्चिमा राष्ट्रको चालबाजी मात्रै भएको बताउँदै आएको छ। अमेरिका नेतृत्वमा शनिबार भएको क्षेप्यास्त्र हमलाले रुससमर्थित असद सरकार र पश्चिमा देशबीच युद्ध हुने देखिए पनि त्यो सम्भावना तत्कालका लागि टरेको छ किनभने विद्रोही नियन्त्रणमा रहेका अधिकांश क्षेत्रलाई सरकार समर्थित फौजले मुक्त गराइसकेको छ।

यसै  वर्षको फेब्रुअरी महिनाबाट असद सरकारले दमास्कसनजिकैको पूर्वी गुटा क्षेत्रमा गरेका आक्रमणबाट हालसम्म हजारौं सर्वसाधारणको मृत्यु भइसकेको छ । सिरियामा सन् २०११ देखि सुरु भएको गृहयुद्धका कारण हालसम्म पाँच लाखभन्दा बढी नागरिकको मृत्यु भइसकेको छ भने लाखौं मानिस सिरिया छोडेर अन्यत्र गइसेकेका छन्।

सर्वसाधारण नागरिकमाथि सिरियाली राष्ट्रपति बसर अल–असद नेतृत्वको सरकारले रासायनिक हमला गरेको भन्दै अमेरिका, फ्रान्स र बेलायतले गत शनिबार सिरियामा सयभन्दा बढी क्षेप्यास्त्र तथा हवाई हमला गरेका थिए। 

प्रकाशित: ६ वैशाख २०७५ ०२:५७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App