७ वैशाख २०८१ शुक्रबार
अन्तर्राष्ट्रिय

किमसँग राम्रो सम्बन्ध बन्यो

वासिङ्टन– अमेरिकी गुप्तचर निकाय सिआइएका निर्देशक एवं अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले देशको उच्च कूटनीतिज्ञका रूपमा अगाडि सारेका माइक पोम्पेओले गत साता उत्तर कोरियाको भ्रमण गरेको र त्यहाँका सर्वोच्च नेता किम जोङ–उनसँग भेट गरी अत्यन्तै राम्रो सम्बन्ध कायम गरेको ट्रम्पले बताएका छन्।

प्योङयाङको भ्रमण गरेर नेता किमसँग भेट गर्ने पोम्पेओ अमेरिकाको उच्च अधिकारी भएका छन् । उनले उत्तर कोरियामा रहँदा अमेरिकी राष्ट्रपति ट्रम्प र किमबीच हुने तय भएको शिखर वार्ताका बारेमा छलफल भएको बताइएको छ।

‘माइक पोम्पेओले गत साता उत्तर कोरियामा नेता किम जोङ–उनसँग भेट गरेका छन् । भेटघाट अत्यन्तै सौहार्दपूर्ण भएको र राम्रो सम्बन्ध कायम भएको छ । दुई देशबीच हुने उच्च तहको वार्ताको हाल तयारी भइरहेको छ । निःशस्त्रीकरण विश्व र उत्तर कोरिया दुवैका लागि अत्यन्तै ठूलो विषय हुनेछ,’ अमेरिकी राष्ट्रपति ट्रम्पले ट्विट गरेका छन्।

पोम्पेओको उत्तरक कोरिया भ्रमण र अमेरिकी राष्ट्रपति ट्रम्पको ट्विटले उनी उत्तर कोरियासँग वार्ता गर्न एकदमै इच्छुक देखिएको समाचार एजेन्सी रोयटर्सले जनाएको छ । यदि ट्रम्प र किमबीच बैठक भयो भने बहालवाला अमेरिकी राष्ट्रपतिले उत्तर कोरियाली नेतासँग गरेको पहिलो वार्ता हुनेछ । दुई देशबीच हुन लागेको शिखर बैठकमा अमेरिकाले उत्तर कोरियाको आणविक कार्यक्रमको अन्त्यलाई प्रमुख विषय बनाउने संकेत गरेको छ । अमेरिकाले आफ्नो पहलमा संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषद्को लगातारको प्रतिबन्धका कारण उत्तर कोरियाले आणविक हतियार कार्यक्रम त्याग्ने सहमति गरेको बताउँदै आएको छ।

अमेरिकी अधिकारीहरुले यसअघि पोम्पेओले इस्टर सप्ताहका बेला उत्तर कोरियाको भ्रमण गरको बताएका थिए । पोम्पेओले मार्च ३१ देखि अप्रिल २ सम्म प्योङयाङको भ्रमण गरेको उल्लेख गरेका थिए । पोम्पेओले उत्तर कोरियाली नेता किमसँग कुन मितिमा भेट गरे भन्नेबारे भने अमेरिकी राष्ट्रपति कार्यालय ह्वाइट हाउसका प्रतिनिधि र विदेश मन्त्रालयले भने तत्काल केही प्रतिक्रिया जनाएको छैन।अमेरिका र  उत्तर कोरियाबीच वार्ताको तयारी भइरहेको बेला दुई परम्परागत शत्रु राष्ट्र दक्षिण कोरिया र उत्तर कोरियाले आफ्नै शिखर वार्ताको तीब्र गतिमा तयारी गरिरहेका छन्।

आसन्न शिखर वार्तामा उत्तर कोरियाली नेता किम र दक्षिण कोरियाली राष्ट्रपति मुन जायबीच आउँदो अप्रिल १७ का दिन उत्तर कोरियाको राजधानी प्योङयाङमा वार्ता हुनेछ । सन् १९५० देखि १९५३ सम्म भएको कोरियाली युद्ध स्थगित अवस्थामा हालसम्म रहेकाले उक्त युद्धलाई औपचारिक रूपकै अन्त्य गर्नेबारे शिखर वार्तामा कुराकानी हुने बताइएको छ।

 

प्रकाशित: ६ वैशाख २०७५ ०२:१२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App