coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
खेल

भलिबल टोली बंगलादेशतिर

काठमाडौं – वैशाख ८ देखि १६ गतेसम्म बंगलादेशको ढाकामा हुने चौथो संस्करणको एभिसी सेन्ट्रल जोन सिनियर एसियन पुरुष च्याम्पियनसिपमा भाग लिने नेपाली टोली बिहिबार बंगलादेश प्रस्थान गर्दैछ।

बुधबार नेपाल भलिबल संघले पत्रकार सम्मेल गरेर चौथो संस्करणमा सहभागि जनाउने नेपाली टोलीको विदाई ग-यो।

विदाइ पछि राष्ट्रिय टोलीका कप्तान इम रानामगरले पदक हात पार्ने हिसाबले तयारी राम्रो रहेको बताए। ‘विगत वर्षहरुमा हामी सहभागिताका लागि जाने गरेका थियौं, तर यसपालि पदक ल्याउने उद्देश्यका साथ यो संस्करणमा प्रतिस्पर्धा गर्दै छांै’ कप्तान इमले भने, ‘दुई महिने बन्द प्रशिक्षणमा राम्रो तयारी गरेका छौं, राष्ट्रिय खेलकुद परिषदको कर्भडहलमा उपलब्ध म्याट र बत्तीमा अभ्यास गरेका छौं । समग्रमा अभ्यास राम्रो भएको छ, पदक ल्याउनेमा आशावादी छौं।’

गत वर्ष बंगलादेशमै हाँसिल गरेको उपलब्धिमा सुधार गर्ने योजना रहेको बताउँछन्। त्यसका लागि उपलब्ध समय र सुविधामा कडा मिहिनेतका साथ तयारी गरिरहेको उनको भनाइ छ।

तेस्रो संस्करणमा भलिबलमा लागेको पदकको खडेरी तोड्दै कांस्य पदक भित्र्याएको नेपाली टोलीको लक्ष्य स्वर्ण पदक ल्याउने रहको सहायक  प्रशिक्षक जगदीश भट्टले बताए। ‘दुई महिने प्रशिक्षणको दौरानमा उत्कृष्ट प्रदर्शन गरेबापत पाँच नयाँ खेलाडी टोलीमा अटाएका छन्। नयाँ र पुराना खेलाडीको समिश्रण राम्रो छ, त्यसैले हाम्रो लक्ष्य भनेको स्वर्ण पदक ल्याउने नै हो’ भट्टले भने, ‘तेस्रो संस्करणमा छोटो समयको प्रशिक्षणमा पनि उत्कृष्ट प्रदर्शन गरेका थियौं, त्यति बेला ब्लक र रिसिभमा कमजोरी थियो । यसपालि हामीले कमजोर पक्षलाई विशेष केन्द्रीत रहेर तयारी गरेका छौं। ब्याकअपको रुपमा रिसिभ थपेका छौं, समग्रमा अहिले टिम सबै पक्षमा अब्बल बनेको छ।’

‘यसपालि ५ नयाँ अनुहार टोलीमा अटाएका छन्, नयाँ खेलाडीलाई अन्तर्राष्ट्रिय अनुभव कम भएकाले अलि प्रेसर अनुभव गरे पनि उत्कृष्ट प्रदर्शन गर्नेमा आशावादी छौं’ भट्टले थपे। 

पछिल्लो समय भएका प्रतियोगिताको प्रदर्शनका आधारमा नेपाल भलिबल संघले २५ खेलाडी बन्द प्रशिक्षणमा बोलाएर प्रशिक्षण दिएको थियो जसबाट १२ खेलाडीको टुङ्गो अघिल्लो साता संघले दिएको थियो । टोलीमा कप्तान इमबहादुर राना मगर, ईश्वर थापा (लिब्रो), कुल बहादुर थापा, धन बहादुर भट्ट, मान बहादुर श्रेष्ठ, हरि अधिकारी र नरेन्द्र गिरी सहित नयाँ अनुहार दीपकराज जोशी, दिनेश गिरी, राजु थकाली, सुरेन्द्र बम, विनोद चन्द (लिब्रो) रहेका छन्।

यस अघि हङकङविरुद्ध दुई तथा मकाउसँग खेलेको एक मैत्री खेलमा नेपालले जित हाँसिल गर्दै उच्च मनोबल बटुलेको नेपाली टोली पदक ल्याउने उद्देश्यका साथ बंगलादेश जान लागेको हो।

प्रतियोगितामा नेपालले लगातारको च्याम्पियन किर्गिस्तान, काजाखस्तान, ताजकिस्तान, तुर्कमिनिस्तान, बंगालदेश, अफगानिस्तान, भुटान र माल्दिभ्स गरी ९ राष्ट्रले सहभागिता जनाउँदै छन्।

प्रकाशित: ६ वैशाख २०७५ ०१:४७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App