coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
अर्थ

तीन कराेडमा जुुस उद्योग

फलफूल उद्योगबारे जानकारी लिँदै मन्त्री चौधरी । तस्बिर : निर्मल घिमिरे/नागरिक

बर्दिया– कृष्णसार फलफूल प्रशोधन केन्द्र गुलरियाले तीन करोड लगानीमा जुस उद्योग सञ्चालनमा ल्याएको छ । गुलरिया नगरपालिका–५ मा रहेको कृष्णसार फलफूल प्रशोधन केन्द्रले बुधबारदेखि औपचारिक रुपमा जुस उत्पादन सुरु गरेको हो।

प्रारम्भिक चरणमा तीन करोडभन्दा बढी लगानी रहेको उक्त उद्योगको बुधबार प्रदेश ५ का भौतिक पूर्वाधार विकास मन्त्री वैजनाथ चौधरी र सांसदद्वय तिलक शर्मा, कविराम चौधरी संयुक्त रुपमा उद्घाटन गरे । स्थानीय उत्पादनमा आश्रित रहेर केन्द्रले जुस उत्पादन गर्ने लक्ष्य लिएको छ । जुस उद्योगमा प्रारम्भिक चरणको लगानी तीन करोड रुपैयाँ नाघेको कृष्णसार फलफूल प्रशोधन केन्द्रले जनाएको छ।

‘उद्योग स्थापनाले समग्र मुलुकको आर्थिक उन्नतीमा टेवा पुर्‍याउने र बेरोजगारी समस्या अन्त्य हुन सघाउँ पुग्नेछ,’ उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री चौधरीले भने, ‘प्रदेश समृद्ध बनाउन पनि यस्ता उद्योग सञ्चालन गर्न जरुरी छ ।’ कृषिलाई आधुनिकीकरण गर्दै बेरोजगारी समस्या हल गर्न भर्खरै सार्वजनिक नीति तथा कार्यक्रममा औद्योगिकीकरणमा जोड दिएको उनले बताए।

मन्त्री चौधरीले भूगोल, संस्कृति र स्रोत–साधनका हिसाबले प्रदेश ५ अगाडि रहेको अवस्थामा उद्योगले देशलाई नै समृद्धिको बाटोमा अघि बढाउन सहयोग पुग्ने धाणा राखे । किसानले उत्पादन गरेका वस्तुवाट अर्गानिक जुस उत्पादन गरेर किसानका उत्पादनलाई उद्योगले प्रवर्द्धन गर्नुपर्नेमा वक्ताहरुले जोड दिए।

स्थानीय किसानको जीविकोपार्जन सहयोग पुर्‍याउन साना तथा मझौला आयस्तर वृद्धि आयोजनाले उद्योगमा लगानी गरेको छ । उद्योग सञ्चालनका लागि आयोजनाले ७२ लाख अनुदानस्वरुप सहयोग गरेको निर्देशक गोर्कण अर्यालले जानकारी दिए । ‘किसानको उत्पादन खपतका लागि आयोजनाले लगानी गरेको छ,’ उनले भने, ‘प्रत्यक्ष रुपमा किसानको फाइदाका लागि उद्योगले पुलको काम गर्ने छ।’

२०७१ देखि निर्माणाधीन उद्योगमा बेल, केरा, आँपलगायत पाँचवटा ब्रान्डका जुस प्रारम्भिक चरणमा उद्योगले उत्पादन गर्नेछ । जुस र कोपिला मिनरल वाटर उत्पादन हुने उद्योग सञ्चालक अमर खड्काले बताए । ‘लामो समयपछि उद्योगलाई मुर्त रुपमा दिइएको छ,’ उनले भने, ‘सुरुवातसँगै यसलाई विस्तार गर्दै लगिने छ।’

उद्योग स्थापनाले बेरोजगारी समस्याको अन्त्य गर्न सघाउ पुग्ने उनको भनाइ छ । उद्योगमा एक हजार २४ जनालाई प्रत्यक्ष रोजगारी दिने उद्योगको कार्ययोजना रहेको उनले बताए । किसानले उत्पादन गरेका वस्तु कच्चा पदार्थका रुपमा प्रयोग गरिने सञ्चालक खड्काले जानकारी दिए।


 

 

प्रकाशित: ६ वैशाख २०७५ ०१:१३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App