४ वैशाख २०८१ मंगलबार
समाज

बस बजारिँदै नदीमा

चितवन- नारायणगढ–मुग्लिन सडक खण्डमा शुक्रबार बिहान सबेरै ग१ख ३७९० नम्बर बस त्रिशुलीमा खस्दा २२ को मृत्यु भएको छ। घटनामा १६ घाइते छन्। नदीमा केही हराइरहेको जनाइए पनि संख्या यकिन छैन। जिल्ला प्रहरी कार्यालय, चितवनका अनुसार घटनास्थलमा २० जनाको शव फेला परेकोमा दिउँसो थप एक जना मृतक भेटिएको छ। घाइते अवस्थामा उद्धार गरिएका १७ मध्ये एक जनाको उपचार क्रममा निधन भएको थियो।

शुक्रबार अबेरसम्म १८ शव सनाखत भएको चितवन प्रहरीको भनाइ छ।

सनाखत भएका मृतकमा रौतहटका चित्तरञ्जन यादव, प्रमोद राम, राकेश यादव, बृजकिशोर कुसवाहा, गणेशकुमार साह, राजेशप्रसाद यादव, जोग्गु साह, जोगेन्द्र गिरी, कामेश्वरप्रसाद, सेखसाजिद आलम, सचिनप्रसाद यादव र सन्ध्या श्रीवास्तव छन्। त्यस्तै, भारतका छेकन ठाकुर, शंकर ठाकुर, रामसागर भगत र नथुनी चौधरीको पनि सनाखत भएको चितवन प्रहरीले जनाएको छ। चालक पोखराका लोकराज पौडेलको पनि निधन भएको छ। पोखराकै चित्रबहादुर बोहराको पनि सनाखत भएको छ।

घाइतेमध्ये १२ जनाको चितवन मेडिकल कलेज, चार जनाको भरतपुर पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ।

दुर्घटनास्थल बस्तीदेखि केही पर मात्र थिएन, सडकबाट हेर्दा नदेखिने कोप्चेरो ठाउँमा थियो। बस नदीमै खसेका कारण घाइतेको आवाज सडकसम्म पुग्न पनि कठिन थियो। घटनास्थल खोज्न प्रहरी टोलीलाई समेत हम्मे पर्‍यो। दुईपटक ओहोरदोहर गर्दा मात्रै प्रहरीले घटनास्थल भेट्टाएको थियो।

दुर्घटनामा घाइते रौतहटका रितेश ठाकुरले घटनालगत्तै चितवन जिल्ला प्रहरी कार्यालयको कन्ट्रोल रुममा फोन गरेर जानकारी दिएका थिए। त्यसपछि खोजीमा आएको प्रहरी टोलीको सम्पर्कमा रहेर उनले प्रहरीलाई दुर्घटनास्थल देखाउन सहयोग गरे।

रौतहटको इनरवारी–४ बस्ने २८ वर्षीय ठाकुर शिक्षक सेवा आयोगको परीक्षा दिन गौरबाट पोखरा जाँदै गरेको उक्त बस चढेका थिए। गन्तव्यमा नपुग्दै बस दुर्घटनामा पर्‍यो। टाउकोमा चोट लागेका उनको अहिले भरतपुरस्थित चितवन मेडिकल कलेज शिक्षण अस्पतालको न्युरो आइसियुमा उपचार भइरहेको छ।

'बस सडकबाट खसेर बजारिँदै सिधै नदीमा पुग्यो। मान्छे चिच्याउने, कराउने गर्न थाले। म कसो–कसो बाहिर निस्कें। साना नानी कराएको आवाज पनि आएको थियो। मोबाइल झरेको रहेनछ। प्रहरीको १०० नम्बरमा डायल गरें,' रितेशले सुनाए।

रितेशको फोन आउनासाथ चितवन जिल्ला प्रहरी कार्यालयले इलाका प्रहरी कार्यालय मुग्लिन र सिमलतालमा रहेको प्रहरी बिटलाई खोजीका लागि निर्देशन दियो। 'मुग्लिन नपुग्दै हो भन्नेसम्म जानकारी थियो, घटनास्थलबारेमा फोन गर्नेले ठ्याक्कै कहाँ हो भन्न सकेका थिएनन्,' चितवन जिल्ला प्रहरी कार्यालयका उपरीक्षक (एसपी) वसन्त कुँवरले भने।

बिहानको साढे तीन बजे प्रहरी कन्ट्रोल रुममा फोन आएको थियो। मुग्लिन र सिमलताल प्रहरी जुगेडीसम्म गयो, पहिलोपटक ठाउँ चिन्न सकेन। अँध्यारो थियो। त्यसपछि प्रहरी रितेशसँग लगातार फोन सम्पर्कमा रहेर सिट्ठी फुक्दै, साइरन बजाउँदै सडकमा हिँड्न थाले। घटनास्थलनजिकै आएपछि रितेशले फोनबाटै संकेत गरे, उनीहरू रोकिए। सिलित्त परेको भीरबाट चिप्लेर बस सडकबाट झट्टै नदेखिने ठाउँमा थियो।

'यस्तो कोप्चेरो ठाउँमा खसेको बसबारे फोन सम्पर्क नभएको भए तत्काल थाहा पाउने सम्भावना थिएन, हामीले थाहा पाएको एक घन्टाभित्रै उद्धारको काम सुरु भयो,' एसपी कुँवरले भने, ‘सडकबाट बस खसेको संकेत पाए पनि पुग्ने ठाउँ सहज थिएन। दुई सय मिटर सिधै भीर छिचोलेर कसरी जाने?'

प्रहरी अर्को बाटो खोजेर घटनास्थल पुगे। त्यो बेलासम्म चितवन कुरिनटारस्थित नेपाली सेना र सशस्त्र प्रहरीको विपद् व्यवस्थापन टिम पनि आइसकेको थियो। घइते र शव सिधै ल्याउन गाह्रो थियो। विपद् व्यवस्थापन टिमको दुईवटा र एउटा निजी र्‍याफ्िटङ बोटमार्फत शव र घाइतेलाई लगभग ५ सय मिटर तल पुर्‍याएर सडकमा ल्याइएको थियो।

भीरबाट चिप्लेर नदीमा पुगेको बसको सुरुमा धेरै भाग पानीमाथि थियो। नदीवरै पाखामा केही केटाकेटी र घाइते थिए। शव बसमा थिए। टुक्राटुक्रा भएको बसबाट शव झिक्दै गर्दा बढेर आएको भेलले बस छोप्यो। 'समयमै खबर नपाएको भए घाइतेलाई उद्धार गरेर उपचारका लागि अस्पताल लैजान सकिन्नथ्यो, पानीले शव बगाएर लैजाने खतरा पनि थियो,' एसपी कुँवरले भने।

प्रकाशित: ११ भाद्र २०७३ ०१:२० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App