८ वैशाख २०८१ शनिबार
शिक्षा

चेपाङ्ग र तामाङ बालबालिकाको मुख्यमन्त्री अभिभावक

मकवानपुर– प्रदेश नम्बर ३ का मुख्यमन्त्री डोरमणि पौडेलले दुई बालबालिकालाई सामुदायिक विद्यालयमा भर्ना गरी विद्यार्थी भर्ना राष्ट्रिय अभियान शुरु गरेका छन्। मकवानपुरको पश्चिमीक्षेत्र मनहरी गाउँपालिकाका आर्थिक अवस्था कमजोर रहेका परिवारका तामाङ्ग बालक, चेपाङ्ग बालिकालाई विद्यालयमा भर्ना गरेका हुन्।

नेपाल सरकारले गरेको अभियान अन्तर्गत उनले मनहरी गाउँपालिका ६, सुनाचुरीस्थित राष्ट्रिय माध्यमिक विद्यालयमा मनहरी ६, जोगीटारका ६ वर्षिय सञ्जित ब्लोन र मनहरी ६, चौकिटोलकी ६ वर्षिया जेसिका प्रजालाई कक्षा १ मा भर्ना गरिदिएका हुन्।

छोराछोरीलाई बिद्यालयमा पढाउन आर्थिक समस्या झेल्दै आएका चेपाङ र तामाङ परिवारले मुख्यमन्त्री पौडेलले छोराछोरी पढाईदिने भएपछी खुसी ब्यक्त गरे। भिमबहादुर ब्लोन र शर्मिला ब्लोनको २ छोरा र १ छोरीमध्ये सञ्जित कान्छा छोरा हुन् भने ज्ञानबहादुर प्रजा र हरिमायाँ प्रजाकको ५ छोरी र ३ छोरामध्ये जेसिका कान्छी छोरी हुन्। 

मुख्यमन्त्री पौडेलले बालबालिकाहरुका लागि विद्यालय पोशाक, जुत्ता, स्कुल ब्याग, किताव तथा स्टेशनरी सामग्रीको ब्यवस्था गरेका थिए। कार्यक्रममै प्रदेशसभा साँसद ओम घलानले स्थानीय सुनिल चेपाङलाई अभिभावकत्व ग्रहण गरेर राष्ट्रिय माध्यमिक विद्यालयमा कक्षा २ मा भर्ना गरे। 

मुख्यमन्त्री पौडेलले बालबालिका भविष्यको कर्णाधार भएकाले परिवारको आर्थिक अबस्था कमजोर भएकाको पढाउने खर्च ब्यहोर्न सबै सचेत नागरिक जिम्मेवार हुनुपर्ने बताए। जनप्रतिनिधि, उद्योगी, ब्यवसायीले अभिभावकत्व लिएर १ बर्ष बालबालिकालाई पढ्ने ब्यवस्था मिलाउन सके धेरैले पढ्न पाउने बताउँदै उनले देशको लागि ठूलो उपलब्धी हुने बताए। आफुले संरक्षकत्व लिएका बालबालिकाको एक बर्षभरी शिक्षा, स्वास्थ्य, स्टेशनरी सामग्री, खाजा ब्यवस्थापन गर्ने बताउँदै मुख्यमन्त्री पौडेलले एक बर्षपछि सबै बालबालिकाको जिम्मा नेपाल सरकारले लिने बताए।

कार्यक्रममा प्रतिनिधिसभा साँसद विरोध खतिवडा, प्रदेशसभा साँसदहरु जुनली श्रेष्ठ, ओम घलान, मनहरी गाउँपालिकाका अध्यक्ष एकराज उप्रेती, पूर्व साँसदहरु गोविन्दराम चेपाङ्ग, राजाराम स्याङ्गतानलगायतको उपस्थिती रहेको थियो।

प्रकाशित: ५ वैशाख २०७५ १५:२४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App