coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

बारबरा एडम्स खोजी पत्रकारिता सम्मान नागरिककर्मी पौडेललाई

काठमाडौं यस वर्षको बारबरा एडम्स खोजी पत्रकारिता पुरस्कार नागरिक दैनिकका दिलिप पौडेललाई प्रदान गरिने भएको छ। बारबरा एडम्स खोजी पत्रकारिता

सम्मान, निर्णायक समितिको बैशाख ३ गते बसेको बैठकले पत्रकार पौडेललाई उक्त सम्मान दिने निर्णय गरेको हो। यो सम्मानको राशी रु १ लाख १ रुपैयाँ रहेको छ । उक्त सम्मान आगामी २०७५ वैशाख ११ गते मंगलबार लोकतन्त्र दिवस तथा स्वर्गीय बारबरा एडम्सको जन्मजयन्तीको अवसर पारेर आयोजना गरिने विशेष समारोहमा पूर्व राष्ट्रपति डा. रामवरण यादवले प्रदान गर्ने बारबरा फाउण्डेसनले जनाएको छ।

बारबरा फाउन्डेसनले आह्वान गरेको सार्वजनिक अपील अनुसार २०७४ चैत १६ (मार्च ३१, २०१८) भित्र ४५ वटा आवेदनहरु परेका थिए । त्यसमध्येबाट निर्णायक समितिको ३ चरणको छनौट प्रक्रियाबाट पत्रकार पौडेलले नागरिक दैनिकमा प्रकाशित गरेको नेपाल आयाल निगम नेतृत्वबाट भएको सिलसिलावद्ध भ्रष्टाचार तथा अनियमितता सम्बन्धी रिपोर्ट उत्कृष्ट भएको फाउण्डेसनले जनाएको छ।

फाउन्डेसनले यस वर्षदेखि बारबरा एडम्स खोजी पत्रकारिता सम्मान, निर्णायक समितिको सिफारिस बमोजिम छनौटमा परेका उत्कृष्ट ५ रिपोर्टहरु मध्येबाट प्रोत्साहन सम्मान प्रदान गर्ने निर्णय गरेको छ । सन् २०१७ का लागि सो सम्मान ‘क्रसर डनको दबदबा’ शीर्षकको खोजी रिपोर्टका लागि पत्रकार कल्पना भट्टराईलाई प्रदान गर्ने निर्णय गरिएको छ । उक्त सम्मान राशी रु १० हजार १ रुपैयाँ रहेको छ।

छनौट प्रक्रियाका ३ चरण मध्ये निर्णायक समिति उत्कृष्ट १० लेख÷रचनालाई गहनता पूर्वक अध्ययन गरी उत्कृष्ट ५ रिपोर्ट छनौट गरेको थियो । उत्कृष्ट ५ रिपोर्टहरुमा पत्रकार पौडेलको रिपोर्ट, कान्तिपुर दैनिकमा प्रकाशित पत्रकार कृष्ण आचार्यको एनसेलको कर छलि सम्बन्धी सिलसिलावद्ध रिपोर्ट, हिमाल खवरपत्रिकाका पत्रकार रामेश्वर बोहराको संवैधानिक निकायका पदाधिकारीहरुबाट हुने सवारी खरिद तथा दुरुपयोग सम्बन्धी रिपोर्ट, रिपब्लिका दैनिकका पत्रकार विष्णुप्रसाद अर्यालको स्वास्थ्य क्षेत्रमा हुने गरेको बौद्धिक चोरी सम्बन्धी रिपोर्ट र अन्नपूर्ण टुडे राष्ट्रिय साप्ताहिकमा प्रकाशित ‘क्रसर डनको दबदबा’ शीर्षकमा प्रकाशित रिपार्ट परेका थिए।

स्वर्गीय बारबरा एडम्स पेशाले पत्रकार तथा लेखिका थिइन्। पत्रकारले आफनो कलममार्फत, अझ खोजी पत्रकारिताको माध्यमबाट समाजमा हुने भ्रष्टाचारलाई कम गर्न सकिन्छ भन्ने उनको विश्वास थियो। नेपालमा खोजी पत्रकारिताको संस्थागत विकास होस् र आफ्नो नामसमेत अमरकृति रहोस भन्ने हेतुले उनले १० लाखको अक्षय कोष रहने गरी बारबरा एडम्स खोजी पत्रकारिता सम्मान को स्थापना गरेकी थिइन्।

प्रकाशित: ५ वैशाख २०७५ ११:३६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App