६ वैशाख २०८१ बिहीबार
समाज

अंग्रेजलाई पराजित गरेको सम्झनामा निकालियो भगवती रथयात्रा (फोटो फिचर)

पाल्पा-नेपाली सेनाले अंग्रेजलाई युद्धमा हराएको सम्झनामा पाल्पामा सिन्दुर जात्रा गरी भगवती रथयात्रा निकालिएको छ। पाल्पाको ऐतिहासिक महत्व बोकेको भगवतीको १ सय ९८ औं भगवति जात्रा निकालिएको हो।

  पाल्पामा रहेको चण्डिप्रसाद गणले भगवतिको रथलाई दिउँसो एक बजे सलामी दिएर ३ पटक मन्दिर परिक्रममा गराएपछि रथ निकालिएको थियो। रथयात्रालाई जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयले बलि चढाएपछि तानसेनको परिक्रममा गराइएको थियो । कुमाल समुदायका युवाहरुले रथ नगर परिक्रमा गराएका हुन् । जात्राका अवसरमा पाल्पाभरी सिन्दुर जात्रा समेत गरिएको छ । जात्राको अघिल्लो दिनदेखी नै एशियाको ठूलो ढोका मूलगेट समेत खुला गरिएको थियो।

 जात्राको लागि करिब ३ लाख खर्च लागेको भगवती गुठीका अध्यक्ष राजेश्वर उदयले बताए। ‘यसवर्षको जात्रामा करिब ५० हजार भक्तजनहरुले प्रत्यक्ष अवलोकन गरेका छन् । ऐतिहासिक महत्व बोकेको जात्रालाई राष्ट्रिय पर्वको रुपमा लिनुपर्छ ।’ सरकारले सहयोग गरे धार्मीक वैदेशिक पर्यटनमा प्रवद्र्धन गर्न जात्राको भूमिका महत्वपूर्ण हुने अध्यक्ष उदय बताउँछन्।

  जात्राको अवलोकनका लागि गुल्मी, अर्घाखाँची, स्याङ्जा, पर्वत, कास्की, रुपन्देही लगायतका जिल्लाबाट श्रद्धालु भक्तजनहरु पाल्पा आइपुगेका थिए। रथयात्रा अवलोकन गर्नकालागि पूर्व गृहमन्त्री माधव घिमिरे, पूर्व उद्योगमन्त्री सोमप्रसाद पाण्डे तथा जिल्लाका उच्च ओहोदामा रहेर सेवा गरिसकेका विशिष्ट व्यक्तिहरु समेत गृह जिल्ला जात्रा अवलोकनकालागि आएका थिए।

पाल्पाली प्रशासकको रुपमा कर्णेल उजिर सिंह थापाको नेतृत्वमा नेपालले वि.सं. १८७१ पौष देखी १८७२ जेठसम्म भएको अग्रेजसँगको युद्धमा विजय हासिल गरेको थियो। यहि सम्झनामा वि.सं.१८७७ देखी निरन्तर रुपमा प्रत्येक बर्ष पाल्पामा विजयउत्सव मनाउने परम्परा चल्दै आएको छ। घरेलु हातहतियार, सेनाको संख्या कम भएको अवस्थामा समेत बुटवल क्षेत्रलाई अंग्रेजको हातमा पर्न नदिन कर्णेल उजिर सिहं थापाले युद्धमा विजयी भएमा मन्दिर बनाई सिन्दुरजात्रा गर्ने भाकल गरेका थिए। दुई पटक सम्म बुटवल जितगढी क्षेत्रमा भएको युद्धमा बिजयी भएपछि कर्णेल उजिरसिंह थापाले १८७२ देखी ७६ सम्म मन्दिर निर्माण गरी भगवति जात्रा मनाउन थालिएको थियो।

विजय उत्सव प्रत्येक बर्ष भाद्र कृष्ण नवमीको दिन भगवतिको रथजात्राको सञ्चालन हुँदै आएको छ । यो जात्रालाई काठमाण्डौं पछिको दोस्रो ठूलो जात्राको रुपमा लिने गरिन्छ । अंगेज साम्राज्यवादको आक्रमणबाट मुलुकलाई जोगाउन जितगढी विजय गरेको इतिहास छ।

 

 

खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App