७ वैशाख २०८१ शुक्रबार
समाज

एक अर्ब बढीको सम्पत्ति दान गर्ने शाहलाई अभिनन्दन

नेपालगन्ज – नेपालगन्जको फुलटेक्रास्थित फत्तेबाल आँखा अस्पताललाई एक अर्ब बढीको सम्पत्ति दान गर्ने श्रीजंग शाहलाई नागरिक अभिनन्दन गरिएको छ।

शाहलाई बुधबार बिहान रथारोहणसहित बजार परिक्रमा समेत गराइएको थियो। स्थानीय होटल स्नेहबाट नेपाल प्रहरीको ब्याण्ड बाजासहित सुरु भएको अभिनन्दन रथ यात्रा विपी चोक, धम्बोझी चोक हुदै फुलटेक्रास्थित आँखा अस्पताल परिसरमा पुगेको थियो। यात्रामा नागरिक समाज, चिकित्सक, स्वास्थ्यकर्मी, वकिल, नेपाल प्रहरी, सशस्त्र प्रहरी लगायतको सहभागिता रहेको थियो।

आँखा अस्पतालका प्रबन्धक डा. कौशलकुमार बर्माका अनुसार ९३ वर्षीय श्रीजंग शाह र पत्नी ९० वर्षीया रुद्रकुमारी शाहले काठमाडौं, कान्तिपथमा रहेको दुईतले घर र तीन रोपनी तीन आना जग्गा नेपालगन्जको अस्पताललाई दिएका हुन्। विगत ३० वर्षदेखि शाह आँखा अस्पतालका संरक्षकको रुपमा रहेको बर्माले बताए। शाहले केही समयअघि मात्र पत्नी रुद्रकुमारीको सहमतिमा मरणोपरान्त अस्पतालका नाममा जग्गा दान गरेका थिए।

शाहका बुवाआमा उक्त अस्पतालका संस्थापक हुन्। बुवा फत्तेजंग शाह र आमा बालदिव्येश्वरी शाहले तीन दशकअघि फुल्टेक्रामा रहेको आफ्नो घर र एक बिघा जग्गा अस्पताललाई दान गरेका थिए। उनीहरूकै नाममा आँखा अस्पतालको नामकरण गरिएको छ।

हाल अस्पतालको नाममा साढे ४ बिघा जग्गा प्राप्त भइसकेको बताइएको छ। उक्त अस्पतालमा प्रदेश ५, ६ र ७ सहित भारतका विभिन्न जिल्लाबाट आँखाको उपचारका लागि बिरामीहरू आउने गरेका छन्। दाता शाहलाई प्रदेश पाँचका मुख्यमन्त्री शंकर पोखरेलले एक समारोहका बीच बुधबार सम्मान गर्ने कार्यक्रम समेत रहेको बर्माले जानकारी दिए।

प्रकाशित: ५ वैशाख २०७५ ०७:५७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App