२०७५ लाई सरसफाइ वर्ष बनाऔँ

बुधबार, ०५ बैशाख २०७५, ११ : ४१ नागरिक

46


खेम शर्मा 

‘नेताज्यू, मन्त्रीज्यूहरू त काठमाडौँ बाहिर जाँदा जहाजबाट जानुहुन्छ क्यारे । कृपया एकपटक कलंकीबाट गाडी चढेर थानकोटसम्म गइदिनोस् र त्यहाँका जनताले भोगेको पीडा हेरिदिनोस्।

धुलाम्मे वातावरण र अस्तव्यस्त सडकका कारण नागरिकको दैनिकी कति कष्टपूर्ण बन्दैछ भन्ने कुरा हेरिदिनुभयो भने मात्र पनि स्मार्ट सिटी बनाउने तपाईंहरूको पार्टीको घोषणपत्रको हिंसा कसरी भइरहेको छ भनेर थाहा पाउनुहुनेछ ।’ करिब पन्ध्र दिनजति अघिको एकजना कलंकी निवासी स्थानीयको फेसबुकमा यो स्टाटसको सँगसँगै गुर्जुधारा र गोदामका नागरिकले सडकको धुलोले आफूहरूको जीवनयापन नै बर्बाद भएको भन्दै जुलुस निकाले, सडक जाम गराए । ‘धुलोविरुद्ध जुुलुस’ नाम दिइएको सो चक्काजाममा स्थानीयको माग थियो— धुलो सफा गरियोस्, बाटो चाँडै बनाइयोस्।

 यो हालत अहिले लगभग ९० प्रतिशत काठमाडौँँको छ । सडक वरिपरिका रुखको पात हरियो छैन, धुलोले खैरो छ । धुलो नछिरेको कतै कुनै चर बाँकी छैन । मास्कले काम गर्न छोडिसक्यो, धुलोको मात्रा दिन प्रतिदिन बढ्दै छ । तर यसको नियन्त्रणको पहल कहीँकतैबाट सुरु भएको भान हुन पाएको छैन । सरसफाइका भरपर्दा पहलकदमीका बारेमा कतै पढ्न पाइएको छैन ।

हुनत राजधानीको यो हालत धुलोले मात्र गराएको छैन, यहाँको संरचना नै सफा गर्न सकिएको छैन । सरसफाइ भनेको धुलो, हिलो पुछेर या पात टिपेर वस्तु तथा संरचना टल्काउने वा पन्छाउने मात्र होइन । सफा गर्नु भनेको फोहोर नगर्नु र सिंगो वातावरण सफा राख्नु हो । सफा वातावरणले मानिसको शारीरिक स्वास्थ्य तन्दुरुस्त राख्न सघाउने त छँदै छ, मानसिक स्वास्थ्यमा पनि योगदान नै गर्छ । वातावरण सफा हुँदा बाह्य वस्तु मात्र सफा हुने होइन कि मानिसको मनमस्तिष्क पनि स्वच्छ र स्वस्थ रहन्छ ।

यसले मानिसमा सकारात्मक सोचको विकास गराउँछ । मानिसको दिमाग सफा भइदिँदा सकारात्मक सोचको विकास हुन्छ र यसले गर्दा समाजमा हत्या, हिंसा, भ्रष्टाचार, कुरीति जन्मिने ठाउँ पाउनेछैन । त्यसैले सरसफाइलाई मानिसको अत्यावश्यक र आधारभूत आवश्यकताभित्र राख्न जरुरी छ।फोहोर हामीले नै गरेर भएको हो । त्यसैले फोहोरै नगरे सफा गर्नुपर्दैन भन्ने भावना सबै मानिसमा विकास गर्नसक्नु पनि सफा गर्नु सरह हो । फोहोर नभए सफा गर्नै पर्दैनथ्यो । त्यसैले अहिलेको विश्वव्यापी सरसफाइ अभियान फोहोर सफा गर्ने या संरचना टल्काउनेमा मात्र सीमित छैन।

यो भावनाको विकास गर्नु सरसफाइ अभियान नै हो । यो दिगो अभियान हो, जसले रोग लागिसकेपछि त्यसको उपचार खोज्नेभन्दा पनि रोग लाग्नै नदिने काम गर्नेछ । हामीले अहिले सफा गर्ने मात्र नभएर फोहोर नगर्ने बानीको विकास गर्नु अझ बढी जरुरी छ । यो सकारात्मक सोचलाई देशव्यापी बनाउन सकिएला कि भनेर हामीले नेपालमा केही समयदेखि सफाइ अभियान थालेका छौँ र यसले हामीलाई केही संरचनागत र मानसिक परिवर्तन ल्याइदिएको छ।

जस्तो कि विदेशबाट स्वदेश आउँदा सबैभन्दा पहिलो पाइला टेक्ने त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल र विश्वका हिन्दूहरूको आस्थाको केन्द्र पशुपतिनाथ क्षेत्र केही समययतादेखि सफा देखिएको छ । त्यहाँ पुगेका मानिसहरूले सोसियल मिडियामा यी क्षेत्रका बारेमा प्रशस्तै लेखेका र देखाएका छन् । यी साझा र पवित्रस्थलमा छोटो समयमा सीमित साधन र स्रोतबाटै भएको स्वयंसेवी काम उदाहरणीय रूपमा स्थापित गर्न सफल भएकाले पनि यो आलेखका लागि थप आत्मबल मिलेको छ । स्वयंसेवी नै भए पनि यसले एक अभियानकै रूप लिएको छ र पशुपति क्षेत्रमा यो कार्यको निरन्तरता अर्काे सुखद समाचार हो ।

स्वयंसेवी हातले टल्काएको यो क्षेत्रमा म प्रमुख अभियन्ताको गर्व रहनुलाई मैले सौभाग्य ठानेको छु ।   साथै विगत ५ वर्षदेखि वाग्मती सफाइ महाअभियान सुरु भएको र आजको दिनमा यसले देशव्यापी रूप लिई टोल, सहर, नदी सफाइ अभियानमा लाग्न सम्पूर्ण नेपालीलाई उत्पे्ररित गरिरहेकाले पनि यो अभियान सफल बनाउन थप मद्दत पुग्नेछ भन्ने विश्वास लिएका छौँ ।
यस अभियानलाई अझ तताउन र नेपालमा सरसफाइको कार्यलाई वार्षिक मुख्य कार्यक्रमका रूपमा समेटी निरन्तरता दिन २०७५ लाई राष्ट्रिय सरसफाइ अभियान वर्षका मनाउन सकिन्छ भन्ने हाम्रो प्रस्ताव हो।

यो अभियानको अगुवाइ नेपाल सरकारले गर्नुपर्छ र यस्तो कार्यमा राज्यले आफ्नो देशव्यापी समग्र संयन्त्रलाई लगाउन सक्छ । सरकारले स्वदेशी समग्र संयन्त्र र गैरआवासीय नेपाली संघसँग पनि संघका विश्वका शाखाहरूको आह्वान गरी सहयोग लिन सक्छ । संघले नेपालमा सरसफाइको काम कसरी गर्नसक्छ भन्ने बारेमा विस्तृत कार्ययोजना बनाएर पनि उनीहरूलाई संलग्न गराउन सकिन्छ ।

यो सरसफाइ वर्ष अभियानले पहिलो चरणमा कम्तीमा पनि यहाँका तीर्थस्थल, देवस्थल, पर्यटकीय एवं पुरातात्विक तथा सांस्कृतिक र ऐतिहासिक स्थल, सडक, सरकारी अस्पताल लगायतका देशका सबै क्षेत्रहरूलालाई सफा गर्न सकिन्छ । यसका लागि समय, श्रम, सीपकोे खाँचो छ र त्यो सरकारको आह्वानबाट जुट्न सक्छ । तर केही गरौँ भन्ने भावना भएका स्वदेश र विदेशका जाँगरिला नेपाली हातहरूले पनि आफ्नो श्रम र सीप तथा स्वयंसेवा प्रदान गर्न सक्नेछन् ।यो सरसफाइ वर्षको प्रमुख उद्देश्य विशेषगरी तीनवटामात्र राख्न सकिन्छ।

पहिलो अहिले भइरहेकै फोहोर सफा गर्ने, दोस्रो नागरिकमा फोहोर नगर्ने भावना जागृत गराउने र तेस्रो चरणमा अबदेखि सरसफाइमा संलग्न जनशक्तिबाटै आगामी दिनमा पनि सफा गर्ने बारेमा सीप हस्तान्तरण गर्ने जसले गर्दा भोलि आफ्नो ठाउँको सफा आफैँ गर्न सकियोस् । यसो गर्न सकिएमा सरसफाइको कार्य सरकारी प्राथमिकतामा पर्नसक्छ र भोलिका दिनमा नियमित र संस्थागत हुँदै जानेछ । यससम्बन्धी कार्यक्रमहरू माथिका उद्देश्यका आधारमा तयार गर्ने र २०७५ सालभर यसलाई अभियानका रूपमा सञ्चालन गर्न सकिन्छ ।

देशव्यापी रूपमा तालिम तथा जनचेतनामूलक कार्यक्रमहरू सञ्चालन गर्ने । विभिन्न चरणमा कार्यक्रमहरू विभाजन गर्ने, जस्तो कि सफाइ अभियान, तालिम, सीप हस्तान्तरण, जनजागरण एवं आवश्यकताअनुरूप अन्य पनि । सफाइ अभियानको नेतृत्व नेपाल सरकार र यसका आवश्यक निकायले गरे पनि यो अभियानले एउटा टोल सुधार समितिको सदस्यदेखि गाउँ–गाउँमा रहेका आमा समूहसम्मका सदस्यलाई सक्रिय बनाउन सकिन्छ।

यस कार्यका लागि सरकारी संरचनाहरूका अतिरिक्त गैरआवासीय नेपाली संघ, पर्यटन र सरसफाइ मन्त्रालय र यिनका देशव्यापी सबै कार्यालय, पर्यटन बोर्ड, पर्यटनसँग सम्बन्धित संघसंस्थाहरू, होटल एसोसिएसन अफ नेपाल, ट्राभल्स एन्ड टुर्स, एजेन्सी, होम स्टे एसोसिएसन, प्याब्सन, सम्बन्धित जिल्लाका जिल्ला समन्वय समिति, स्थानीय निकायहरू, महिला समूहहरू, टोल सुधार समितिहरू, विद्यालय विश्वविद्यालय, गैरसरकारी संघसंस्थालगायतको सक्रिय सहभगिताका साथै नीतिगत र कार्यगत संलग्नताको एउटा दीर्घकालीन एवं दरिलो संयन्त्र राष्ट्रिय रूपमा निर्माण हुनेछ।

यसै अभियानबाट विद्यार्थीलाई उनीहरूको कोर्ससँग मिल्ने गरी सरसफाइ र हरियालीका विषयमा प्रेरित गर्न सकिन्छ ।एक थुकी सुकी, सय थुकी नदी भनेजस्तै मिलेर गर्‍यौँ भने हामीले हाम्रो जन्मघर चम्क्याउन सक्छौँ । मिश्रको पिरामिड होस् या रोम सहर एक रातमै बनेको होइन । यी दुई संरचनाको पनि जग पहिलो अथवा एउटै इँटाले बसालिएको हो।

यही ठानेर हामीले पनि तोकिएको जिम्मेवारी पूरा गर्नेमात्र नभई यसलाई सिर्जनामा बदल्ने प्रयास गर्‍यौँ भने सफा नेपालको निर्माण धेरै टाढा छैन । त्यसैले अहिले नै र हामीले नै सुरु गरेनौँ भने कहिले र कसले गर्ला ?  
(संयोजक, सफा नेपाल उपसमिति, एनआरएनएआइसिसी)







यसमा तपाईको मत


अन्य समाचार

नेपाल कै पहिलो लाइफस्टाइल अटो फेस्टिवल - फ्री पास कसरी लिने?

नेपाल कै पहिलो लाइफस्टाइल अटो फेस्टिवल - फ्री पास कसरी लिने?

अन्य अटो शो भन्दा भिन्न हुने र महिन्द्रा मोविलिटी सोलुसनको पूरा रेन्जको प्रदर्शनी हुने ...

सबैभन्दा ठूलो ब्याट्री भएको स्मार्टफोन

सबैभन्दा ठूलो ब्याट्री भएको स्मार्टफोन

आइफोन XS म्याक्सको भन्दा ७ गुणा ठूलो ब्याट्री ...

घरमा स्मार्ट लाइट

घरमा स्मार्ट लाइट

घरलाई स्मार्ट बनाउने पहिलो कदम ! ...

के हो वायरलेस चार्जिंग ?

के हो वायरलेस चार्जिंग ?

आजभोलि वायरलेस चार्जिंग स्मार्टफोनको जल्दोबल्दो फिचर बनेको छ । ...

ल्यापटप र कम्प्युटर ढिलो खुल्छ ? यस्तो छ समाधान

ल्यापटप र कम्प्युटर ढिलो खुल्छ ? यस्तो छ समाधान

सुरु सुरुमा फास्ट खुल्ने गरेको कम्प्युटर अहिले आएर ढिलो खुल्न थालेको छ ? कारण थुप्रै हुन सक्छन् । समाधान भने...

स्मार्टफोनमा दुई वा बढी क्यामराको महत्व के ?

स्मार्टफोनमा दुई वा बढी क्यामराको महत्व के ?

स्मार्टफोनमा डबल क्यामरा अहिलेको जल्दो बल्दो ट्रेन्ड बनेको छ ...

लन्च भयो रिअलमीका स्मार्टफोनहरु

लन्च भयो रिअलमीका स्मार्टफोनहरु

रिअलमी चाइनिज कम्पनी अप्पोको उप-ब्राण्ड हो जुन सायोमीको मि सिरिज स्मार्टफोनसंग टक्कर लिनका लागि लन्च गरिएको थियो ...

गुगल प्लसको अन्त्य

गुगल प्लसको अन्त्य

सन् २०११ को जुनमा फेसबुक र ट्वीटरलाई टक्कर दिनका लागि गुगलले गुगल प्लस लन्च गरेको थियो ...