१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
खेल

मेइन्जको रेलिगेसन टार्ने प्रयास

बर्लिन – चिर प्रतिद्वन्द्वी फ्रेइबर्गमाथि २–० को विजयी नतिजा निकाल्दै मेइन्जले जर्मन बुन्डेसलिगाको रेलिगेसनबाट बाँच्ने आशा जीवित राखेको छ।

पहिलो हाफको अन्तिम मिनेटमा पाब्लो डी ब्लासिसले गरेको पेनाल्टी गोलमा मेइन्जले अग्रता लिएको थियो । जर्मन रेफ्री गुइडो विन्कम्यानले पहिलो हाफ अन्त्य भएको सिटी फुके पनि मेइन्जका खेलाडीले फ्रेइबर्गका मार्क ओलिभर केम्फको ह्यान्ड भएको भन्दै पेनाल्टीको अपिल गरेपछि उनले भिडियो सहायक रेफ्री (भिएआर) प्रविधिको सहयोग लिएका थिए।

भिएआरमा केम्फले अन्तिम सेकेन्डमा पेनाल्टी बक्समा ह्यान्ड गरेको देखिएपछि मेइन्जले पेनाल्टीको अवसर पाएको थियो । रेफ्रीको निर्णयपछि मैदानबाट बाहिरिसकेको फ्रेइबर्गका खेलाडीलाई पुनः मैदानमा बोलाइएको थियो।

‘यो तीतो अनुभव हो, तर हामीसँग रेफ्रीको निर्णय स्वीकार गर्नुको विकल्प छैन,’ फ्रेइबर्गका खेलकुद निर्देशक योचेन सायरले मध्यान्तरअघि दिइएको पेनाल्टीतर्फ संकेत गर्दै भने।

मेइन्जलाई पेनाल्टी दिइएको निर्णयको विरोध गर्दै समर्थकले मैदानमा बोतल प्रहार गरेपछि दोस्रो हाफको खेल ७ मिनेटपछि मात्र सुचारु भएको थियो।

७९औं मिनेटमा डी ब्लासिसले गोल गर्दै मेइन्जको जित पक्का गरेका थिए । डी ब्लासिसले रोबिन क्वाइसनको पासलाई पोस्टको दिशा दिएका थिए।

यस जितपछि ३० खेलमा ३० अंक जोडेको मेइन्ज १५औं स्थानमा उक्लिँदा समान खेलमा समान अंक जोडेको फ्रेइबर्ग १६औं स्थानमा झरेको छ।

प्रकाशित: ५ वैशाख २०७५ ०४:०४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App