coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

छाउप्रथा हटाउन धामी झाँक्री सक्रिय

छाउप्रथा नमान्ने सातबुँदे शपथ लिँदैबाजुराको बडिमालिका नगरपालिका क्षेत्रका धामीझाँक्री। तस्बिर : कृष्ण /नागरिक

बाजुरा – बडिमालिका नगरपालिका क्षेत्रका धामीझाक्री छाउप्रथा हटाउन सक्रिय भएका छन् । नगरपालिकाले गरेको कार्यक्रममा धामीझाक्रीले कुप्रथा नमान्ने शपथसहित लिखित प्रतिबद्धता व्यक्त गरेका छन् ।

गलत सामाजिक मान्यता र कानुनी रूपमा अनुचित कार्य हटाउन आफूहरू बाधक नबन्ने र छाउगोठ भत्काउन आफै सक्रिय हुने उनीहरूले प्रतिबद्धता जनाएका हुन् । नगरपालिका क्षेत्रका तीनवटै साबिकका गाविसमा आयोजित कार्यक्रममा सातबुँदे प्रतिबद्धतापत्रमा हस्ताक्षरसहित मौखिक रूपमा शपथसमेत खाएको बडिमालिका नगरपालिका–२ का अध्यक्ष डम्मर महतले बताए।

नगरपालिकाले महिलासँग उपप्रमुख कार्यक्रमअन्तर्गत सामाजिक सचेतना कार्यक्रम सञ्चालन गरिरहेको छ।लैंगिक हिंसा तथा छाउप्रथा न्यूनीकरणका लागि सरोकारवालासँगको छलफल कार्यक्रममार्फत प्रतिबद्धता गर्न लगाइएको नगर उपप्रमुख कविता विष्टले बताइन् । धामीझाक्री, पुरोहितपुजारीलाई सामूहिक रूपमा उपस्थित गराई शपथ खुवाइएको हो।

  प्रतिबद्धता तथा शपथपत्रमा आजका मितिबाट महिनाबारी भएका महिलालाई कुनै प्रकारका विभेद नगर्ने र घरबाट टाढा असुरक्षित गोठमा नराख्ने र भएका गोठ भत्काउने, छिछि र दुरदुरको व्यवहार नगर्ने र अरूलाई पनि नगर्न सचेत गर्ने, जातीय तथा लैंगिक विभेद नगर्ने शपथ खाएका छन्।

उनीहरूले २० वर्ष नपुगी हुने विवाहका पक्षमा नबोल्ने र विवाह भएमा कसैको भोज तथा जन्ती पुरोहितका रूपमा उपस्थित नहुने, सामाजिक सुधारका लागि अन्धविश्वास र रुढिवादी आस्थाका पक्षमा नलाग्ने, छोरा र छोरीबीच समान व्यवाहार गर्ने तथासार्वजनिक स्थलमा मदिरापान र धूमपान सेवन नगर्ने र गर्नेलाई सचेत गराउने शपथ खाएका छन्।धार्मिक आस्था र धामीझाक्रीका कारण समाजमा जातीय विभेद, छाउप्रथा र बाल विवाहले निरन्तरता पाएको भन्दै नगरपालिकाले यो नयाँ तरिका अपनाएको हो।

नगरपालिकाले साबिक मार्तडी, जुगाडा र बुढीगंगामा वडाध्यक्षको अगुवाइ र नगर उपप्रमुखको उपस्थितिमा खुला छलफल कार्यक्रम आयोजना गरी शपथ खुवाउने र प्रतिबद्धता गराउने कार्य गरेको छ।कडाइ नगरेसम्म परिर्वतन नआउने भएपछि बस्तीस्तरमै पुगेर लिखित प्रतिबद्धता र शपथ खुवाउने काम गरिएको विष्टको भनाइ छ । धामीझाक्रीले पनि आफूहरूकै कारण मात्र छाउुप्रथाले स्थान नपाएको बताएका छन्।

हाम्रै कारणले मात्रै समस्या जीवित रहेको होइन, महिला आफै डर मान्ने गरेकै कारण छाउप्रथा कायम रहेको धामी खड्क गुयालले बताए । ‘हामी बाधक होइनौं, देउतालाईमान्नै पर्छ भनेका छैनौं, महिलाले पुरानो सोचलाई त्याग्न नसक्दा मान्ने चलन कायम रहेको हो,’उनले भने।

धामी जय ल्वारलेमान्छेकै कारण सामाजिक कुप्रथाले स्थान पाएको बताए । उनले भने, ‘देवीदेउताका कारण यसो भएको भन्न मिल्दैन । हामीले सबैका समस्या र बिराममा धामीकै रूपमा झारफुक गरेका छौं, देउताले दलित, साना र ठूला महिला पुरुष छाउसूतक केही भन्दैन, हामीपनि भन्ने छैनौं।’

सासु र बुहारीबीचको झगडा, आपसी द्वन्द्व र समाजको डरले नै सबैले कुप्रथामा विश्वास गरेको धामीहरूको बुझाइ छ । ‘हामीले आजैबाट शपथ खायौं, हामी मान्दैनौं,’ धामी रामे दमाईले भने,‘बडिमालिका २ मा कुनै घरमा छाउगोठ छैनन्, आजै छाउपडी गोठमुक्त घोषणा गरेपनि हुन्छ।’

कार्यक्रममा सबै समुदाय र वडाका धामीझाक्री तथा पुरोहित बोलाएर शपथ खुवाउने र पछि त्यसको प्रभावकारिताबारे निगरानी र कार्यान्वयनको अवस्था अध्ययन गर्ने नगरपालिकाले जनाएको छ । सामाजिक विकृति रोक्न कार्यक्रमले सकारात्मक प्रभाव पार्ने बडिमालिका ३ का अध्यक्ष वीरबहादुर रावलले विश्वास व्यक्त गरे।

प्रचार गरिएजस्तो समस्या नभए पनि थोरबहुत भएकाले रोक्नका लागि यस्ता अभियानले सहयोग गर्ने र त्यसका लागि वडास्तरबाटै दबाब दिने बडिमालिका नगरपालिका १ का अध्यक्ष रामबहादुर कार्कीले बताए । कार्यक्रमको सहजीकरण नगरपालिका महिला शाखा प्रमुख केशरी रोकायाले गरेकी हुन् । नगरपालिकाले असारभित्र नौवटै वडाका सबै गोठ भत्काइसक्ने लक्ष्य लिएको छ।


 

 

 

 

प्रकाशित: ५ वैशाख २०७५ ०२:४१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App