coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
अर्थ

लाखभन्दा बढीको रेमिटेन्स भुक्तानी बैंक खाताबाट

काठमाडौं – नेपाल राष्ट्र बैंकले विदेशबाट रेमिटेन्स पठाउँदा १ लाख रुपैयाँभन्दा माथिको भुक्तानी बैंक खातामार्फत गर्नुपर्ने निर्देशन जारी गरेको छ।

केन्द्रीय बैंकले आगामी साउन १ बाट यो निर्देशन कार्यान्वयनमा आउने जनाएको छ । अहिले भने विदेशबाट रेमिटेन्स पठाउँदा २ लाखसम्म नगदमा भुक्तानी गर्न मिल्छ । आगामी असार मसान्तसम्म २ लाख भुक्तानी गर्न पाइने र नयाँ आर्थिक वर्ष २०७५-७६ सुरु भएपछि साउन १ बाट भने १ लाखभन्दा बढी रेमिटेन्स भुक्तानी बैंक खातामार्फत गर्नुपर्ने केन्द्रीय बैंकले जनाएको छ।

राष्ट्र बैंकको भुक्तानी प्रणाली विभागबाट भुक्तानी सम्बन्धी कार्य गर्न अनुमति लिएका इजाजत प्राप्त बैंक तथा वित्तीय संस्था, भुक्तानी प्रणाली सञ्चालक र भुक्तानी सेवा प्रदायक संस्था÷संयन्त्रका लागि उक्त निर्देशन जारी भएको हो।

‘विदेशमा रहेका नेपाली नागरिकले आर्जन गरेको रकम विद्युतीय माध्यमबाट नेपालमा रेमिटेन्स कम्पनी÷बैंकहरूबाट नियुक्त एजेन्ट वा सब–एजेन्टमार्फत भुक्तानी गर्न सकिने छ,’ राष्ट्र बैंकको निर्देशनमा उल्लेख छ, ‘रेमिटेन्स कम्पनी, एजेन्ट वा सब–एजेन्टमार्फत विदेशबाट पठाएको रकम नेपालमा रहेका बैंकहरूमा प्राप्त भएपछि सम्बन्धित पक्षलाई २०७५ असार मसान्तसम्म २ लाख र साउन १ बाट १ लाखसम्मको रकम नगदमा भुक्तानी गर्न सकिने छ । त्यसभन्दा बढी बैंक खातामार्फत गर्नुपर्ने छ।’

राष्ट्र बैंकका अनुसार रेमिटेन्स कम्पनीबाट जारी गरिएका रेमिटेन्स कार्डमार्फत स्वदेशभित्र सम्बन्धित पक्षलाई रकम भुक्तानी गर्न सकिने छ । रेमिटेन्स कम्पनीले केन्द्रीय बैंकबाट वालेट सञ्चालन अनुमति लिई कारोबार सञ्चालन गरेको अवस्थामा विदेशमा नेपालीले पठाएको रकम नियमानुसार वस्तु तथा सेवाको भुक्तानी गर्न चाहे प्रतिमहिना २५ हजार रुपैयाँसम्म वालेटमा जम्मा गर्न सकिने छ।

 त्यसैगरी भुक्तानी सेवा प्रदायकले एजेन्ट वा सब–एजेन्टमार्फत वालेटमा एकपटकमा अधिकतम ५ हजारसम्म नगद जम्मा गर्न सक्नेछन् । प्रतिदिन अधिकतम १५ हजार र मासिक अधिकतम २५ हजारसम्म जम्मा गर्न सक्नेछन् । भुक्तानी गर्दा पनि यही दरका आधारमा गर्नुपर्ने राष्ट्र बैंकको निर्देशनमा उल्लेख छ।

केन्द्रीय बैंकका अनुसार बैंक तथा वित्तीय संस्थामा रहेको खाताबाट वालेटमा वा एकबाट अर्को वालेटमा रकम ट्रान्सफर गर्दा प्रतिकारोबार १ सयदेखि अधिकतम ५ हजारसम्म र प्रतिदिन अधिकतम १५ हजारसम्म ट्रान्सफर गर्न सकिने छ । भुक्तानी सेवा प्रदायकले सञ्चालन गरेका वालेटमा सोही दिन भुक्तानी गर्ने प्रयोजनका लागि एकपटकमा ५० हजारसम्म ट्रान्सफर गर्न पाइने छ।

त्यस्तै एटिएम जस्ता उपकरणबाट वस्तु वा सेवाको बिल भुक्तानी गर्दा प्रतिकारोबार १ सयदेखि अधिकतम ५ हजारसम्म वा प्रतिदिन अधिकतम १५ हजारसम्म रिचार्ज÷टप अप गर्न सकिने भए पनि मासिक अधिकतम २५ हजारभन्दा बढी रिचार्ज- टप अप गर्न पाइने छैन।

राष्ट्र बैंकले मोबाइल बैंकिङबाट भुक्तानी कारोबार गर्दा एकपटकमा अधिकतम ५ हजारसम्म वा प्रतिदिन अधिकतम १० हजारसम्मको कारोबार गर्न भने पनि मासिक अधिकतम ५० हजारभन्दा बढी भुक्तानी कारोबार गर्न नपाइने जनाएको छ ।

त्यसबाहेक इन्टरनेट बैंकिङबाट भुक्तानी कारोबार गर्दा दैनिक अधिकतम १ लाखसम्म कारोबार गर्न सकिने भए पनि मासिक ५ लाखभन्दा बढी भुक्तानी कारोबार गर्न पाइने छैन । यही माध्यमबाट बैंक तथा वित्तीय संस्थाको खातामा रकम ट्रान्सफर गर्दा एकपटकमा अधिकतम १ लाख र मासिक १० लाखसम्म कारोबार गर्न पाइने छ।

राष्ट्र बैंकका अनुसार डेबिट कार्डबाट न्यूनतम प्रतिकारोबार ५ सयदेखि अधिकतम २५ हजारसम्म नगद झिक्न पाइने छ भने प्रतिदिन अधिकतम १ लाखभन्दा बढी झिक्न पाइँदैन। प्रिपेड कार्डबाट नेपालभित्र प्रतिकारोबार ५ सयदेखि अधिकतम १० हजारसम्म र प्रतिमहिना अधिकतम ५० हजारसम्म नगद झिक्न पाइने छ भने अधिकतम १ लाखसम्मको प्रिपेड कार्ड जारी गर्न सकिने छ।

‘क्रेडिट कार्डबाट नगद कारोबार गर्न पाइने छैन तर ग्राहकलाई नगद अत्यावश्यक भएको अवस्थामा क्रेडिट कार्डको स्वीकृत सीमाको अधिकतम २५ प्रतिशतसम्म झिक्न बाधा पुगेको मानिने छैन,’ राष्ट्र बैंंकको निर्देशनमा उल्लेख छ।  

 

प्रकाशित: ५ वैशाख २०७५ ०१:३१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App