गहुँ बालीमा किसानलाई घाटा

बुधबार, ०५ बैशाख २०७५, ०६ : ५८ रितेश त्रिपाठी

वीरगन्ज – गहुँको खेतीमा यसपालि पनि किसानलाई घाटा परेको छ । लागत अनुसारको भाउ नपाइने त्यसमा पनि चैतको बर्खा । ‘घाटा छ खेतीमा । लागत निकाल्न समस्या छ,’ पर्सा सुपौलीका बिकाउ रामले भने, ‘लागत र मेहनतको बनिहारी (ज्याला) मात्र निस्केको भए हुन्थ्यो ।’ पर्सामा यो वर्ष थोरै खेतमा गहुँ खेती गर्ने साना किसानलाई घाटा परेको छ।

आफ्नै ट्याक्टर, दमकल र थ्रेसर भएकालाई घाटा नपरे पनि लागत मात्र उठेको छ । बिकाउ रामले साहुको १० कट्ठा खेत भाडामा लिएर गहुँ लगाएका थिए । धान बालीबाट साहुलाई दिनुपर्ने बाली चुक्ता गरेपछि गहुँबालीमा चोखै नाफा हुने आसमा उनी थिए । पुसमा खनजोत गरी बीउ हालेका उनको वैशाखको पहिलो साता खेतमध्ये चार कट्ठाको बाली चार मन (एक सय ६० किलो) गहुँ निस्कियो । अरु ६ कट्ठा काट्न बाँकी छ।

गहुँ उत्पादन सोचेजस्तो नभएपछि श्रीमतीसँग खेतमै बसेर गन्थन गर्दै भेटिएका उनी खेतीपाती बाध्यता भएको बताउँछन् । ‘अरु के गर्ने ? कुनै काम छैन, साहुको खेत लिएर वर्षभर मेहनत गर्ने ठाउँ र आस गर्ने आधार हुन्छ,’ उनले भने, ‘नभए हामीजस्ता किसानलाई खेतीमा कहाँ फाइदा हुनु ? नयाँ अन्न घरमा भित्रिन्छ त्यत्ति हो।’

अरुकोमा मजदुरी नगरे खेतीबाट खान पनि नपुग्ने उनको भनाइ छ । मेहनत र खेतीमा परेको लागत जोड्दा घाटा परेको उनकी श्रीमती मनतुरिया देवी बताउँछिन् । गहुँबालीमा ट्याक्टरको जोताइ, बीउ, मल, दमकलबाट सिँचाइ गरी कट्ठामा करिब डेढ हजार रुपैयाँ खर्च परेको रामको भनाइ छ । दुई हजार पाँच सय प्रतिक्विन्टलको भाउमा पर्सामा गहुँ किनबेच भइरहेको छ । उनले कट्ठामा ४० किलो गहुँ उत्पादन गरेका छन्।

अहिलेको बजार भाउ जोड्दा उनले कट्ठामा हजार रुपैयाँको गहुँ उब्जाएका छन् । यो भनेको खेतीमा परेको लागतभन्दा पनि कम हो । श्रीमान र श्रीमतीले गहुँ लगाउने बेलामा पाँच दिन अबेरसम्म खेतमा मेहनत गरेका थिए । सिँचाइ गर्न र मल हाल्ने समयमा दिन दिनभर खेतमा बिताए । बाली भित्र्याउने बेला उनीहरुले चार कट्ठामा दुई दिन मेहनत गरे।वीरगन्जमा सामान्य श्रमिकले पाउने ज्याला प्रतिदिन कम्तीमा पाँच सय रुपैयाँ हो । यो हिसाबले खेती गर्दा करिब १५–२० हजारको मेहनत खेतमा गरेका छन् । उक्त हिसाब उनले जोड्न चाहेनन्।

‘वर्षमा केही समय खेतीमा दिएर भित्र्याएको अन्न हो,’ मनतुरिया देवीले भनिन्, ‘किसानी त हाम्रो कर्म हो, बिग्रियो आफ्नो ठाउँमा छ, अर्को वर्ष धरती माता र आकाशका देउताले साथ दिए भने राम्रो होला ।’ यही आशामा उनीहरु हरेक वर्ष खेती गर्छन् । कहिले लागत र मेहनत बराबरको अन्न एकमुष्ट घरमा भित्र्याउन पाउँछन्, कहिले घाटा पर्दा अर्को वर्ष गर्नुपर्ने मेहनत हिसाब गर्छन् यसैगरी श्रीमान र श्रीमती।

राम्रो बाली भएकाहरुले कट्ठामा ६० किलोसम्म गहुँ उब्जाएका छन् । उक्त अनुपातमा उत्पादन भएका किसानहरुको खेतीमा परेको लागत निस्केको सिबर्वाका किसान बुनिनारायण राउतले बताए । ‘गहुँ बाली ठिकै छ ।पानीले केही नोक्सानी गर्‍यो र भाउ राम्रो छैन, जसले गर्दा किसानलाई मार पर्ने हो,’ उनले भने, ‘भाग्यले बाली झारमै रहँदा पानी पर्‍यो र असिना परेन ।’ मेसिनले नै गहुँ काटिने सुविधा भएकाले अब खलिहानमा लगेर डाँठसहित गहुँ बाली राख्ने र पछि दाइँ गर्ने चलन हटेकाले नोक्सानी कम भएको उनको भनाइ छ । काटेर राखिएको गहुँमा पानी पर्‍यो भने बढी नोक्सानी हुने गरेको छ।  

कट्ठावाला मात्र होइन, बिघामा खेती गर्नेहरु पनि गहुँ बालीबाट सन्तुष्ट छैनन् । मल, बीउ, सिँचाइ र मजदुरी सबै महँगिएकाले खेतीमा लागत बढेको र उपार्जन भएको अन्नको भाउ कम हुने गरेकाले आफूजस्ता किसान मारमा परेको उनीहरु बताउँछन् । खेतीमा लागत त छँदैछ, उत्पादनको मोल नहुनुलाई किसानले अर्को समस्याको रुपमा देखेका छन्।

माटोमा पसिना चुहाएर किसानले कडा परिश्रमका साथै उत्पादन गर्ने गहुँको मूल्य उद्योगीले निर्धारण गर्छन् । ‘मैदा र आटाजस्ता गहुँबाट बन्ने सामान उत्पादन गर्ने कारखानाका सञ्चालकले निर्धारण गर्ने भाउमा आफ्नो मनतुरिया निस्किने गरी किसानबाट हामीले गहुँ किन्छाै,’ गल्ला व्यापारी विनोद साह भन्छन्, ‘वीरगन्जदेखि हेटौंडासम्मका आधा दर्जन त्यस्ता उद्योगले तय गर्ने मूल्यमा किनबेच हुन्छ।’

नेपालमा कृषि उपजको मूल्य तोक्ने सरकारी संयन्त्र नभएकाले किन्नेको सुविधा र फाइदा अनुसार खाद्यान्नको मूल्यमा मनोमानी रहने गरेको व्यावसायिक कृषिका जानकार ललन तिवारी बताउँछन् । कृषि उपजको मनासिब मूल्य किसानको हातमा पुग्ने र कृषिमा पर्ने लागत घटाउने सरकारी नीति र योजना तथा त्यसको सार्थक कार्यान्यवनमा उनले समाधान देखेका छन्।

‘उन्नत जातको बीउ चाहिए जति सरकारले किसानलाई दिन सकेको छैन । बजारमा पाएको भारतीय बीउ किसानले लगाउँदा गहुँ र मकै बाली उत्पादनमा समस्या देखिएको छ,’ तिवारीले भने, ‘किसानलाई सहुलियतको बीउ, चाहिएको मलखाद र सिँचाइको सुविधा दिन सके समस्या नियन्त्रण हुन्छ । किसानीमा घाटा हुन थालेपछि कृषि कर्मप्रति फैलिन थालेको विकर्षण एउटा ठूलो समस्याको रुपमा र बढ्दो क्रममा रहेको विज्ञहरु औंल्याउँछन्।’

पर्सामा यसपालि गहुँ उत्पादनसँगै खेतीको क्षेत्र पनि घटेको देखिन्छ । जिल्ला कृषि कार्यालय पर्साका प्रमुख विरेन्द्रप्रसाद सिन्हाका अनुसार यो वर्ष पर्सामा करिब ३१ हजार हेक्टरमा गहुँ खेती भएको छ । पोहोर योभन्दा पाँँच सय हेक्टर बढीमा गहुँ थियो।   

 

 







यसमा तपाईको मत

अन्य समाचार

सिटी एक्सप्रेस मनी ट्रान्सफरको एजेन्ट् मीट् कार्यक्रम सम्पन्न

सिटी एक्सप्रेस मनी ट्रान्सफरको एजेन्ट् मीट् कार्यक्रम सम्पन्न

सिटी एक्सप्रेस मनी ट्रान्सफरले आफ्नो एजेन्टहरुको लागि एक दिने एजेन्ट भेटघाट र AML/CFT तालिम कार्यक्रम काठमाण्डौं स्थित एलिस् रिसेप्शन्मा सम्पन्न...

सुबिसुको दसैं, तिहार अफर

सुबिसुको दसैं, तिहार अफर

केबल टेलिभिजन, इन्टरनेट र नेटवर्क सेवा प्रदायक कम्पनी सुबिसु केबलनेटले बडादसैं, तिहार तथा छठ पर्वलाई मध्यनजर गर्दै मात्र ९९ रुपैयाँमा...

पोखरामा प्रोग्रेसिभ फाइनान्स

पोखरामा प्रोग्रेसिभ फाइनान्स

प्रोग्रेसिभ फाइनान्सले पोखरा महानगरपालिका–४, चिप्लेढुंगामा शाखा विस्तार गरेको छ । ...

प्राइम बैंकको एकीकृत कारोबार सुरु

प्राइम बैंकको एकीकृत कारोबार सुरु

प्राइम कमर्सियल बैंकले कन्काई विकास बैंक प्राप्त गरी एकीकृत कारोबार सुरु गरेको छ । ...

‘भत्ता होइन उद्यमशीलता बढाऊ’

‘भत्ता होइन उद्यमशीलता बढाऊ’

नेपाली काँग्रेसनिकट उद्यमशील काँग्रेसको आयोजनामा शनिबार सम्पन्न ‘इन्स्पाइरिङ अन्टरप्रेनर्स’ कार्यक्रमका वक्ताले नेपालमा उद्यमशीलता प्रवद्र्धनको आवश्यकता रहेको औंल्याएका छन् । ...

ग्रान्डी सिटीमा कार्यक्रम सम्पन्न

ग्रान्डी सिटीमा कार्यक्रम सम्पन्न

कान्तिपथस्थित ग्रान्डी सिटी अस्पतालले विश्व प्राथमिक उपचार दिवसको अवसर पारेर एक कार्यक्रम सम्पन्न गरेको जनाएको छ । ...

सेञ्चुरी बैंकद्वारा स्कुलमा पोसाक वितरण

सेञ्चुरी बैंकद्वारा स्कुलमा पोसाक वितरण

सेञ्चुरी कमर्सियल बैंकको बनेपा शाखाले विद्यार्थीलाई विद्यालय पोसाक वितरण गरेको छ । ...

हुवावेको ल्यापटपमा माइक्रोसफ्ट विन्डोज प्रयोग नहुने

हुवावेको ल्यापटपमा माइक्रोसफ्ट विन्डोज प्रयोग नहुने

हुवावेले आफ्ना ल्यापटपहरूमा लिनक्सको विशेष वितरण अर्थात् लिनसक डिपिन इन्स्टल गर्ने भएको छ ...

Ncell Footer Ad