८ वैशाख २०८१ शनिबार
समाज

धामीझाँक्रीले खाए छाउपडी कुप्रथा नमान्ने सपथ

बाजुरा– बडिमालिका नगरपालिका क्षेत्रका धामी झाँक्रीले छाउ कुप्रथा नमान्ने सपथसहित लिखित प्रतिवद्धता व्यक्त गरेका छन्। सामाजिक कुमान्यता र कानुनी रुपमा बन्देज कार्यलाई हटाउन आफूहरु बाधक नबन्ने र छाउ गोठ भत्काउन आफै सक्रिय हुने प्रतिवद्धता जनाएका हुन्। 

नगरपालिका क्षेत्रका तीन वटै साविकका गाविसमा आयोजित कार्यक्रममा सात बुँदे प्रतिवद्धता पत्रमा हस्ताक्षर सहीत मौखिक रुपमा सपथ समेत खाएको बडिमालिका नगरपालिका–२ का अध्यक्ष डम्मर महतले बताए। नगरपालिकाले महिलासँग उपप्रमुख कार्यक्रम अन्तर्गत सामाजिक सचेतना कार्यक्रम सञ्चालन गरिरहेको छ।

लैङ्गिक हिंसा तथा छाउ कुप्रथा न्यूनिकरणका लागि सरोकारवालासँगको छलफल कार्यक्रम मार्फत प्रतिवद्धता गर्न लगाईएको नगर उपप्रमुख कविता विष्टले बताएकी छन्। उपप्रमुख विष्ट स्वयंले खपथ समेत खुवाएकी छन्। धामी झाँक्री पुरोहित, धार्मिक आस्थाका पुजारीलाई सामुहीक रुपमा उपस्थिति गराई खपथ खुवाईएको हो।

प्रतिवद्धता तथा सपथ पत्रमा आजका मितिबाट महिनाबारी भएका महिलालाई कुनै प्रकारको विभेद नगर्ने र घरबाट टाढा असुरक्षित गोठमा नराख्ने र भएका गोठहरु भत्काउने, छिछि र दुरदुरको व्यवहार नगर्ने र अरुलाई पनि नगर्न सचेत गर्ने, जातिय तथा लैङ्गिक रुपमा कसैलाई विभेद नगर्ने सपथ खाएका छन्।

२० वर्ष नपुगी हुने विवाहका पक्षमा नबोल्ने र विवाह भएमा कसैको भोज तथा जन्ती पुरोहीतका रुपमा उपस्थिति नहुने, सामाजिक सुधारका लागि अन्धविश्वास र रुढीवादी आस्थाका पक्षमा नलाग्ने, छोरी र छोरीबीच समान व्यवाहार गर्ने र सार्वजनिक स्थलमा मदिरापान र धम्रपान सेवन नगर्ने र गर्नेलाई सचेत गराउने सपथ खाएका छन्। 

धार्मिक आस्था र धामी झाँक्रीका कारण समाजमा जातिय विभेद, छाउ कुुप्रथा र बाल विवाहले निरन्तरता पाएको भन्दै नगरपालिकाले नयाँ तरिका अपनाएको हो। नगरपालिकाले साविक मार्तडी, जुगाडा र बुढीगंगामा वडा अध्यक्षको अगुवाई र नगर उपप्रमुखको उपस्थितिमा खुला छलफल कार्यक्रमको आयोजना गरी सपथ खुवाउने र प्रतिवद्धता गराउने कार्य गरेको छ।

कडाई नगरेसम्म परिर्वतनले स्थान नपाउने भएपछि बस्ती स्तरमै पुगेर लिखित प्रतिवद्धता र सपथ खुवाउने काम गरिएको नगर उपप्रमुख कविता विष्टले बताएकी छन्। धामी झाँक्रीले पनि आफूहरुकै कारण मात्र छाउ कुप्रथाले स्थान नपाएको बताएका छन्। 

हाम्रै कारणले मात्रै समस्या जिवित रहेको होइन, महिला आफै डर मान्ने गरेकै कारण छाउ कुप्रथा कायम रहेको धामी खडक गुयालले बताएका छन्। हामी बाधक होइनौं, देउताले पनि मान्नै पर्छ भनेको छैन्, महिलाले पुरानो सोचलाई त्याग्न नसक्दा मान्ने चलन कायम रहेको हो, गुयालले थपे।

मान्छेकै कारण सामाजिक कुप्रथाले स्थान पाएको हो, देवी देउताका कारण हो, भन्न हुुदैन, हामीले सबैका समस्या र विराममा धामीकै रुपमा झार फुक गरेकै छौं, देउताले दलित, साना ठूलो महिला पुरुष छाउ सुतक केहि भन्दैन, हामीपनि भन्ने छैनौ, धामी जय ल्वारले बताएका छन्। 

सासु र बुहारी बीचको झगडा, आपसी द्धन्द्ध र समाजको डरले नै सबैले मान्ने गरेका छन्, धामी झाँक्री हाम्रो तर्फबाट केही अवरोध हुदैन, हामी बाधक पनि बन्दैनौ, आजैबाट सपथ खाइसक्यौं, हामी मान्दैनौ, स्थानीय धामी रामे दमाईले बताए। बडिमालिका २ मा कुनै घरमा चाउ गोठ छैनन्, आजै छाउपडी गोठमुक्त घोषणा गरेपनि हुन्छ, दमाईले थपे। 

कार्यक्रममा सबै समुदाय र वडाका धामी झाँक्री पुरोहीत बोलाएर सपथ खुवाउने र पछि त्यसको प्रभावकारीता बारे पुन निगरानी र कार्यान्वनको अवस्था अध्ययन गर्ने गरी नगरपालिकाले बताएको छ। सामाजिक विकृति रोक्न कार्यक्रमले सकारात्मक प्रभाव पर्ने बडिमालिका ३ का अध्यक्ष वीरबहादुर रावलले विश्वास व्यक्त गरेका छन्। 

प्रकाशित: ४ वैशाख २०७५ १४:४९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App