८ वैशाख २०८१ शनिबार
राजनीति

राजधानी नसार्न मुख्यमन्त्रीलाई देउवाको आग्रह

मकवानपुर– नेपाली काँग्रेसका सभापति एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले प्रदेश राजधानीहरु अन्यत्र नसार्न आग्रह गरेका छन्। प्रदेश नम्बर ३ का मुख्यमन्त्री डोरमणि पौडेलसँग मंगलबार हेटौंडामा भएको अनौपचारिक भेटमा उनले प्रदेशहरुको अस्थायी राजधानीलाई नै स्थायी गर्न अनुरोध गरेका हुन्।

पूर्वप्रधानमन्त्री देउवाले काँग्रेस नेतृत्वको सरकारले उपयुक्त भएकाले हेटौंडालाई अस्थायी राजधानी तोकेको मुख्यमन्त्री पौडेललाई स्मरण पनि गराए। देउवाले मुख्यमन्त्रीलाई प्रदेशहरुको राजधानी जहाँ छ त्यही राख्न आग्रह गर्दै राजधानी सारे अन्यत्र पनि विवाद हुने र देशभरी भयानक अवस्था आउने बताएको मुख्यमन्त्रीका स्वकीय सचिव अनुप पौडेलले बताए।

प्रदेश नम्बर ३ को प्रदेश राजधानी काभ्रेपलाञ्चोक, नुवाकोट र भक्तपुरलाई बनाउन माग गर्दै प्रदेशसभा सचिवालयमा तीन प्रस्ताव दर्ता भएका छन्। प्रस्ताव दर्ता गराउँनेहरु सत्तारुढ एमाले, माओवादी केन्द्रकै प्रदेश साँसदहरु छन्। एमालेका ३ नम्बर प्रदेशका संसदीय दलका नेता समेत रहेका मुख्यमन्त्री डोरमणि पौडेलले भने प्रदेश राजधानी हेटौंडा नै उपयुक्त रहेको भन्दै काठमाडौं उपत्यकाभित्र कुनैपनि हालतमा राजधानी लान नदिने दाबी गर्दै आएका छन्। यता, नेपाल तरुण दलद्वारा हेटौंडामा आयोजित ३ नम्बर प्रदेशस्तरीय २ दिने प्रशिक्षण कार्यक्रमको उद्घाटन सत्रमा अधिकाँश नेताहरुले प्रदेश राजधानी हेटौंडामै राख्न माग राखेपनि देउवाले कुनै प्रतिक्रिया दिएका थिएनन्।

यसैबिच, प्रदेशको स्थायी राजधानी हेटौंडा कायम गर्न माग गर्दै देउवालाई मकवानपुरका राजनीतिक दल, जनप्रतिनिधि, नीजि क्षेत्र र नागरिक समाजले ज्ञापनपत्र बुझाएका छन्। नेपाल तरुण दलको प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम उद्घाटन गर्न हेटौंडा आएका देउवालाई जिल्ला समन्वय समिति मकवानपुरले मंगलबार ज्ञापनपत्र बुझाएको हो। देउवा सरकारले माघ ३ गते हेटौंडालाई अस्थायी राजधानी तोकेकाले स्थायी बनाउनुपर्ने माग गर्दै ज्ञापनपत्र बुझाईएको जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलालले बताए। प्रदेश राजधानी हेटौंडा आउन–जान अपायक र टाढा भयो भन्ने हल्का र सतही कुराले राजधानी सार्ने जस्तो अपरिपक्व र अदुरदर्शी निर्णय नहुने विश्वास समेत उनीहरुले गरेका छन्।

जिल्ला समन्वय समितिले हेटौंडालाई नै राजधानी कायम गर्नुपर्ने ७ आधारसहित ज्ञापनपत्र बुझाएको हो। विकासमा पछाडी परेको र देशमै सफा र स्वच्छ हेटौंडालाई प्रदेशको राजधानी तोक्ने कार्य अत्यन्त अदुरदर्शी र व्यबहारिक निर्णय भएको समितिको ठहर छ।

ज्ञापन पत्र पढेर सुनाउँदै जिल्ला समन्वय समितिका प्रमुख खुलालले पर्याप्त भौतिक संरचना र जग्गा भएको, ५ वटा राष्ट्रिय राजमार्गले हेटौंडालाई छोएको र प्रदेशका जिल्लाबाट हेटौंडा आउन सहज भएको बताए। काठमाडौं उपत्यकामा सवारी चाप, प्रदुषण, जनघनत्व, भीड र अस्तव्यस्त बढ्दो भएको भन्दै उनले काभ्रेमा राजधानी बनाउँदा त्यसको चाप उपत्यकामै पर्ने दाबी गरे।

जनआन्दोलन र संघीयताको मर्मअनुसार केन्द्रीकृत अधिकार विकेन्द्रीकरणको सिद्धान्तअनुसार केन्द्रीय राजधानीसँग सिमा जोडिएको मकवानपुरको हेटौंडालाई स्थायी राजधानी कायम गरे विकासको नयाँ ढोका खुल्ने तर्क पनि गरे। प्रदेशको राजधानी हेटौंडा तोक्दा कतै विरोध र आन्दोलन नभएकाले मौन सहमती भएको बताउँदै उनले हेटौंडाबाट सार्ने कुरा अघि बढाउँदा अन्य प्रदेशहरुमा पनि राजधानीबारे समस्या आउन सक्ने बताए। 

प्रादेशिक राजधानी हुँदा दंग र उत्साहित भएका जिल्लावासीले राजधानी सार्ने हल्लाबाट अत्यन्त पीडाबोध गर्न थालेको उनको भनाई छ। राजधानीजस्तो गरिमामय बिषयलाई हल्का रुपमा लिने र राजधानीको स्थान परिवर्तन गर्न खोज्ने कार्यले समस्या निम्त्याउन सक्ने चेतावनी पनि ज्ञापनपत्रमा दिईएको छ।

ज्ञापनपत्र बुझेपछि देउवाले आफ्नो नेतृत्वको सरकारले हेटौंडाबाट सार्नको लागि अस्थायी राजधानी नतोकेको बताए। सत्तापक्षकै साँसदले राजधानी सार्न प्रस्ताव दर्ता गराएको बताउँदै उनले हेटौंडाबाट राजधानी कुनैपनि हालतमा नसर्ने दाबी गरे।

ज्ञापनपत्र बुझाउने कार्यक्रममा प्रतिनिधिसभाका साँसद विरोध खतिवडा, काँग्रेसका ३ नम्बर प्रदेशका संसदीय दलका नेता ईन्द्रबहादुर बानियाँ, प्रदेशसभा साँसदहरु प्रेमबहादुर पुलामी, जुनेली श्रेष्ठ, सन्तबहादुर चेपाङ, काँग्रेसका पूर्व जिल्ला सभापति माईकल रामचन्द्र अर्याल, एमालेका जिल्ला उपाध्यक्ष बद्री लम्साल, राप्रपाका नेता मधु अधिकारी, बागमती गाउँपालिका अध्यक्ष दामोदर खनाल, मकवानपुर उद्योग बाणिज्य संघका अध्यक्ष कृष्ण कटुवाल, नारायणी यातायात व्यवसायी संघका महासचिव सरोज खनाल, उद्योग संघ मकवानपुरका अध्यक्ष नवराज अर्याललगायत मकवानपुरका राजनीतिक दल र संघसंस्थाका प्रमुख तथा प्रतिनिधिको उपस्थिती रहेको थियो।

जिल्ला समन्वय समिति मकवानपुरले हेटौंडालाई नै स्थायी राजधानी तोक्न माग गर्दै माओवादी केन्द्रका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाललाई ज्ञापनपत्र बुझाइसकेको छ भने चाँडै  एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीलाई पनि ज्ञापनपत्र बुझाउने जनाएको छ।

यसैबिच हेटौंडा उपमहानगरपालिका–५ सानोपोखरामा स्थानीयवासीको सहयोगमा निर्माण हुने शिव मन्दिरको शिलान्यास गरेका देउवा मंगलबारै काठमाडौं फर्किएका छन्।

प्रकाशित: ४ वैशाख २०७५ १३:१५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App