८ वैशाख २०८१ शनिबार
अर्थ

२ सय ४० सहकारी स्थानीय तहलाई

रामपुर नगरपालिका प्रमुखलाई सहकारी अभिलेख हस्तान्तरण गर्दै प्रजिअ बिष्णुप्रसाद ढकाल। तस्बिरः मुक्ति/नागरिक

पाल्पा – जिल्लाका २ सय ४० सहकारी स्थानीय तहलाई हस्तान्तरण गरिएको छ। डिभिजन सहकारी  कार्यालय अन्तर्गत रहेका बाँकी ४८ सहकारी भने प्रदेश तहमा हस्तान्तरण गरिने भएको हो। जिल्लाका १० वटै स्थानीय तहका प्रमुख–उपप्रमुख र प्रमुख प्रशासकीय अधिकृतलाई अभिमुखिकरण कार्यक्रम गरेर सहकारी हस्तान्तरण गरिएको हो।

सहकारी हस्तान्तरण गर्दै डिभिजन सहकारी प्रमुख कृष्णबहादुर बोहोराले पुनः संरचनामा स्थानीय जनताको आवश्यकता र नीति अनुसार सहकारी व्यवस्थापन, दर्ता, खारेजी तथा कारवाहीका लागि स्थानीय तहलाई अधिकार सहितको अभिलेख हस्तान्तरण गरिएको बताए।

प्रमुख जिल्ला अधिकारी बिष्णुप्रसाद ढकालले गाउँमा सिंहदरबार भन्ने नारालाई वास्तविकतामा परिणत गर्नेगरि अधिकार हस्तान्तरण भएको बताए। उनी भन्छन्, ‘गरिबी न्यूनिकरणको अभियान सहकारीले अवलम्बन गरेको, स्थानीय स्रोत र साधनको व्यवस्थापन तथा परिचालन स्थानीय आवश्यकता अनुसार हुने विश्वास छ।’

हस्तान्तरण भएको सहकारीको अभिलेख ग्रहण गर्दै रामपुर नगरपालिकाका प्रमुख रमणबहादुर थापाले बेलायतबाट सुरु भएको सञ्जालले नेपालमा पनि ऐतिहासिक क्षणको रुप लिएको बताए। ‘अशिक्षित, गरिबी र उत्पीडनमा रहेका जनतालाई विकास र रोजगारको माध्यमबाट समृद्धिको अभियानमा ल्याउन सहकारी सहकार्यताको नमुना सिद्ध हुनेछ,’ थापाले भने, ‘अब स्थानीय तहलाई अवसरका साथै यसले चुनौती थपेको महशुस गरेका छौं।’

जिल्लामा २ सय ८८ सहकारी रहेकोमा दुई वा सो भन्दा बढी जिल्लामा कार्यक्षेत्र भएका सहकारीलाई प्रदेशमा हस्तान्तरण गरिने सहकारी प्रमुख बोहोराले बताए। जिल्लाको रामपुर नगरपालिकामा २८ र तानसेन नगरपालिकामा ५८ सहकारी दर्ता छन्। यस्तै निस्दी गाउँपालिकामा १९, पूर्वखोलामा १५, रम्भामा १९, माथागढीमा २१, तिनाउमा २२, वगनाशकालीमा ४०, रिब्दीकोटमा ३५ र रैनादेवी छहरामा ३२ सहकारी दर्ता छन्।

प्रकाशित: ४ वैशाख २०७५ १०:१६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App