७ वैशाख २०८१ शुक्रबार
समाज

महोत्सवले इलामलाई ‘सन्तोषको सास’

इलाम महोत्सवको उद्घाटन समारोह। तस्बिर: भीम/नागरिक

इलाम – स्थानीय तह पुनः संरचनापछि प्रशासनिक अधिकार गाउँ–गाउँमा प्रत्यायोजन भएर सुनसानझैं बनेको सदरमुकामले ‘इलाम महोत्सव’मा ‘सन्तोषको सास’ फेरेको छ। तीन दिनसम्म चलेको महोत्सवमा भएको हजारौंको जमघट र व्यावसायिक कारोबारले यहाँका बासिन्दा, व्यवसायी हर्षित भएका छन्।

इलाम सदरमुकाम (खलंगा) स्थापना भएको २०० वर्ष पूरा भएको अवसरमा वैशाख १, २ र ३ गते इलाम महोत्सव आयोजना गरिएको थियो। सदरमुकामको ऐतिहासिक पृष्ठभूमि स्मरण गर्ने, जिल्लाको कृषि र  पर्यटन प्रवद्र्धनसँगै ‘समृद्ध इलाम’को लक्ष्यलाई सघाउन महोत्सव आयोजना गरिएको हो।

महोत्सव निकै गौरवसाथ सम्पन्न भएको इलाम नगरपालिकाका मेयर महेश बस्नेतले बताए। ‘महोत्सवमा जनस्तरबाट भएको सहभागिताले सिंगो इलाम नगर उत्साही भएको छ,’ उनले भने, ‘हिजोसम्म इलाम शून्य भयो भन्ने बुझाइ धेरै स्थानीयमा थियो, अहिले महोत्सवको सहभागिताले त्यसो भन्नेहरूलाई नै हौस्याएको छ।’

स्थानीय तह पुनर्संरचना भएपछि सदमुकाममा केन्द्रित प्रशासनिक अधिकार, विकास निर्माणका स्रोत–साधन गाउँपालिकातिर सर्दा सदरमुकामको चाप घट्नेक्रममा छ। यहाँको बसोबास, व्यवसाय, जग्गा किनबेच कारोबारसमेत कम हुँदै गएका बेला महोत्सव आयोजना गरिएको हो। महोत्सवको उदघाटनदेखि समापनसम्म दशौं हजार मानिस सहभागी भइदिनु इलाम सदरमुकामका लागि ‘सुखद् संकेत’ भएको मेयर बस्नेतको भनाइ छ।

‘अब सबै स्थानीय तहले आफूलाई समृद्ध बनाउँँदै मानिसलाई आफूतिर आकर्षित गर्न विविध योजना बनाउनुपर्छ,’ उनले भने, ‘महोत्सवको सुरुको तीन दिन त उद्घाटनमात्रै हो, यो वर्षभर सदरमुकाम स्थापना भएको २०० वर्ष पूरा भएको अवसरमा विविध कार्यक्रम गरिने छ।’ उनले महोत्सवले यहाँको पर्यटन, कृषिलगायत सबै क्षेत्रमा सम्भावनाको ढोका खोलेको बताए। ‘एउटा महोत्सवमा सबैथोक एकैपटक हुने त होइन, महोत्सवले लहर मात्रै चलाउने हो,’ उनले भने, ‘लहर चलेपछि मेलो लाग्छ, मेलो लागेपछि समृद्धिको पाइला अघि बढ्छ।’

महोत्सवमा करिब ३ दर्जन व्यावसायिक स्टल राखिएका थिए । स्टलहरूमा स्थानीय उत्पादनको प्रचार र बिक्री भएपछि व्यवसायीसमेत खुसी भएका छन्। गाउँको कृषिउपज बिक्रीका लागि महोत्सवले सघाएको व्यवसायी र किसान बताउँछन्। महोत्सवमा कति रुपैयाँ बराबरको कारोबार भयो भन्ने हिसाबकिताब आइसकेको छैन। तर, सिंगो जिल्लाका पर्यटकीय क्षेत्रको प्रचार र स्थानीय उत्पादनको बजार प्रवद्र्धनमा महोत्सवले सघाएको इलाम उद्योग वाणिज्य संघले जनाएको छ।

नेपाल एकीकरणका बेला भारतको नागरीगढीमा पुगेर बसेको इलामको सदरमुकाम सुगौलीको सन्धिपछि १८७५ सालमा करफोकमा ल्याइएको थियो। नेपाली सेनाको श्रीनाथ पल्टनले आफ्नो विजयका रूपमा राखेको निसान नै सदरमुकामको संकेत थियो। भारतीय भूभागबाट नजिक पर्ने भन्दै त्यहाँबाट नामसालिङ ल्याएर केही दिन राखेपछि अहिलेको स्थानमा सदरमुकाम सरेको इतिहास छ। इलामको माइस्थानमा विजयको निसान राखिएसँगै अहिलेको स्थानमा सदरमुकाम बसेको इतिहारकार युद्धप्रसाद वैद्य बताउँछन् । ‘यो इतिहास कतै लेखिएको छैन,’ उनले भने, ‘निसान यहाँ राखेको २००औं वर्ष मनाउनु हाम्रा लागि इतिहास सम्झिने अवसर हो।’ यही निसानसहित सदरमुकामको २००औं वर्ष मनाउन महोत्सव आयोजना गरिएको हो।

धरानसँग भगिनी सम्बन्ध
इलाम महोत्सवको सन्दर्भ पारेर इलाम नगरपालिका र धरान उपमहानगरपालिकाबीच भगिनी सम्बन्ध औपचारिक रूपमा स्थापित भएको छ। महोत्सव उद्घाटनसत्रका अवसरमा उपराष्ट्रपति नन्दबहादुर पुनको उपस्थितिमा इलाम–धरान भगिनी सम्बन्धको सहमतिपत्रमा हस्ताक्षर गरिएको हो।

इलाम नगरका मेयर महेश बस्नेत र धरानका मेयर तारा सुब्बाले आपसी हितका लागि भएको सहमतिपत्रमा हस्ताक्षर गरे। दुवै नगरको पर्यटन विकास, कृषिमा आधुनिकीकरण, व्यावसायीकरण, संस्थागत सिकाइ आदानप्रदान, भाइचारा र भ्रातृत्व विकास, युवा तथा खेलकुद आदानप्रदान, स्वास्थ्य सेवामा पहुँच, शिक्षाको गुणस्तरीय विकास व्यापार विविधीकरण लगायतलाई आधार बनाएर सम्बन्ध स्थापना गरिएको सहमतिपत्रमा उल्लेख छ। धरानसँगको भगिनी सम्बन्धले पनि दुवै नगरको समृद्धिमा सहायता गर्ने विश्वास इलाम नगरपालिकाका मेयर बस्नेतले व्यक्त गरे।

धरान उपमहानगरका मेयर तारा सुब्बाले भगिनी सम्बन्धको मर्म विशेषगरी सांस्कृतिक आदान–प्रदान भएको बताए। ‘दुवै ठाउँको पर्यटन विकासका लागि अनुभव साटासाट गर्ने, आपसी सहकार्यमा पर्यटन विकास गर्ने, स्थानीय कृषिउपजको बजारीकरण गर्ने उद्देश्य पनि हो,’ उनले भने, ‘धरानमा भएको कृषिउपज बजारसम्म यहाँको कृषि उत्पादन पुर्याएर अन्तर्राष्ट्रिय बजारसम्म पुर्याउने वातावरण बनाउन यसले सहयोग गर्छ। दुवै नगरपालिकाका अनुभव साट्ने, विकासको अनुभव आदानप्रदान गर्ने, आन्तरिक र सांगठनिक क्षमता कर्मचारीस्तरमा पनि सेयर गर्ने कामको थालनी गर्ने उनले बताए।

प्रकाशित: ४ वैशाख २०७५ ०८:४४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App