८ वैशाख २०८१ शनिबार
खेल

सिटीसामु थप कीर्तिमान रच्ने अवसर

लन्डन – इङ्लिस प्रिमियर लिगमा पाँच खेल बाँकी छँदै उपाधि जितेको म्यानचेस्टर सिटीसामु थप कीर्तिमान रच्ने अवसर जुरेको छ।

सहरी प्रतिद्वन्द्वी म्यानचेस्टर युनाइटेड आइतबार राति घरेलु मैदानमा वेस्ट ब्रोमसँग १–० ले स्तब्ध भएसँगै सिटीको उपाधि पक्का भएको हो।

शनिबार राति टोटेनह्यामलाई वेम्बली रंगशालामा ३–१ ले पराजित गरेपछि सिटी लिग उपाधिनजिक पुगेको थियो । गत साता नै सिटी म्यानचेस्टर डर्बीमा युनाइटेडलाई हराउँदै घरेलु मैदानमा उपाधि उचाल्न चाहन्थ्यो । तर पहिलो हाफ २–० को अग्रता लिएर पनि ग्वार्डिओलाको सिटी ३–२ ले पराजित बनेसँगै उपाधियात्रा थप लम्बिएको थियो । सिटीका लागि यो पाँचौं प्रिमियर लिग उपाधि हो भने पछिल्लो सात सिजनमा सिटीले जितेको यो तेस्रो प्रिमियर लिग उपाधि हो।

बार्सिलोनालाई तीन पटक स्पेनिस ला लिगा र दुई पटक च्याम्पियन्स लिगको उपाधि जिताएका पेप ग्वार्डिओलाको प्रशिक्षणमा सिटीले  प्रिमियर लिगको उपाधि जितेको यो पहिलो पटक हो । उनले बायर्न म्युनिखलाई पनि तीन पटक जर्मन बुन्डेसलिगाको उपाधि जिताएका थिए।

वेस्ट ब्रोमका समर्थकले खेल सकिएपछि मैदानमा नारा लगाउँदै ‘म्यानचेस्टर सिटी, हामीले तिमीहरूलाई उपाधि जिताइदियाैं’ भनका थिए।

युनाइटेडको घरेलु मैदान ओल्ड ट्राफोर्डमा सम्पन्न खेलको ७३औं मिनेटमा वेस्ट ब्रोमका जे रोडरिग्वेजले गरेको गोल सिटीको उपाधि पक्का गर्न पर्याप्त बन्यो । क्रिस ब्रन्टले गरेको कर्नर प्रहार युनाइटेडका नेमान्जा माटिचले राम्रोसँग क्लियर गर्न नसक्दा प्राप्त बललाई रोडरिग्वेजले जाली चुमाएका थिए।

‘च्याम्पियन ! हाम्रा समर्थकमाझ अर्को उपाधिको खुसी साट्न पाउँदा ज्यादै हर्षित छु,’ सिटीका कप्तान भिसेन्ट कोम्पनीले ट्विटरमा लेखेका छन्।

३३ खेलमा ७१ अंक जोडेको युनाइटेड दोस्रो स्थानमा यथावत् छ । जुन शीर्ष स्थानको सिटीभन्दा १६ अंक कम हो । ७० अंक जोडेको लिभरपुल तेस्रो, ६७ अंक जोडेको टोटेनह्याम चौथो, ६० अंक जोडेको चेल्सी पाँचांै र ५४ अंक जोडेको आर्सनल छैटाैं स्थानमा छन्।

लिग समाप्तिका लागि ५ खेलअगावै उपाधि जितेसँगै सिटीले सबैभन्दा छिटो प्रिमियर लिगको उपाधि जित्ने युनाइटेडको कीर्तिमानसँग बराबरी गरेको छ । युनाइटेडले सन् २०००–२००१ मा सर्वाधिक छिटो प्रिमियर लिगको उपाधि जित्ने कीर्तिमान राखेको थियो । लिगमा ५ खेल खेल्न बाँकी हुँदा सिटीले ९ अंक जोडेर सन् २००४–०५ सिजनमा चेल्सीले बनाएको ९५ अंकको कीर्तिमानसँग बराबरी गर्नेछ। 

जारी सिजन २८ खेलमा स्पष्ट नतिजा निकालेको सिटी थप तीन खेल जित्दै चेल्सीले एकै सिजन राखेको ३० जितको कीर्तिमानलाई उछिन्न चाहन्छ । साथै सिटीसामु युनाइटेडको नाममा रहेको १८ अंकको अग्रताका साथ प्रिमियर लिगको उपाधि जितेको कीर्तिमानसमेत तोड्ने सुनौलो अवसर हुनेछ।

गत साता घरेलु मैदान इत्तिहाद रंगशालामा सम्पन्न खेलमा युनाइटेडले २–० ले पछि परेको स्थिति उल्ट्याउँदै ३–२ ले नतिजा आफ्नो पक्षमा पारेसँगै सिटीको प्रिमियर लिग उपाधि जित्ने लक्ष्य पर धकेलिएको  थियो।

तर जोजे माउरिन्होको टोलीले अंकतालिकाको अन्तिम स्थानमा बसेको वेस्ट ब्रोमलाई नतिजा सुम्पिएसँगै सिटीले उपाधि जितेको हो। वेस्ट ब्रोमका समर्थकले खेल सकिएपछि मैदानमा नारा लगाउँदै ‘म्यानचेस्टर सिटी, हामीले तिमीहरूलाई उपाधि जिताइदियाैं’ भनका थिए। ग्वार्डिओला प्रिमियर लिगको उपाधि जित्ने पहिलो स्पेनिस प्रशिक्षक हुन्।

माउरिन्होले सिटी प्रिमियर लिगको उपाधिका लागि सक्षम टोली भएकाले उनीहरूको जितमा कुनै आश्चर्य नभएको प्रतिक्रिया दिए।

‘सिटी उत्कृष्ट टोली हो । ढिलो–चाँडो उनीहरूले उपाधि उचाल्थे । त्यसैले यसमा आश्चर्थ मान्नुपर्ने कुनेै पक्ष छैन,’ माउरिन्होले भने, ‘गत साता सिटीविरुद्धको जितपछि हाम्रा खेलाडी बढी नै आत्मविश्वासी बने  । त्यस खेलमा जस्तो जितको भोक र उत्कृष्ट लय आजको खेलमा देखिएन । हामीले कमजोर प्रदर्शन गर्यौं । जुन नतिजा सुम्पिन पर्याप्त बन्यो।’

आइतबार स्वान्सी सिटीविरुद्धको खेलपछि मात्र सिटीले औपचारिक रूपमा उपाधि उचाल्नेछ।
‘उपाधि जितको खुसी समर्थकसँग साट्न चाहन्छु,’ यसै सिजन सिटीका सर्वाधिक गोलकर्ताको कीर्तिमान राखेका स्ट्राइकर सर्जियो अग्विरोले भने।

प्रिमियर लिगअन्तर्गत आइतबार सम्पन्न अर्काे खेलमा न्युक्यास युनाइटेडले आर्सनललाई २–१ ले पराजित गर्यो।
१४औं मिनेटमा एलेक्जान्डर लाकाजेट्ले गरेको गोलमा आर्सनलले अग्रता लिएको थियो। त्यसको १५ मिनेटपछि नै एउजे परेजले गरेको गोलमा न्युक्यासल खेलमा फर्किएको थियो। ६८औं मिनेटमा म्याट रिट्चेले गरेको गोल न्युक्यासललाई स्पष्ट तीन अंक जोड्न पर्याप्त बन्यो।

प्रकाशित: ४ वैशाख २०७५ ०४:५१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App