७ वैशाख २०८१ शुक्रबार
खेल

साल्केको पकड मजबुत

बुन्डेसलिगाअन्तर्गत आइतबार डर्टमन्डविरुद्ध गोल गरेपछि साल्केका येभहेनी कोनोपयान्का। तस्बिरः एपि

बर्लिन – चिर प्रतिद्वन्द्वी बोरुसिया डर्टमन्डलाई २–० ले पराजित गर्दै साल्केले आइतबार जर्मन बुन्डेससलिगाको दोस्रो स्थानमा पकड थप मजबुत पारेको छ।

५०औं मिनेटमा येभहेनी कोनोपयान्काले गरेको गोलमा साल्केले अग्रता लिएको थियो । कोनोपयान्काले पासलाई पोस्टको दिशा दिएका थिए।

खेल सकिन ८ मिनेट बाँकी हुँदा नाल्डोले गोल गर्दै साल्केको जित पक्का गरेका थिए । सन् २०१४ पछि साल्केले डर्टमन्डमाथि हात पारेको यो पहिलो जित हो । जारी सिजनको पहिलो भेटमा डर्टमन्ड र साल्केले ४–४ को बराबरी खेलेका थिए।

‘सिजनको अन्त्यमा ‘डर्बी’ मा हात पारेको जितको विशेष अर्थ छ,’ साल्केका खेलकुद निर्देशक क्रिस्टियन हेइडेलले भने, ‘हामी जितको हकदार थियौं।’

यस जितपछि ३० खेलमा ५५ अंक जोडेको साल्के दोस्रो स्थानमा यथावत् छ । जुन शीर्ष स्थानको बायर्न म्युनिखभन्दा २० अंक कम हो । समान ५१ अंक जोडेका बायर लेभरकुसन र डर्टमन्ड क्रमशः तेस्रो र चौथो स्थानमा छन् । त्यस्तै ४७ अंक जोडेको आरबी लिपजिग पाँचाैं र ४६ अंक जोडेको होफेनहेइम छैटाैं स्थानमा छन्।

आइतबारै सम्पन्न अर्काे खेलमा आरबी लिपजिगले वेडर ब्रेम्यानसँग १–१ को बराबरी खेलेको छ । २८औं मिनेटमा निकाल्स मोइसान्डरले गरेको गोलमा ब्रेमनले अग्रता लिएको थियो । तर ५०औं मिनेटमा एड्मोला लुकम्यानले गोल गर्दै लिपजिगलाई खेलमा फर्काएका थिए।

प्रकाशित: ४ वैशाख २०७५ ०४:२८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App