coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अन्तर्राष्ट्रिय

राष्ट्रसंघीय आग्रह माल्दिभ्सद्वारा अस्वीकार

गत मार्च ६ मा श्रीलंकाको राजधानी कोलम्बोस्थित माल्दिभ्सको दूतावास अगाडि प्रदर्शन गर्दै पूर्व राष्ट्रपति मोहम्मद नासिद समर्थक । फाइल तस्बिर : रोयटर्स

माले– पूर्वराष्ट्रपतिलाई निर्वाचनमा सहभागी हुन दिनेबारे राष्ट्रसंघीय निकायले गरेको प्रस्ताव माल्दिभ्सले अस्वीकार गरेको छ।

माल्दिभ्सका पूर्वराष्ट्रपति मोहम्मद नासिदलाई यसै वर्षको अन्त्यतिर हुने राष्ट्रपतीय निर्वाचनमा प्रतिस्पर्धा गर्न दिन संयुक्त राष्ट्रसंघीय मानवअधिकारसम्बन्धी निकायले सोमबार गरेको आग्रह माल्दिभ्सले अस्वीकार गरेको बताइएको छ।

नागरिक तथा राजनीतिक अधिकारसम्बन्धी महासन्धीप्रति राष्ट्रहरुको समर्पणबारे हेर्ने स्वतन्त्र विज्ञहरुको प्यानल संयुक्त राष्ट्रसंघीय मानवअधिकार कमिटीले माल्दिभ्सका पूर्वराष्ट्रपति नासिदलाई आतंकवादको मुद्दामा गरिएको दोषी ठहर अस्पष्ट कानुनको आधारमा भएको र त्यो स्वतन्त्र तथा निष्पक्ष रूपमा कानुनी उपचार पाउने उनको अधिकारको हनन भएको बताएको छ।

‘कुनै पनि व्यक्तिको राजनीतिक अधिकार असाधारण परिस्थिति र निश्चित अवस्थामा मात्रै स्थगित वा प्रतिबन्ध गर्न सकिन्छ र स्वतन्त्र र निष्पक्ष कानुनी उपचार पाउने अधिकारमाथि गरिने प्रतिबन्ध राजनीतिक स्वेच्छाचारिता हो,’ राष्ट्रसंघीय मानवअधिकार कमिटीका सदस्य साराह क्लेभेल्यान्डले जारी गरेको विज्ञप्ति उद्धृत गर्दै समाचार एजेन्सी रोयटर्सले जनाएको छ ।माल्दिभ्सका पूर्वराष्ट्रपति नासिदलाई १३ वर्ष जेल सजाय तोकिए पनि बेलायतमा स्वास्थ्योपचार गर्न गएकै बेलादेखि उनी निर्वासित जीवन बिताइरहेका छन्।

उनलाई माल्दिभ्सको अदालतले १६ वर्षसम्म राष्ट्रपतीय निर्वाचनमा उम्मेद्वार बन्न अयोग्य ठहरसमेत गरेको छ ।राष्ट्रसंघीय मानवअधिकार कमिटीले नासिदविरुद्धको मुद्दामा भएको ध्यानाकर्षणका बारे एक सय ८० दिनभित्र माल्दिभ्स सरकारबाट सूचना चाहेको र उक्त विवरण माल्दिभ्सको आधिकारिक भाषामा बृहत्त रूपमा प्रचार गर्नुपर्ने मागसमेत गरेको छ ।

राष्ट्रसंघीय कमिटीको यस्तो प्रकारको रिपोर्टलाई माल्दिभ्स सरकारले भने तत्कालै अस्वीकार गरेको बताइएको छ ।‘पूर्वराष्ट्रपति नासिदको मुद्दामा उनको कुनै अधिकार हनन भएको भन्ने भनाइ माल्दिभ्स सरकार अस्वीकार गर्दछ । नासिदलाई तोकिएको सजाय कानुनसंगत र अन्तिम भएको विषय पनि सरकार राख्न चाहन्छ,’ माल्दिभ्स सरकारले जारी गरेको विज्ञप्तिमा जनाइएको छ।

विज्ञप्तिमा नासिदलाई फरार अभियुक्तका रूपमा व्याख्या गर्दै संयुक्त राष्ट्रसंघीय कमिटीले माल्दिभ्स सरकारले पेश गरेको सूचनालाई पर्याप्त मात्रामा नहेरेको बताइएको छ ।
‘देशको न्याय प्रशासनलाई हस्तक्षेप गर्न राष्ट्रपति पदमा बहाल रहँदा वा नरहँदा देशको बहालवाला न्यायाधीशलाई अपहरण गर्न आदेश दिएको विषयमा पूर्व राष्ट्रपति नासिदलाई दोषी ठहर गरिएको हो,’ विज्ञप्तिमा जनाइएको छ।

करिब चार लाख जनसंख्या रहेको माल्दिभ्स पर्यटनका लागि विश्वभर प्रख्यात छ । तर, प्रजातान्त्रिक रूपमा देशको प्रथम राष्ट्रपतिका रूपमा निर्वाचित नासिदलाई सन् २०१२ मा बलजफ्ती तबरले पदबाट हट्न बाध्य बनाइएपछि राजनीतिक अस्थीरता बढिरहेको छ ।
यसै वर्षको फ्रेबुअरी महिनामा देशको सर्वोच्च अदालतले नासिदसहित नौ जना विपक्षी नेतामाथिको आरोप खारेज गर्ने फैसला गरेपछि माल्दिभ्सका वर्तमान राष्ट्रपति अब्दुल्लाह यामिनले राज्य संकटकालको घोषणा गरेका थिए।

४५ दिने लामो संकटकालका बेला यामिन प्रशासनले माल्दिभ्सका पूर्वराष्ट्रपति माउमुन अब्दुल गेउम, प्रधानन्यायाधीश, सर्वोच्च अदालतका अर्का एक न्यायाधीश र एक जना प्रशासकलाई सरकार हटाउने कार्यमा लागेको आरोपमा पक्राउ गरेको थियो । चारै जनाविरुद्ध आतंकवाद कानुन अन्तर्गत मुद्दा लगाइएको छ । ती चारै जनाले आफूविरुद्धको आरोप अस्वीकार गर्दै आइरहेका छन्।


 

प्रकाशित: ४ वैशाख २०७५ ०३:४९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App