coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
अन्तर्राष्ट्रिय

राष्ट्रपति बन्न ट्रम्प नैतिक रूपमा अयोग्य छन् : एफबिआई पूर्वप्रमुख

वासिङ्टन– एफबिआईका पूर्वप्रमुख जेम्स कोमेले नैतिक रूपमा डोनाल्ड ट्रम्प अमेरिकी राष्ट्रपति बन्न अयोग्य रहेको र उनले महिलालाई मासुको टुक्राका रूपमा मात्रै लिने गरेको आरोप लगाएका छन्।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गत वर्ष पदबाट वर्खास्त गरेपछि पहिलो पटक टेलिभिजनलाई अन्तर्वार्ता दिँदै कोमेले ट्रम्पप्रति यस्तो धारणा राखेका हुन् । एबिसी न्युजसँगको अन्तर्वार्तामा उनले राष्ट्रपति ट्रम्पले लगातार झुट बोलिरहेको र न्याय प्रदान गर्ने विषयमा पनि हस्तक्षेप गरेको हुनसक्ने बताए।एबिसी टेलिभिजनमा कोमेको अन्तर्वार्ता प्रसारण हुनुभन्दा केही घण्टा अघि राष्ट्रपति ट्रम्प आक्रमक बन्दै उनले कैयौं झुट बोलेको आरोप लगाएका थिए।

आइतबार राति एबिसी टेलिभिजनको ट्वान्टी ट्वान्टी कार्यक्रममा बोल्दै कोमेले भने,‘म यस कार्यक्रममा ट्रम्पलाई मानसिक रूपमै अप्रतिस्पर्धी वा पागलपनको पहिलो चरणमा रहेको भन्न चाहन्न ।’‘मलाई लाग्दैन उनी चिकित्सकीय रूपमा नै राष्ट्रपति पदका लागि अयोग्य छन् । मलाई त उनी नैतिक रूपमा राष्ट्रपति बन्न अयोग्य छन् जस्तो लाग्छ,’ उनले बताए।

‘हाम्रो राष्ट्रपतिले सम्मान दिन जान्नुपर्छ र यस देशको मूल्य तथा मान्यतालाई जोड्नुपर्छ। सबैभन्दा महत्वपूर्ण विषय भनेको सत्य बन्नु हो जुन अब ट्रम्प बन्न सक्दैनन्,’ कोमेले बताए ।कोमेले आफ्नो नयाँ पुस्तक प्रचार अभियानले उनको सबैभन्दा ठूलो वफादारिता आफैप्रति रहेको देखिएको एबिसीमा अन्तर्वार्ता प्रसारण भएलगत्तै ट्रम्पको पार्टीले रिपब्लिकन नेसनल कमिटीमार्फत् निकालेको विज्ञप्तिमा जनाइएको छ।

‘राष्ट्रपतिविरुद्ध कोमेले गरेको प्रतिक्रियाका इतिहासको सबैभन्दा खराब पक्ष भनेको अरु केही नभएर आफ्नै पुस्तक बेच्नका लागि गर्ने जस्तोसुकै कदमको चाहना हो,’ विज्ञप्तिमा जनाइएको छ।अमेरिकी राष्ट्रपति र एफबिआईका पूर्वप्रमुखबीच जारी लामो समयदेखिको विवाद कोमेको प्रकाशोन्मुख पुस्तक ‘अ हाइयर लोयल्टीः त्रुथ, लाइज एन्ड लिडरसिप’ का कारण थप बल्झिने संकेत बाहिरिएको छ।

एफबिआईका पूर्वप्रमुअ कोमे हाल आफ्नो प्रकाशोन्मुख संस्मरणात्मक पुस्तकको प्रचार अभियानमा रहेका छन्।राष्ट्रपति ट्रम्पले एकदमै खराब रूपमा पुनरावलोकन गरिएको कोमेको पुस्तकले ठूला प्रश्न उठाएको बताएका छन् । कोमेलाई फोहोरको डंगुरको संज्ञा दिँदै अमेरिकी राष्ट्रपति ट्रम्पले उनलाई जेल हाल्नुपर्ने बताएका छन्।

ट्रम्प र कोमेबीचको द्वन्द्वको कथा सन् २०१६ मा सम्पन्न राष्ट्रपतीय निर्वाचनबाट सुरु भएको थियो । त्यसबेला कोमे एफबिआईका निर्देशक थिए र उनले राष्ट्रपतिका लागि डेमोक्र्याट उम्मेद्वार हिलारी क्लिन्टनले विदेशमन्त्री रहँदा सरकारी इमेल आफ्नो प्राइभेट सर्भरबाट सञ्चालन गरेको विषयमा अनुसन्धान गरेका थिए । उनले जुलाई २०१६ मा इमेल सञ्चालन गर्ने विषयमा हिलारी क्लिन्टन लापरबाह देखिए पनि उनीविरुद्ध कुनै मुद्दा दायर नगर्ने बताएका थिए।

तर राष्ट्रपति पदका लागि मतदान हुनुभन्दा केही दिन अगाडि अक्टोबर महिनामा उनले क्लिन्टनले दुरुपयोग गरेका थप इमेल भेटिएको भन्दै अमेरिकी सदनलाई एफबिआईले यस विषयमा अनुसन्धानलाई पुनः सुचारु गर्न लागेको पत्र पठाएका थिए । उनले पठाएको पत्र सार्वजनिक रूपमै बाहिरियो र हिलारी क्लिन्टले एफबिआई प्रमुखले ट्रम्पलाई सहयोग गरेको आरोप लगाइन्।

नोभेम्बर ६ का दिन एफबिआईले इमेल मुद्दामा आफूले पुनरावलोकन गर्ने कार्य समापन गरेको र क्लिन्टनविरुद्ध फेरि पनि मुद्दा चलाउन आवश्यक नरहेको बतायो । जब ट्रम्प अमेरिकी राष्ट्रपति बने, कोमेले आफूले ट्रम्पप्रति व्यक्तिगत वफादारिता प्रकट गर्न प्रयास गरेको बताए।

कोमेको यस्तो धारणालाई ट्रम्पले भने आक्रामक रूपमा अस्वीकार गरे । मार्च २०१७ मा जब एफबिआईले अमेरिकी राष्ट्रपतीय निर्वाचन दौरान ट्रम्पको अभियान र रुसबीच भएको भनिएको सम्बन्धबारे अनुसन्धान गर्न थाल्यो त्यसबेला अमेरिकी राष्ट्रपति ट्रम्पले कोमेलाई सार्वजनिक रूपमै राष्ट्रपतिविरुद्ध व्यक्तिगत अनुसन्धान नभइरहेको बताउन दबाब दिएको आरोप बाहिरिएको थियो । कोमेले त्यसबेला पनि आफूले ट्रम्पको यस्तो आदेश नमानेको बताएका थिए।

कोमेकै कारण क्लिन्टनले राष्ट्रपतीय निर्वाचनमा पराजय भोगेको केही डेमोक्र्याट्सहरुले आरोप लगाउँदै आएका छन् भने ट्रम्प पक्षधरले भने उनले रुसी अनुसन्धानलाई लिएर राष्ट्रपतिलाई लक्षित गरेको महसुस गरेका थिए । कोमेलाई अमेरिकी राष्ट्रपति ट्रम्पले गत मे महिनामा बिना कुनै पूर्व जानकारी पदबाट हटाएका थिए । कोमेले आफू एफबिआईको प्रमुखबाट हटाइएको भन्ने जानकारी टेलिभिजनको समाचार हेरेर थाहा पाएको बताउने गरेका छन्।

 

 

प्रकाशित: ४ वैशाख २०७५ ०३:३६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App