८ वैशाख २०८१ शनिबार
राजनीति

'झन्डा फहराउन मन्त्री भएकाे हैन'

काठमाडौँ– नवनियुक्त संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनबहादुर शाहीले आर्थिक समृद्धिको आधारको रुपमा रहेको पर्यटन क्षेत्रको विकासका लागि पूर्वाधार विकास र हवाई सञ्जाल विस्तार गरिने बताएका छन्।

सिंहदरबारमा शुक्रबार पद बहालीपछि मन्त्रालय मातहत निकायका कर्मचारीलाई निर्देशन दिँदै मन्त्री शाहीले पारदर्शी ढङ्गले परिणाममुखी काम गर्न आग्रह गरे।

“हाम्रो मुख्य आयस्रोत पर्यटन हो, देश बनाउने दरिलो आर्थिक स्रोतको रुपमा रहेको पर्यटन मन्त्रालयलाई गतिशील बनाई पर्यटन विकासका लागि पूर्वाधार विकास र हवाई सेवा विस्तारलाई विशेष प्राथमिकताका साथ अघि बढाइनुपर्छ,” मन्त्री शाहीले भने।

उनले पर्यटन प्रवर्द्धनका लागि पूर्वी भेगमा जति गतिविधि छन्, त्यसको तुलनामा पश्चिम र सुदूरपश्चिम पछि परेको भन्दै नीतिगत सुधारसहित पूर्वाधार विकास र हवाई सेवाको पहुँचका लागि काम गरिनुपर्ने खाँचो औँंल्याए।

झन्डा फहराउन मन्त्रालय आएको हैन

पर्यटनमन्त्री शाहीले आफू स्पष्टरुपमा काम गर्न चाहने व्यक्ति भएकाले गाडीमा झन्डा फहराउन मात्र मन्त्रालय आएको हैन भन्दै मन्त्रालयलाई कार्ययोजनासहित परिवर्तन गरेरै छाड्ने प्रतिबद्धता जनाए।

उनले पर्यटन मन्त्रालयलाई नमुनायोग्य परिणाममुखी बनाउन सबैको साथ र सहयोग जरुरत पर्दछ, नीति नियममा कतै बाधा व्यवधान भए तिनलाई सुधार गर्न सकिने धारणा राखे।

एक साताभित्र विमानस्थल सुधार

मुलुकको प्रतिष्ठासँग जोडिएको एकमात्र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सेवा गुणस्तर खस्किएको जनगुनासो बढेका बेला पर्यटन मन्त्री शाहीले एक हप्ताभित्र विमानस्थल सुधार गर्न सम्बन्धित पदाधिकारीलाई निर्देशन दिएका छन्।

“विमानस्थलको शौचालयको दुरावस्था र ‘लगेज’ व्यवस्थापनलाई सुधार गर्नुस्, विमानस्थललाई सफा राख्नुस् एक हप्ताभित्र सुधार देखिनुपर्छ,” उनले भने।

मन्त्री शाहीले राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम नेपाल एयरलाइन्समा जहाज थपेर गुणस्तरीय व्यवस्थापन गरी आन्तरिक विमानस्थल थप तथा सुधारका लागि योजनावद्ध काम गर्न पनि सम्बन्धित पदाधिकारीलाई निर्देशन दिए।

यसैबीच, पर्यटनमन्त्री शाहीले पद बहालीपछि पहिलो निर्णयको रुपमा सङ्घीयताको सन्दर्भमा मन्त्रालयको कार्यक्षेत्र र सङ्गठनस्वरुप व्यवस्थापनका लागि कार्यदल गठन गर्ने निर्णय गरेका छन्।

‘संविधान र ऐनमा व्यवस्था भएअनुसार’ मन्त्रालयको कार्यक्षेत्र सङ्घ, प्रदेश र स्थानीय तहमा कार्यको विश्लेषण गरी बाँडफाँड गर्ने, कानुन परिमार्जन गर्ने र सङ्गठनात्मक संरचना परिमार्जन गरी कर्मचारी व्यवस्थापन गर्नका लागि कार्यदल गठन गर्ने निर्णय गर्नुभएको मन्त्रालयका सहसचिव एवम् प्रवक्ता घनश्याम उपाध्यायले जानकारी दिए।

सो अवसरमा मन्त्रालयका सचिव प्रेमकुमार राईले मन्त्रालयको गतिविधिबारे जानकारी गराउनुभएको थियो। मन्त्रीको स्वागतका लागि मन्त्रालय मातहत निकायका विभागीय प्रमुख तथा कर्मचारीको सहभागिता थियो।

विस २०२५ मा हुम्लाको खार्पुनाथमा जन्मनुभएका मन्त्री शाही हुम्लाबाट प्रत्यक्ष निर्वाचित सांसद हुन्। रासस

प्रकाशित: १० भाद्र २०७३ ०८:५९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App