१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
कला

चाम्लिङको अलिखित लोककथा संकलन

लोकवार्ता संकलन कार्यक्रममा लोककथा सुनाउँदै धितुङका राजकुमार तिलुङ । तस्बिर :दमन/नागरिक

खोटाङ– खोटाङमा चाम्लिङ सम्बन्धी अलिखित लोककथा संकलन गरिएको छ । भाषा आयोगले गत विहीबार दिक्तेलमा ‘प्राज्ञिक तथा सिर्जनात्मक कार्यक्रम लोकवार्ता संकलन तथा अभिलेख’ विषयक कार्यक्रम गरेर जनजिब्रोमा रहेका तर हालसम्म नलेखिएका चाम्लिङ भाषाका लोककथा संकलन गरेको हो।

चाम्लिङसम्बन्धी लोककथा संरक्षण र सम्वर्द्धनका लागि भाषा आयोगले किरात राई चाम्लिङ खाम्बातिमको संयोजन एवं दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको सहकार्यमा कार्यस्थलमै पुगेर जानकार व्यक्तिबाट लोककथा संकलनको काम गरेको हो।

हालसम्म नलेखिएका चाम्लिङ संस्कार, संस्कृति, भूगोलसम्बन्धी लोककथा संरक्षणका लागि चाम्लिङ भाषा जान्ने स्थानीयबाटै चाम्लिङ भाषाका लोककथा संकलन गरिएको भाषा आयोगका उपसचिव लोकबहादुर लोप्चनले बताए । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको सभाहलमा आयोजित प्राज्ञिक तथा सिर्जनात्मक कार्यक्रममा जिल्लाका युवादेखि बुढापाकाले चाम्लिङ जाति सम्बन्धी लोककथा चाम्लिङ भाषामै सुनाएका थिए।

कार्यक्रमका माध्यमबाट चाम्लिङ भाषाका अलिखित २० वटा लोककथा संकलन गरिएको भाषा आयोगले जनाएको छ । कतिपयले लेखेर लोककथा सुनाएका थिए भने कतिपयले मौखिक रुपमा सुनाएका थिए । चाम्लिङ जाति सम्बन्धी लोककथा रेडर्क गरेर चाम्लिङ र खस दुवै भाषामा पुस्तकका रुपमा प्रकाशन गरिने जनाइएको छ।

हालसम्म नलेखिएका पुस्तौंदेखि भनिँदै आए पनि अभिलेख अभावमा चाम्लिङ भाषाका लोककथा लोपोन्मुख भएकाले संरक्षणमा ढिलाइ गर्न नहुने चाम्लिङ भाषाविज्ञ एवं लेखक तिलक चाम्लिङले बताए । ‘चाम्लिङ सम्बन्धी धेरै कथाहरु सुन्न पाइन्छन् । तर ती लोककथा कतै लेखिएका छैनन् । पढ्न पाइँदैन,’ ‘सितिमी’ मासिकका सम्पादक चाम्लिङले भने, ‘यस अभियानले चाम्लिङ भाषाको संरक्षणमा टेवा पुग्छ।’ विभिन्न भाषाभाषीको संरक्षणका लागि नगरपालिकाले प्राथमिकताका साथ काम गरिरहेको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका मेयर दिपनारायण रिजालले बताए।

 

प्रकाशित: ४ वैशाख २०७५ ०३:०५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App