८ वैशाख २०८१ शनिबार
समाज

बुटवल–बेलहिया ६ लेन सडक निमार्ण सुस्त

बुटवल – सडकका दुवै छेउमा थुपारिएका ढुंगा गिट्टी बालुवाको रास। बीचमा ठूल्ठूला खाडल। हिउँदमा धुलाम्मे र वर्षामा हिलाम्मे सडक। दैनिक सयौं सवारीसाधान ओहोरदोहोर गर्ने अति व्यस्त बुटवल बेलहिया व्यापारिक मार्ग हो यो।

विगत ६ वर्षदेखि यो सडकको अवस्था यस्तै छ। सडक निमार्णकालागि भत्काइएको बाटो डेढ दुइ वर्षसम्म पनि पूरा नहुँदा सवारी आवागमनमा समस्या भइरहेको छ। बुटवल भैरहवा सडकखण्डको मणिग्राम,भलवारी, कोटिहवा भैरहवाको बुद्ध चोक, डण्डालगायत स्थानमा भत्काइएका सडक लामो समयसम्म पूरा भएको छैन। निमार्णको गति निकै सुस्त छ।

सडकबीचका खाल्डाखुल्डी र किनारमा थुपारिएका निमार्ण सामग्रीले दुर्घटनाको जोखिम उत्तिकै बढेको छ। धुँवाधुलोले सडक छेउका स्थानीय हैरान छन्। भलवारीका मनवीर पुनले भलवारी–सखुवानी खण्ड भत्काइएको  डेढ वर्ष नाघिसक्दा पनि अझै पूरा नभएको गुनासो गरे। ‘धुलोले घरमा बसिटिक्नु हँुदैन बाटोले रोगी नै बनाउने भयो,’ पुनले भने।

पछिल्लो समय भलवारी क्षेत्रको मुख्य सडकले गति लिएपनि दाँयाबाँयाको सभिर्स लेन भत्काएर असरल्ल छोडिएको छ। सखुवानीकी जानुका भुसालले भत्काइएको सडकमा दैनिकजसो मोटरसाइकल तथा स्कुटर दुर्घटनामा पर्ने गरेको सुनाइन्। ‘धेरै वटा मोटरसाइकल र स्कुटर हाम्रै आँखा अगाडि पल्टिए। अझै कति पल्टिने हुन्?’ भुसालले भनिन्। झन्डै तीनवर्ष अघिदेखि भत्काइएको भैरहवाको बुद्धचोक र डण्डामा पनि अझै निमार्ण सकिएको छैन। बुटवल, भैरहवा र लुम्बिनी प्रवेशद्वार बुद्धचोकमा फुटपाथ नबन्दा पैदल यात्रीलाइलाइ निकै सास्ती छ। सडक पिच गरिएका अन्य स्थानमा पनि डिभाइडर,फुटपाथ तथा नला व्यवस्थित गरिएको छैन।

पाँच वर्षमा निमार्ण सम्पन्न गर्ने योजना अनुरुप आर्थिक वर्ष २०६८/२०६९ मा सुरु गरिएको यो व्यापारीक मार्ग अहिलेसम्म ७५ प्रतिशत काम सकिएको आयोजनाले जनाएको छ। बुटवलदेखि नेपाल भारत सीमानाका बेलहिया सम्मको २७.५ किलोमिटर सडकमध्ये अहिले सम्म ११.५ किलोमिटर सडक मात्र पूर्णरूपमा तयार भएको छ। बुटवल चौराहदेखि मणिग्राम सम्मको बाटो पूरा भएको हो।

निमार्णाधीन मणिग्राम–अञ्चलपुर खण्डको काम तीव्र रूपमा अगाडि बढेकाले  एक वर्षभित्रै सकिने आयोजना प्रमुख  जीवेन्द्र मिश्रले बताए। बाँकी काम २०७६ को असार मसान्तसम्म सक्नेगरी काम गर्न ठेकेदार कम्पनीलाइ निर्देशन दिइएको उनले बताए। ‘तोकिएको समय सिमा नाघे कारबाही गर्ने स्पष्ट निर्देशन दिएका छौं,’ मिश्रले भने।

आर्थिक वर्ष २०७३/०७४ मा सक्नेगरी सुरु भएको ६ लेन सडकको म्याद यसअघिनै एक वर्ष थपिएको छ। थपसमयमा पनि पूरा नहुने भएपछि फेरि म्याद थपको तयारी भइरहेको छ। सुरुमाा ३ अर्व ५० करोड लागत अनुमान गरिएको आयोजनाको समय लम्बिदा खर्च बढेर ५ अर्ब ८६ करोड पुगेको छ।

३ अर्ब ५० करोड रुपैयाँमा सक्ने भनिएको सडकमा ३ अर्ब ६० करोड खर्च भइसकेको आयोजनाले जनाएको छ। आयोजनाको समय लम्बिदा लागत बढने र आर्थिक चलखेल गर्न सहज हुने भएकाले सम्बन्धित निकायले समयमै काम नसक्ने ठेक्केदारलाइ अहिलेसम्म कारबाही गर्ने चासो देखाएको छैन।

तर आयोजना प्रमुख मिश्रले भने आयोजना सुरु भएपछि भएका आन्दोलन र ढुंगा गिट्टी र बालुवाको अभाव हुँदा निमार्ण प्रभावित भएको पुरानै जवाफ दिए। बिजुलीका पोल स्थानान्तरणमा भइरहेको ढिलाइले पनि समस्या भएको उनले बताए। इन्जिनियर मिश्रले यसपालि तोकिएको समयमा काम नसक्ने ठेक्केदारलाई कारबाही गरेरै छाड्ने दाबी गरे। भैरहवाको बुद्धचोक र बेलहिया क्षेत्रमा तोकिएको समयमा काम नगरेका ठेकेदारलाइ कारबाहीको प्रक्रिया अगाडि बढाइएको र हर्जना तिराउने तयारी भइरहेको बताए।

चौराह–गोलपार्क खण्डमा घर भत्काइँदै
यसैबीच सडक किनारका स्थानीयको विरोधका कारण रोकिएको बुटवलको राजमार्ग चौराहदेखि गोलपार्कसम्मको ६ लेन विस्तार सुरु भएको छ। चौराहदेखि गोलपार्कसम्मको साढे तीन किलोमिटर दूरीमा १ सय ३२ वटा रूख काटिएका छन्। मंगलबारदेखि सडकको ८२ फुटभित्र पर्ने घर भत्काउने काम सुरु हुने व्यापारिक मार्ग आयोजनाका प्रुमुख इन्जिनियर जिवेन्द्र मिश्रले बताए। आयोजनाले यसअघिनै घर पर्खाल सार्न स्थानीयलाई समय दिएको थियो।

करिब ४० घरधनीले आफै घर पर्खाल भत्काएर सारीसकेका छन्। अटेरी गर्ने बाँकी करिब १ सय ७० घरमा आजदेखि डोजर लगाउने तयारी आयोजनाले गरेको हो।

बुटवलमा अहिले ४ लेन सडक छ। मुख्य लेनलाइ यथावत राखी त्यसको दाँयाबाँया सर्भिस लेन र फुटपाथ निमार्ण गरीने छ। आयोजना प्रमुख मिश्रका अनुसार बेलहियादेखि बुटवल गोलपार्कसम्मकै सडक एउटै मापदण्ड र गुणस्तरको बनाउन अवश्यकता अनुरूप मुख्य लेनमाा नयाँ पिच थपिनेछ।

यो सडक निर्माणको ठेक्का एकबर्ष अघिनै कञ्चनजंघा–बिरुवा जेभिले पाएको हो। उसले तीस महिनामा सक्ने भनिएको सडक एक वर्ष ढिलो गरी निमार्ण सुरु भएको छ। सडक किनारका स्थानीयले घर भत्काउन अटेरी गर्दै अदालत गुहारेपछि निमार्ण रोकीएको थियो। उच्च अदालत दङको बुटवल इजलासले आयोजनाको पक्षमा फैसला गरिदिएपछि बुटवल बजार क्षेत्रमा पनि ६ लेन सडक निर्माणकोबाटो खुलेको हो।

प्रकाशित: ४ वैशाख २०७५ ०२:४२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App