coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

भूकम्पपीडितले आवास अनुदान पाएनन्

रावाबेंसी गाउँपालिका–२ खार्पामा निर्माणाधीन भूकम्पपीडितको घर।तस्बिर : दमन/नागरिक

खोटाङ – हलेसी तुवाचुङ नगरपालिका–१ बाहुनीडाँडा कदुवाका क्षेत्रबहादुर कार्कीको घरको चारै सुरमा चिरा पर्‍यो । घर बस्न नमिल्ने गरी चिरा परेपछि चारजनाको कार्की परिवार पालमुनि बसिरहेको छन्।

भूकम्पपछिको पुनर्निर्माणका क्रममा भूकम्प प्रभावित क्षेत्रमा आवास निर्माणको काम सुरु हुँदा कार्कीले राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको सहयोगको आस गर्दै झन्डै तीन वर्ष दुःख–सुखसँग त्रिपालमुनि बिताए । तर, उनको नाम हालसम्म लाभग्राही सूचीमा परेको छैन।राष्ट्रिय पुनर्निर्माण प्राधिकरणबाट आएका इन्जिनियरको मूल्यांकनपछि पनि आफ्नो नाम लाभग्राही सूचीमा नपरेको कार्कीले बताए।

‘भूकम्प गएको दिनदेखि म पालमा बसिरहेको छु, घरको चारैतिर चिरा परेको छ,’ कार्कीले भने, ‘चर्केका अरु घरले अनुदान पाउँदा मैले पनि पाउँछु भनेर बसें । तर, मेरो घर मूल्यांकनमा परेन।’छुट भएका भूकम्पपीडितको हकमा वडा कार्यालयमै गुनासो फर्म भर्न भनिए पनि आफ्नो समस्या सम्बोधन नभएको कार्कीको गुनासो छ । अनुदान पाउने प्रक्रिया लम्बिएपछि कार्कीले आफैं घर ठड्याउने तयारी गरेका छन्।

बिनाशकारी भूकम्पमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–४ खाल्लेका टंक श्रेष्ठको घर पनि क्षतबिक्षत भयो । घर पूर्ण क्षतिग्रस्त भएर बस्ने अवस्था नभएपछि श्रेष्ठले रातो कार्ड पाए । तर, राष्ट्रिय पुनर्निर्माण प्राधिकरणबाट आएको इन्जिनियरको मूल्यांकनमा श्रेष्ठको घर आंशिक क्षतिको सूचीमा पर्‍यो।

आवास अनुदान लिएर घर बनाउने बेलामा पूर्ण क्षति भएकाको सूचीबाट नाम हट्दा अन्याय भएको श्रेष्ठले बताए । जिल्लाका अधिकांश भूकम्पपीडितले दोस्रो किस्ता पाउने बेला हुन लाग्दा कतिपय भूकम्पपीडितको पहिलो किस्ता पाउने बाटोसमेत खुलेको छैन।

प्राधिकरणका इन्जिनियरको मूल्यांकनमा असन्तुष्टि जनाउँदै कतिपय भूकम्पपीडित जर्जर बनेको घरको फोटोसहित जिल्ला समन्वय समिति (जिसस)मा पुग्ने गरेका छन्।घरमा पूर्ण रुपमा क्षति पुगेको तर हालसम्म आवास अनुदान पाउनबाट वञ्चित भएका भूकम्पपीडितको अवस्था दर्दनाक देखिएको हलेसी तुवाचुङ नगरपालिका–१, बाहुनीडाँडा वडाध्यक्ष रुद्र राईले बताए।

‘छुटेका वास्तविक भूकम्पपीडितका लागि प्राधिकरणले गुनासो फर्म भराउनु भन्यो, गुनासो फर्म भर्‍यौं,’ वडाध्यक्ष राईले भने, ‘तर, गुनासो फर्म भरे अनुसार प्राधिकरणबाट कुनै काम भएको छैन । भूकम्पपीडितले सोधीखोजी गरेर हैरान बनाइरहेको छ ।’ वडाध्यक्ष राईका अनुसार घर बस्न लायक नभए पनि कदुवाका डाकबहादुर कार्की, खड्गबहादुर कार्की, चन्द्रबहादुर अधिकारी, सम्बरबहादुर कार्कीलगायत अनुदानबाट वञ्चित बनेका छन्।

भूकम्पमा घर गुमाएर विस्थापित भए पनि अनुदान पाउनबाट वञ्चित भूकम्पपीडितको यकिन तथ्यांक छैन । तर, भूकम्प प्रभावित क्षेत्रमा पहिला पूर्ण क्षति भएकाको सूचीमा नाम समावेश भएका तर प्राधिकरणका इन्जिनियरको पछिल्लो मूल्यांकनका आधारमा आंशिक क्षतिको सूचीमा नाम समावेश भएका भूकम्पपीडित जिल्लामा धेरै देखिएका छन्।

सुरुदेखि नै पूर्ण क्षति भएका पीडितको सूचीमा नाम समावेश हुँदै रातो कार्ड पाएका भूकम्पपीडित अन्तिममा आंशिकको सूचीमा पर्दा चिन्तित छन्।क्षति भएका घरको नापजाँच र मूल्यांकन गरेर फर्किएका इन्जिनियरको प्राविधिक मूल्यांकनमा आफ्नो नाम आंशिकमा राखिदिएको भन्दै नगरपालिका र गाउँपालिकामा गुनासो गर्न आउने भूकम्पपीडित उत्तिकै छन्।

पूर्ण क्षतिमा परेको रातो कार्ड पाएपछि घर भत्काएर आवास अनुदान लिएर नयाँ घर बनाउन तम्तयार भूकम्पपीडित अहिले ‘अघि बढ्नु न पछि हट्नु’को अवस्थामा छन् ।जिससका आवास अनुदान फोकल पर्सन आचार्यका अनुसार विभिन्न प्राविधिक समस्याका कारण खोटाङमा आठ हजार चार सय ४३ पूर्ण क्षति भएका र दुई सय ५३ आंशिक क्षति भएका लाभग्राही छन् ।

त्यसमध्ये तीन सय ८१ भूकम्पपीडित विभिन्न कारणले अझै आवास अनुदानबापतको पहिलो किस्ता पाउनबाट वञ्चित छन् । पूर्ण क्षति भएका भूकम्पपीडितसँग २०७३ चैत २९ गतेदेखि आवास अनुदान सम्झौता सुरु गरेको प्राधिकरणले आंशिक क्षति भएका पीडितसँग कात्तिक १६ गतेदेखि आवास प्रबलीकरण अनुदान सम्झौता सुरु गरेको थियो।


 

प्रकाशित: ४ वैशाख २०७५ ०१:५४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App