८ वैशाख २०८१ शनिबार
अर्थ

जलविद्युत् आयोजनाको ड्याम जोगाउन ‘रक फल प्रोटेक्सन’

माथिल्लो त्रिशुली थ्री ‘ए’ जलविद्युत् आयोजनाको ड्याम साइट । तस्बिर : नागरिक

रसुवा – माथिल्लो त्रिशुली थ्री ‘ए’ जलविद्युत् आयोजनाको ड्याम जोगाउनका लागि सुरु गरिएको ‘रक फल प्रोटेक्सन’को कार्य ८० प्रतिशत सम्पन्न भएको छ । आयोजनाको ड्याम साइटमा गएको पहिरो नियन्त्रणका लागि ‘रक फल प्रोटेक्सन’को कार्य गरिएको हो।

पहिरो नियन्त्रण गर्न एकै ठाउँमा रक नेटिङ, रक बोल्टिङ र रक फल प्रोटेक्सन गरिएको ठेकेदार कम्पनी न्यू क्रेसन इन्पेक्स प्रालिले जनाएको छ । प्रालिले गत अगस्टदेखि पहिरो नियन्त्रणका लागि ‘रक फल प्रोटेक्सन’ को कार्य सुरु गरेको थियो । त्यहाँ प्रयोग गरिएका निर्माण सामग्री स्विट्जरल्यान्डबाट आयात गरिएको हो ।

स्विट्जरल्यान्डको जियोवग कम्पनीबाट सामग्री आयात गरिएको प्रालिका म्यानेजिङ डाइरेक्टर बिजय श्रेष्ठले बताए ।प्रोटेक्सनको लागि करिब ३२ करोड रुपैयाँ बजेट छुट्याइएको छ । कुल बजेटमध्ये सामग्री खरिदका लागि १२ करोड रुपैयाँ खर्च गरिएको म्यानेजिङ डाइरेक्टर श्रेष्ठले जानकारी गराए । निर्माण गरिएको फेन्स नेटिङले ३ हजारदेखि ५ हजार किलोजुल गतिको ढुंगा रोक्न सक्ने बताइएको छ।  

पहिरोको वरिपरि ४१ वटा जाली हालिएको छ । पहिरो गएको क्षेत्रमा मान्छेले जाली बोकेर लैजान सम्भव नभएपछि हेलिकप्टरमार्फत जाली पुर्‍याइएको छ । ‘सल्लेटारको सडकसम्म गाडीमा सामग्री ल्याइएको थियो,’ श्रेष्ठले भने, ‘यहाँबाट पहिरोमा लैजानका लागि हेलिकप्टरको प्रयोेग गरेका छौं।’आयोजनाको ड्याममा पहिरोले क्षति पुर्‍याउने जोखिम बढेपछि नेपाली सेनाको विकास निर्माण निर्देशनालयले गत वर्ष ठेक्का लगाएको थियो।

गल्छी–बेत्रावती–मैलुङ–स्याफ्रबेसी–रसुवागढी सडक खण्डअन्तर्गत नेपाली सेनाले निर्माण गरिरहेको मैलुङ–स्याफ्रुबेसी सडक निर्माणअन्तर्गत नै पहिरो नियन्त्रणको काम भइरहेको मैलुङ–स्याफ्रुबेंसी सडक निर्माण कार्यदलका प्रमुख एवं प्राविधिक सेनानी सञ्जय केसीले बताए । संरक्षणको कार्य आगामी जेठ महिनाभित्र सम्पन्न हुने छ ।
आयोजनाको ७५ प्रतिशत काम पूरा
रसुवा र नुवाकोटको सीमामा निर्माण भइहेको आयोजनाको ७५ प्रतिशत काम पूरा भएको छ । चिनियाँ गेजुवा ग्रुफ अफ कम्पनी (सिजिजिसी)मार्फत क्यू सेभेन्टी उत्पादनका आधारमा आयोजना निर्माण भइरहेको हो।

६० मेगावाट क्षमताको आयोजनाको ४ हजार मिटर सुरुङमध्ये सम्पूर्ण सुरुङ खन्ने काम सकिएको आयोजनाका साइट इन्चार्ज अम्बिकेस कुमार झाले बताए । आयोजनामा अहिले पावरहाउस, ड्याम र सुरुङमा निर्माण कार्य तीव्र रुपमा अघि बढेको छ।सन् २०११ को जुन १ देखि काम सुरु भएको उक्त आयोजना सन् २०१४ मे ३१ मा काम सम्पन्न गर्ने लक्ष्य लिइएको थियो । सन् २०१९ अप्रिलको अन्तिम सातासम्ममा आयोजनाले उत्पादन थाल्ने साइट इन्चार्ज झाले जानकारी दिए।



 

प्रकाशित: ४ वैशाख २०७५ ०१:३२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App