८ वैशाख २०८१ शनिबार
अर्थ

रसुवागढी नाकामा सिसिटिभी जडान

रसुवा – चीनसँगको अन्तर्राष्ट्रिय व्यापारिक नाका रसुवागढीमा सिसिटिभी जडान गरिएको छ। रसुवागढी नाकादेखि टिमुरेस्थित भन्सार कार्यालयसम्म १२ वटा सिसिटिभी क्यामेरा जडान गरिएको रसुवागढी भन्सार कार्यालयले जनाएको छ।

नाकामा हुनसक्ने अवैध क्रियाकलाप रोक्नका लागि सिसिटिभी जडान गरिएको प्रमुख भन्सार अधिकृत गोपाल कोइरालाले जानकारी दिए । ‘नाकामा आवश्यक प्रविधि अभावमा अवैध क्रियाकलाप रोक्न समस्या हुँदै आएको थियो,’ प्रमुख भन्सार अधिकृत कोइरालाले भने, सिसिटिभी जडान गरेपछि निगरानी गर्न सहज भएको छ।’

चीनले अन्तर्राष्ट्रिय नाका घोषणा गरेसँगै तेस्रो मुलुकमा नागरिकले समेत यो नाका प्रयोग गरेर नेपाल भित्रने गरेका छन् । भूकम्प र पहिरोका कारण सिन्धुपाल्चोकको तातोपानी नाका बन्द भएपछि रसुवागढी नाका औपचारिक रुपमा सञ्चालनमा आएको थियो । २०७१ देखि औपचारिक रुपमा सञ्चालनमा आएको नाकाबाट पछिल्लो समय आयात–निर्यात बढ्दै गइरहेको छ।

चीनबाट करुको पीठो, रेडिमेट मसला, ड्राइ मसरुम, क्वाची, बदाम, प्याज, कफी, ओखर, स्याउ, नास्पाती, लसुन, अचार, भोटे चिया र गुुन्द्रुक आयात हुने गरेको छ । नेपालबाट चीनतर्फ बाँसको मुडा, अम्रिसोको कुचो, बुद्धचित्त, काठको धुप राख्ने स्ट्यान्ड, रुद्राक्ष, काठको प्लेट, काठको आँखी झ्याललगायत वनजन्य सामग्री निर्यात हुँदै आएको छ।

त्यस्तै जिल्ला प्रहरी कार्यालय र जिल्ला कारागारमा सिसिटिभी जोडिएको छ । जिल्ला प्रहरी कार्यालयमा ५ वटा र जिल्ला कारागारमा ३ वटा गरी ८ वटा सिसिटिभी जोडिएको प्रहरी नायव उपरीक्षक सरतकुमार थापा क्षेत्रीले जानकारी दिए ।
 

प्रकाशित: ४ वैशाख २०७५ ०१:२९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App