६ वैशाख २०८१ बिहीबार
अर्थ

खिम्ती ढल्केबर प्रसारण लाइन डेढ महिनाभित्रै पूरा हुने

काठमाडौं– खिम्तीढल्केबर प्रसारण लाइन आगामी डेढ महिनाभित्र सम्पन्न हुने भएको छ। ऊर्जामन्त्री जनार्दन शर्मालाई प्राधिकरणका प्रसारण लाइन निर्देशनालयका प्रमुख कनहैया मानन्धर र आयोजना प्रमुख श्यामकुमार यादवले आगामी दसैं अगावै प्रसारण लाइनको काम सम्पन्न हुने विश्वास दिलाएका हुन्। सिन्धुलीको कमलामाई नगरपालिका९ र भद्रकाली गाविसकोबीचमा तीन वटा ठाउँमा प्रसारण लाइन निर्माणका लागि हाल करिब १०० मजदुर परिचालित छन्।

ऊर्जामन्त्री शर्माले प्रसारण लाइन सम्पन्न गर्न निर्देशन दिएपछि आयोजनाले गतिलिएको हो। प्राधिकरणलाई सधै घाटामा पार्ने प्रवृत्ति अन्त्य गर्न मन्त्री शर्माले निर्देशन दिनुभएको छ। समयमै प्रसारण लाइन बन्न नसक्दा नेपाल विद्युत् प्राधिकरणले निर्माणको जिम्मा पाएको कालपत्रु पावरट्रान्समिशन र मुडभरी एन्ड जेभीलाई मासिक रु ११ लाख हर्जना तिर्दै आएको छ। सन् २०११ देखि हालसम्म प्राधिकरणले बैंक ग्यारेन्टी, बिमा, सामान भण्डारण शुल्कबापत रु ६ करोड ६० लाख तिरिसकेको छ।

मुआब्जालगायतका विषयमा विवाद उत्पन्न भएपछि स्थगित रहेको सो प्रसारण लाइन सरकारले पछिल्लो पटक सुरक्षाकर्मी परिचालन गरेर निर्माण सुरु गरेको छ। विश्व बैंकको रु २ अर्ब १५ करोड ६० लाख ऋण सहयोगमा सन् २००६ मा सुरु भएको सो आयोजना सन् २०१० मा सम्पन्न हुनुपर्ने थियो। सिन्धुलीमा पर्ने छवटा टावरमा लामो समयदेखि विवाद रहँदै आएको थियो।

सो प्रसारण लाइन सम्पन्न भएपछि बर्सेनि रु. एक अर्ब प्राधिकरणलाई फाइदा पुग्नेछ। विद्युतको प्राविधिक चुहावटका कारण १० मेगावाटभन्दा बढी विद्युत् खेरगइरहेको छ। करिब ७३ किलोमिटर दूरी रहेको सो आयोजना निर्माण भएपछि खिम्ती काठमाडौँ भरतपुर हुँदै तराई जोड्ने २५० किलोमिटर लामो दूरी पार गर्नुपर्ने अवस्थाको अन्त्य हुनेछ।

प्रसारण लाइन घुमाउरो हुँदा प्राधिकरणलाई वार्षिक रु एक अर्ब बराबरको घाटा भएको छ भने प्रसारण लाइन बन्ने बित्तिकै १० मेगावाट बिजुली बचत हुँदा मुलुकभरको विद्युतभार कटौतीको समयमा आधा घन्टा कम हुने विश्वास लिइएको छ। यस्तै प्रसारण लाइन नहुँदा सिप्रिङ आयोजनाबाट उत्पादित बिजुली राष्ट्रिय प्रसारणमा जोड्न पाइएको छैन। सो आयोजना निर्माण सम्पन्न भएपछि माथिल्लो तामाकोसी र दोलखालगायतका जिल्लामा उत्पादन भएको विद्युतसमेत राष्ट्रिय प्रसारण लाइनमा जोड्न सहयोग मिल्नेछ।

माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाले आयोजनास्थलबाट खिम्तीसम्मको प्रसारण लाइनको निर्माण सुरु गरिसकेको सन्दर्भमा सो प्रसारण लाइनमा करिब ५५८ मेगावाट विद्युत् प्रवाह हुनेछ। प्रसारण लाइन दोलखाको सहरे गाविसबाट सुरु भई रामेछाप, सिन्धुली र महोत्तरीका विभिन्न गाविस हुँदै धनुषाको ढल्केबरमा रहेको सव स्टेसनमा जोडिने छ।

यस आयोजनाले पाँच जिल्लाका १६ गाविस र एक नगरपालिका प्रभावित हुने देखिन्छ। आयोजनाको कुल लम्बाइ ७३ किमी क्षेत्रमा १५/१५ मिटर दायाँ र बायाँको प्रसारण लाइन अधिकार क्षेत्र रहेको छ। सो आयोजनाअन्तर्गत २३० टावर निर्माण गर्ने लक्ष्य राखिएकोमा हालसम्म २२६ वटा टावर निर्माण भइसकेका छन्। बाँकी चार टावर दसैं अगावै सम्पन्न हुनेछ।

विश्व बैंक, नेपाल सरकार र नेपाल विद्युत् प्राधिकरणको संयुक्त लगानीमा निर्माण भइरहेको आयोजना सम्पन्न भएपछि भारतबाट आयात गरिएको विद्युत् सहज रुपमा काठमाडौँ ल्याउन सकिने प्राधिकरणका कार्यकारी निर्देशक मुकेशराज काफ्लेले बताए। रासस 

प्रकाशित: १० भाद्र २०७३ ०८:४४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App