७ वैशाख २०८१ शुक्रबार
खेल

सातौं खेलकुद प्रतियोगिता हुने स्थल र खेल तोकिए

सातौं राष्ट्रिय खेलकुद प्रतियोगिताबारे पत्रकार सम्मेलनमार्फत जानकारी दिदैं राखेपका सदस्य सचिव केशवकुमार विष्ट ।

इटहरी–पूर्वाञ्चलमा मंसिर ८ देखि १५ गतेसम्म हुन लागेको सातौं राष्ट्रिय खेलकुद प्रतियोगितामा स्थल र खेल तोकिएको छ । पूर्वाञ्चलका तीन अञ्चलका दुई–दुईवटा जिल्लालाई स्थल तोकेर त्यहाँ हुने खेल तोकिएको हो । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य सचिब केशवकुमार विष्टले शुक्रबार इटहरीमा पत्रकार सम्मेलन गरि सुनसरी, मोरङ, झापा, इलाम, सिरहा र सप्तरी जिल्लालाई स्थल तोकेर त्यहाँ हुने खेल सार्वजनिक गरेका हुन् ।

खेलकुद प्रतियोगिता मोरङको विराटनगरमा उद्घाटन भएर पुरुष फुटबल, पुरुष क्रिकेट, सुटिङ, आर्चारी, टेबल टेनिस, सव टेनिस, हक्की, कवडीलगायतका ११ विधाका खेल हुनेछन् । प्रतियोगिताको उद्घाटन राष्ट्रपतिद्वारा गरिनेछ । यस्तै, सुनसरीको इटहरीमा सवै इभेन्टका इथलेटिक्स, महिला–पुरुष भलिवल, तेक्वान्दो र महिला क्रिकेट प्रतियोगिता हुने भएको  छ। सुनसरीकै धरानमा व्याडमिन्टन, कराते, महिला–पुरुष बास्केटबल, साइकिलिङ् र गल्फ खेल हुनेछ । सातौं राष्ट्रिय खेलकुदको समापन पनि धरानमै हुनेछ । समापन भने प्रधानमन्त्रीद्वारा गरिनेछ ।

सुनसरीको इनरुवामा भने खो खो हुनेछ भने आइटिएफ कहाँ गर्ने भनेर टुंगो नलागेको पत्रकार सम्मेलनमा जानकारी दिइयो ।
झापामा बक्सिङ्, जुडो र उसु प्रतियोगिता हुनेछ । यस्तै, इलाममा चेस, सप्तरीको राजविराजमा भारतोलन र सिरहाको सिरहा बजारमा कुस्ती प्रतियोगिता हुनेछ । खेल हुने स्थानका भौतिक पूर्वधार निर्माण गर्न बाँकी रहेका ठाउँमा अहिले युद्धस्तरमा काम भइरहेको विष्टले पत्रकार सम्मेलनमा बताए ।

सातौं राष्ट्रिय खेलकुद अन्तर्गत नै स्वीमिङ्, शारीरिक सुगठन र ट्रायथलन प्रतियोगिता भइसकेकाले गर्दा अब ३२ वटा खेलमा खेलाडी, प्रशिक्षक, निर्णयक र व्यवस्थापन पक्षका गरि ६ हजार २ सय ८३ जनाले भाग लिने भएका छन् ।
 राखेपले भदौ २० गतेसम्म खेलाडीको फाराम भरी सक्ने र भदौ २५ गतेदेखि असोज १४ गतेसम्म जिल्लास्तरीय छनोट गर्नेछ । जिल्लास्तरीय छनोट प्रतियोगिताका लागि सम्बन्धित खेलका प्रशिक्षकलाई अस्थायी नियुक्ती गरी पठाई सकिएको छ । क्षेत्रीय छनोट भने कात्तिक २५ गतेदेखि मंसिर ३ गतेसमम टुंगिनेछ ।

प्रतियोगिता गर्नका लागि ३७ करोड ६८ लाख रुपैयाँ खर्च हुनेछ । प्रतियोगिता सम्पन्न गर्नका गर्नका लागि युवा तथा खेलकुद मन्त्री दलजीत श्रीपालीको संयोजकमा ३ सय सदस्यीय मूल समिति र राखेपका सदस्य सचिब केशवकुमार विष्टको संयोजकत्वमा २८ सदस्यीय कार्यकारी समिति रहेको  छ । कार्यकारी समितिले नै १३ वटा उपसमिति बनाएर काम थालेको विष्टले जानकारी दिए ।

खेलकुद प्रतियोगिता सञ्चालन गर्नका लागि सम्पूर्ण काम गर्ने जिम्मेवारी भने कार्यकारी समितिको हुनेछ । कार्यकारी समितिको बैठक यही भदौं १६ गते बस्दैंछ । ‘पूर्वाञ्चलमा पहिलोपटक हुने र अन्तिम पनि सातौं राष्ट्रिय खेलकुद हुने भएकाले गर्दा संस्कृति, संस्कार र सभ्यताले चिनाउने गरि प्रतियोगिता भब्य पार्न सम्पूर्ण जुटनुपर्छ,’ पत्रकार सम्मेलनमा विष्टले भने । पत्रकार सम्मेलन प्रेस चौतारी नेपाल सुनसरी शाखाले गरेको हो ।

 

प्रकाशित: १० भाद्र २०७३ ०६:४२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App