coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

श्रीमानले बिदेशबाट पठाएको पैसाले व्यावसायिक तरकारी खेती

तरकारी गोडमेल गर्दै खाल्लेकी दुर्गा बस्नेत। तस्बिर : नागरिक

खोटाङ – खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–४ खाल्लेकी दुर्गा बस्नेतका श्रीमान कतारमा छन्। श्रीमानले कतारमा मासिक ५० हजार आम्दानी गरिरहदा दुर्गाले पनि तरकारी खेतीबाट घरैमा मासिक २०–२५ हजार आम्दानी गर्ने गरेकी छन्।

दुर्गाले श्रीमानले पठाएको पैसा लगानी गरेर व्यवसायिकरुपमा तरकारी खेती सुरु गरेकी हुन्। बचत गर्ने र रेमीट्यान्सलाई उत्पादनमुलक काममा प्रयोग गर्ने बानीको बिकासकाक्रममा उनले झण्डै पाँच रोपनी जग्गामा तरकारी खेती लगाएकी छन्। घर वरिपरी लहलह उत्पादन हुने हरिया साग, प्याज, लसुन, काउली, सिमी लगायतका तरकारी सदरमुकाम दिक्तेल बजारमै खपत हुने गरेको दुर्गा बताउछिन्। ‘पहिला–पहिला घरमा खानका लागि मात्र तरकारी लगाउने गरिन्थ्यो,’ दुर्गाले भनिन्, ‘विदेशबाट आएको पैसालाई लगानी गरेर वार्षीक ७ हजारमा छिमेकीको जग्गा लिएर खेती विस्तार गरेकी छु।’ दुर्गाले भैंसी, बाख्रा, कुखुरा पनि पालेकी छन्।

श्रीमान मलेसियामा रहेका खाल्लेकी नन्दादेवी बस्नेतले पनि तरकारी खेतीबाट मासिक २० हजारसम्म आम्दानी गरिरहेकी छन्। श्रीमानले कमाएर पठाएको पैसालाई बचत गर्न र सोही रकमलाई बढाउनका लागि नन्दादेबीले ६ हजारमा विभिन्न तरकारीको बेर्ना किनेर तरकारी खेती सुरु गरेकी हुन्। सुरुमा परिवारको छाक टार्नका लागि मात्र तरकारी लगाउँदै आएकी नन्दादेबी हाल थोरै लगानीमा सुरु गरेको तरकारी खेतीबाट उत्साहित बनेकी छन्। १० महिनादेखि मलेसिया रहेका श्रीमानको कमाईलाई बचत गर्न र आम्दानी थप्न तरकारी खेती लगाएको नन्दादेबी बताउँछिन्।

तरकारी खेतीबाट दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलकी दिपा आचार्यको आम्दानी पनि लोभलाग्दो छ। साउदीअरब रहेका श्रीमान समेत घर फर्किएपछि दिपाकै तरकारी खेती सम्हाली रहेका छन्।

जिल्लामा पछिल्लो समय विदेशबाट भित्रिएका रेमीट्यान्सलाई सदुपयोग गर्न विभिन्न आयमुलक काम गर्ने गृहिणीको संख्या बढ्दो छ। बैदेशिक रोजगारीलाई सुरक्षित र उपलव्धीमूलक बनाउने विषयमा परामर्श प्रदान गर्दैआएको सुरक्षित आप्रवासन परियोजना (सामी) र बालसेवा समाज नेपालको साझेदारीमा बैदेशिक रोजगारमा संलग्न परिवारका सदस्यलाई बित्तिय साक्षरता शिक्षा प्रदान गरिएको हो। पछिल्लो समय बैदेशिक रोजगारीबाट वा अन्य पेशाबाट आएको पैसालाई सुरक्षित तरिकाले बुझ्ने, बचत गर्ने र त्यसको उचित ठाउँमा उचित तरिकाले खर्च गर्ने क्षमताको बिकासले महिला तरकारी खेतीमा व्यवसाियक बन्दै गएको वित्तीय साक्षरता कक्षाका सहजकर्ता मिनप्रसाद आचार्यले बताए।

प्रकाशित: ३ वैशाख २०७५ ०७:०० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App