६ वैशाख २०८१ बिहीबार
अन्तर्राष्ट्रिय

शरणार्थीको पहिलो परिवार म्यानमार फर्किएको दाबी

म्यानमाली सरकारको सूचना कमिटीले अप्रिल १४ मा उपलब्ध गराएको तस्बिरमा म्यानमाली अध्यागमन कर्मचारीले उत्तरी रखाइन राज्यमा रहेको फिर्ती शिविरमा पाँच सदस्य रोहिन्जा परिवारको कागजात र तस्बिर परीक्षण गर्दै। तस्बिर : एपी

यांगुन – म्यानमार फर्किन सुरक्षित नभएको संयुक्त राष्ट्रसंघको चेतावनीका बाबजुत पनि बंगलादेशमा बसिरहेका रोहिन्जा शरणार्थीको पहिलो परिवार म्यानमार फर्किएको बताइएको छ।

गत वर्षको अगस्ट महिनामा सरकारी सेनाले सुरु गरेको क्रुर सैन्य अभियानबाट बच्नका लागि करिब सात लाख रोहिन्जा सीमा पार गरेर गएका थिए।

म्यानमारको रखाइन राज्यमा भएको सरकारी कदम ‘जातीय सफाया’ भएको आरोप राष्ट्रसंघले आरोप लगाउँदै आएको छ। म्यानमारले भने राष्ट्रसंघीय आरोपको पटकपटक खण्डन गर्दै आइरहेको छ।

एकै परिवारका पाँच सदस्य शनिबार ‘स्वेदश फर्कने शिविर’ आइपुगेको र उनीहरुलाई खाद्यान्न र परिचयपत्र उपलब्ध गराइएको म्यानमारले जनाएको छ। यदि म्यानमारले भनेजस्तै हो भने रोहिन्जा संकट उत्पन्न भएदेखि म्यानमार प्रवेश गर्ने रोहिन्जाको यो पहिलो समूह हो।

रखाइन राज्यमा रहेका रोहिन्जा लडाकुविरुद्ध न्यायसंगत अभियानमा आफू संलग्न भइरहेको म्यानमाली सरकारले दाबी गर्दै आइरहेको छ। यसै महिनाको सुरुतिर म्यानमाली सरकारले १० रोहिन्जा पुरुषको हत्या गरेको आरोपमा सात सैनिकलाई जेल सजाय तोकेको थियो।

छिमेकी देश बंगलादेशका शिविरमा रहेका रोहिन्जा शरणार्थीका अनुसार तत्कालीन समयमा विनाकारण हत्या, बलात्कार तथा घरहरुमा आगलागीलगायतका घटना व्यापक मात्रामा हुने गरेको थियो।

म्यानमारमा रोहिन्जा मुसलमानलाई अल्पसंख्यक समुदायको रुपमा लिने गरिन्छ। बंगलादेशबाट अवैधानिक रुपमा बसाइँसराइ गरेर आएको भन्दै उनीहरुलाई सरकारले हालसम्म मान्यता दिएको छैन भने स्थानीय प्रशासनले नागरिकता दिनसमेत इन्कार गर्दै आएको छ।

प्रकाशित: ३ वैशाख २०७५ ०५:४९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App