८ वैशाख २०८१ शनिबार
अन्य

जनप्रतिनिधि नै खानी दोहनमा

जनप्रतिनिधिको काम के हो ? जो कोहीले पनि सहजै उत्तर दिन सक्छन्– विकास निर्माण र नीति निर्माण गर्ने । उपत्यकाका केही जनप्रतिनिधि भने विकास निर्माण त परै जाओस्, उल्टै प्राकृतिक सम्पदाको दोहनमा लागेका छन्।

गोदावरी नगरपालिकासँगै दक्षिणी भेगमा पर्ने बाग्मती र कोन्जोसोम गाउँपालिकाका अधिकांश ठाउँमा अबैध रूपमा क्रसर उद्योग र खानी सञ्चालित छन् । तीमध्ये केही ठाउँका खानीमा जनप्रतिनिधिकै संलग्नता छ।

गोदावरी नगरपालिका प्रमुख गजेन्द्र महर्जन, बाग्मती गाउँपालिका अध्यक्ष वीरबहादुर लोप्चन, वाग्मती गाउँपालिका वडा नम्बर ३ का अध्यक्ष विष्णु तिमिल्सिना र सोही नगरपालिकाकै ६ का वडाध्यक्ष विष्णुमान महर्जन अवैध खानी सञ्चालन र निकासीमा लागेका छन्।

उनीहरूले आफ्नो प्रत्यक्ष संलग्नता नदेखिने गरी खानी सञ्चालकसँग भित्रभित्रै मिलोमत्तो गरेर अवैध निकासी गर्दै आएकोे स्थानीयको आरोप छ । ‘जनप्रतिनिधिहरू नै मिलेपछि यस्तो सम्भव भएको हो,’ नाम उल्लेख नगर्ने सर्तमा भट्टेडाँडाका एक स्थानीयले भने, ‘दैनिक १ सय भन्दा बढी ट्रिपर बालुवा र ढुंगा बोकेर कान्तिलोकमार्गबाट सातदोबाटो क्षेत्रमा प्रवेश गर्छन्।’

डुकुछापस्थित बाग्मती नदी, बाग्मती गाउँपालिकामा पर्ने खानी खोला, ठोस्ने खोला, टुंगुन खोलाबाट बालुवा तथा ढुंगाको अवैध उत्खनन् र निकासी हुने गरेको छ।उनले नल्लु र भट्टेडाडामा सबैभन्दा बढी ढुंगा, माटो र बालुवा निकासीको काम भइहरको जानकारी दिए ।क्रसर उद्योगले मनपरी ढुंगा बालुबा निकासी गर्दा नल्लु खोलामा पानीको बहाव घटेको र पिउने पानी धमिलो बनेको टीकाभैरवका स्थानीय लक्ष्मण रानाले बताए।

उनले अवैध रूपमा सञ्चालन भएका क्रसर उद्योग र ढुंगाखानी हटाउन माग गरे ।‘क्रसर चलाएर खोलाको ढुंगा तस्कर भएको छ,’ उनले भने, ‘खोलादेखि माथिको गाउँ पनि उधिनेर ढुंगा निकालिरहेका छन्, यसले वन र टीकाभैरव बस्तीलाई नै असर पारेको छ ।’  उनका अनुसार अवैध खानीका कारण खानेपानीको स्रोत नै सुक्दै गएको र पहिरोको खतरा देखिएको छ।स्थानीयले विरोध गर्दा पनि सरोकारवालाको बेवास्ताले अवैध निकासी रोकिएको छैन।

‘कानुनी प्रक्रिया पु¥याएर क्रसर उद्योग राखिएको भए जथाभावी दोहन हुने थिएन,’ उनले भने, ‘गोदावरी नगरपालिका वडा नम्बर ७ र ८ का अध्यक्षकै संयोजकत्वमा प्रकृतिको दोहन भइरहेको छ, यसलाई तत्काल रोक्नुपर्छ ।’ नगरपालिकाकै संरक्षणमा अवैध खानी सञ्चालन भइरहेको उनको आरोप छ ।गोदावरी नगरपालिकामा पर्ने डुकुछापस्थित बाग्मती बगरको सय रोपनी क्षेत्रफलमा अवैधरूपमा बालुवा खानी सञ्चालन भइरहेको छ।

बाग्मती नदीको वारिपारि यस्ता खानी सञ्चालन छन् । नदी क्षेत्रको करिब सय रोपनी जग्गा हड्पेर खानी सञ्चालन भइरहेको स्थानीय बताउँछन् ।नदीको डाइभर्सन नै परिवर्तन गरेर बालुवा तस्करी हुँदै आएको छ । स्थानीयका अनुसार तस्करले सो क्षेत्रबाट हरेक दिन सयभन्दा बढी ट्रिपर बालुवा लैजाने गरेका छन्।

गोदावरी नगरपालिकाका मेयर गजेन्द्र महर्जनले खानी दर्ताको लागि कडाई गरेको दाबी गरे। उनले अवैध खानीहरू बन्द भएको र हाल सञ्चालन भइरहेका खानी नियमसंगत रूपले चलेको बताए ।‘हामीले प्रक्रिया नपुर्‍याइ दर्ता गरेका छैनौं,’ उनले भने, ‘नगरपालिकाभित्र क्रसर उद्योग र ढुंगाखानी गरी २६ वटा छन्, बालुवा खानी छैनन्।’

गोदावरी नगरपालिका–६ का वडाध्यक्ष विष्णुमान महर्जनले पनि आफ्नो क्षेत्रमा कुनै पनि अवैध खानी सञ्चालन नभएको दाबी गरे । उनले हाल सञ्चालन भइरहेका खानी दर्ता भएर चलेको बताए । ‘कतिपय खानी सञ्चालन भइहरको ठाउँमा जंगल क्षेत्र परेकोले रुख काटिएका होलान्,’ आइतबार नागरिकसँग कुरा गर्दै उनले भने, ‘त्यसलाई हामीले कडाई गर्छौं।’

प्रमुख जिल्ला अधिकारी महादेव पन्थले भने जिल्लाका धेरैजसो खानी प्रक्रिया पूरा नगरी सञ्चालन भएको बताए । कतिपय खानीलाई प्रक्रिया नै पूरा नगरी दर्ता भएको उनको भनाइ छ । ‘गोदावरी नगरपालिकामा खानी र क्रसर उद्योग गरे २४ छन् भन्ने विवरण हामीलाई आएको छ, यी खानीलाई पनि सबै मापदण्ड पूरा नगरी दर्ता गराइएको रहेछ,’ उनले भने।उनले अवैध खानीको हटाउन अन्य स्थानीय तहसँग पनि छलफल भइरहेको बताए।
 

प्रकाशित: ३ वैशाख २०७५ ०३:४९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App