८ वैशाख २०८१ शनिबार
खेल

इन्टरको मौका चुक्यो

मिलान – एट्लान्टासँग गोलरहित बराबरीमा रोकिएपछि इन्टर मिलानले शनिबार एएस रोमा र लाजियोलाई पछि पार्दै इटालियन सिरी ‘ए’ को तेस्रो स्थानमा उक्लिने मौका चुकाएको छ।

इटालियन लिगको शीर्ष चारमा रहँदै सिजनको अन्त्य गर्ने टोलीमात्र आगामी सिजनको च्याम्पियन्स लिगलाई छानिन्छन्। अर्को सिजन युरोपेली क्लब फुटबलको सबभन्दा ठूलो प्रतियोगितालाई छानिने लक्ष्यमा रहेको इन्टर शनिबारको बराबरीपछि पाँचौं स्थानमै थन्किएको छ। युभेन्ट्स र नेपोलीले शीर्ष दुई टोलीका रुपमा आगामी सिजन च्याम्पियन्स लिग खेल्ने करिव पक्का गरिसकेका छन् भने बाँकी दुई स्थानका लागि रोमा, लाजियो र इन्टरबीच प्रतिस्पर्धा छ।

शनिबारको बराबरीपछि ३२ खेलमा ६० अंक जोडेको इन्टर पाँचौं स्थानमा सिमित हुँदा एक खेल कम खेलेका लाजियो र रोमा समान ६० अंकका साथ तेस्रो तथा चौथो स्थानमा छन्। ३१ खेलमा ८१ अंकका साथ युभेन्ट्स शीर्ष स्थानमा रहँदा ७७ अंक जोडेको नेपोली दोस्रो स्थानमा छ।

‘हामीमा कुनै समस्या छैन। अझै पनि हामी च्याम्पियन्स लिगलाई छानिनेमा आशावादी छौं,’ क्लबका उच्च स्कोरर माउरो इकार्डीले लगातार तेस्रो लिग खेलमा गोल गर्न नसक्नाका बावजुद इन्टरका प्रशिक्षक लुसियानो स्पालेटीले भने, ‘इकार्डी र इभान पेरिसिकले गोल गर्न सकिरहेका छैनन्। तर हामीले थुप्रै अवसर सिर्जना गरिरहेका छौं। अत्यन्तै कठिन मैदानमा पनि हामीले राम्रो फुटबल खेलिरहेका छौं।’

आगामी सिजन युरोपेली क्लब प्रतियोगितामा खेल्ने आधार बनाउने टोरिनोको लक्ष्यमा पनि शनिबार धक्का लाग्यो। १० जनामा सिमित भएर खेलको अन्त्य गरेको किइभो भेरोनासँग गोलरहित बराबरीमा रोकिँदा टोरिनो ४६ अंकका साथ १०औं स्थानमा सिमित भयो । इटालियन सिरी ‘ए’ बाट पाँचौं तथा छैटौं हुने टोलीले आगामी सिजनको युरोपा लिग खेल्न पाउनेछन्। टोरिनो एक खेल कम खेल्दै छैटौं स्थानमा रहेको एसी मिलानभन्दा ६ अंकले पछि छ। जवकि किइभो भने रेलिगेसन क्षेत्रभन्दा तीन अंकलेमात्र माथि छ।

जिनुवामा शनिबारै १–० को पराजय भोगेपछि क्रोटोनेको रेलिगेसन क्षेत्रबाट माथि उठ्ने लक्ष्यमा धक्का लाग्यो। घरेलु मैदानमा ड्यानिअल बेसाले २८औं मिनेटमा गरेको एउटै गोल जिनुवाको जितलाई पर्याप्त भयो।

इटालियन सिरी ‘ए’ मा शनिबारै सम्पन्न अर्को खेलमा काग्लियारीले युडिनेसीमाथि २–१ को जित हासिल गरेको छ। अंकतालिकाको मध्यपंक्तिका दुई टोलीबीचको खेलमा केभिन लासाग्नाले १०औं मिनेटमा भ्रमणकारी युडिनेसीलाई अग्रता दिलाएका थिए। तर त्यसको ११ मिनेटपछि काग्लियारीका लियोनार्दो पाभेलेटीले खेल बराबरीमा ल्याए। समय सकिन ६ मिनेट बाँकी रहँदा लुका सेपिटेलीले गोल गरेपछि काग्लियारीको जित पक्का भयो।

प्रकाशित: ३ वैशाख २०७५ ०३:४३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App