८ वैशाख २०८१ शनिबार
अन्य

चलनचल्तीमा लेहेंगा

पहिलेपहिले विवाहमा दुलहीको पहिरन सारी चोलो हुने गथ्र्याे । तर, हिजोआज सारीको ठाउँ लिएको छ, लेहेंगा । विवाहको मुहूर्त तथा विवाह पार्टीमासमेत विभिन्न खालका लेहेंगा चलाउने चलन बढ्दो देखिन्छ । बेहुली मात्र होइन, विवाह भोजका निम्तालुको पार्टी वेयरसमेत बनेको छ लेहेंगा।

विवाहको मौसममा पसल तथा बुटिकमा थरिथरि लेहेंगा खुब सजिन्छन् । यो विवाहको मौसममा लेहेंगाका विभिन्न डिजाइनमा लोभिँदै बुटिक चहार्नेको चहलपहल पनि बढेको डिजाइनर तथा बुटिक सञ्चालकहरु बताउँछन्।  

यस्तो अवस्थामा कस्ता प्रकार र डिजाइनका लेहेंगा लगाउँदा उपयुक्त होला भन्ने जिज्ञासा धेरैलाई हुन्छ । लेहेंगा छान्दा राम्रो डिजाइनरसँग सल्लाह गर्नु पर्ने स्टाइलिस्ट बताउँछन् । शरीरको बनोट, उचाइसमेत ध्यानमा राखी लेहेंगा चोलीको डिजाइन लगाउँदा पर्फेक्ट पार्टी लुक्स दिन सकिने उनीहरू बताउँछन्।   

हिजोआज डिजाइन तथा स्टाइलबारे धेरै महिला सचेत भइसकेको बताउँछिन्, आर्सिया ब्राइडल सपकी सञ्चालक आर्सिया बानु । त्यसैले टिनएजर्सदेखि अधवैशे उमेरका महिलासमेत विवाह तथा विभिन्न समारोहमा लेहेंगालाई पार्टी वेयरको रूपमा छनोट गर्ने गरेको उनी सुनाउँछन् ।
लेहेंगा छान्दा शरीरलाई सुहाउने डिजाइन, रङ र बुट्टाजस्ता कुरामा ध्यान राख्नु पर्ने उनको सुझाव छ । उनी भन्छिन्, ‘सानो कद हुने महिलाले ठूलो बुट्टाभन्दा सानो बुट्टाको डिजाइन लगाउँदा राम्रो देखिन्छ।

शरीरको आकार अनुसारको लेहेंगाको डिजाइन बनाउनु राम्रो हुन्छ ।’आफ्नो बजेटअनुसारको डिजाइन र स्टाइलका लेहेंगा अर्डरमा बनाउन सकिने आर्सिया बताउँछिन् । उनी भन्छिन्, ‘सहर बजारका महिलामा फेसनको चेतना पसिसकेको छ । पार्टी, विवाहलगायत कुनै पनि कार्यक्रममा जाँदा अरुभन्दा युनिक, स्मार्ट र राम्री देखिन चाहनाले गर्दा फेसनप्रति सचेत छन्।’

आफ्नो १८ वर्षको अनुभवमा मानिसहरू फेसन ट्रेन्ड फलो गर्न निकै अगाडि देखिएको उनी बताउँछिन् । विवाहको मौसममा नेपालमा मात्र नभएर विदेशमा रहेका नेपालीलाई समेत उनले लेहेंगा सप्लाइ गर्ने बताउँछिन् ।
लेहेंगाका केही प्रचलित डिजाइन
ब्राइडल लेहेंगा
ब्राइडल लेहेंगा बेहुलीको लागि भनी विशेष सामग्रीहरूको प्रयोग गरेर बनाइन्छ । नेपालमा ब्राइडल लेहेंगाको लागि भेल्भेटको कपडाको लेहेंगा बढी चल्तीमा रहेको डिजाइनर बताउँछन् । भेल्भेटको कपडामा डिजाइनरको सिर्जनात्मक आकर्षक बुट्टा भरिएको हुन्छ । भेल्भेटको कपडा चम्किलो हुने र त्यसमा कडाई गर्दा लेहेंगा झनै आकर्षक देखिन्छ । आर्सिया बानुका अनुसार विवाहमा अर्डर गर्न आउनेहरूको संख्या निकै बढेको छ।

उनी भन्छिन्, ‘हरेक ठाउँमा फेसन हेर्ने प्रवृत्ति बढेको छ । मानिस फेसन सँगसँगै कम्फर्टेबल लुगा लगाउन रुचाउँछन्। ’‘विवाहमा बेहुलीलाई हेर्न आउनेले उसले लगाएको पहिरन, शृंगार, गहना हेर्छन् । त्यसै कारण पनि विवाह समारोहमा लगाइने लुगा (लेहेंगा)मा विशेष ध्यान दिन जरुरी हुन्छ,’ उनले भनिन् । बेहुलीको सुन्दरतामा भेल्भेटको लेहेंगाले भूमिका खेल्ने उनले बताइन् । उनी भन्छिन्, ‘बेहुलीलाई सुन्दर देखाउन अनुहारको मेकअपले त मद्दत गर्छ नै ।

साथमा बेहुलीले लगाएको पहिरनले पनि महŒवपूर्ण भूमिका खेल्छ ।’ ब्र्राइडलको लागि बनाइने लेहेंगामा गरिएको ह्यान्ड वर्कले बेहुलीको मुहारमा चमक दिने आर्सिया बताउँछिन् । लेहेंगाको मूल्य लेहेंगामा प्रयोग भएको मटेरिएल अनुसार फरक पर्ने उनी बताउँछिन् । राम्रो डिजाइनको ब्राइडल लेहेंगा ९५ हजार रूपैयाँसम्मको मूल्यमा बजारमा पाइने उनी बताउँछिन्।

भरतपुरकी शोभा पौडेल (२४) वैशाख ५ गते वैवाहिक सम्बन्धमा बाँधिँदै छिन् । विवाहमा सारी लगाउने योजनामा रहेकी शोभा रिसेप्सनमा भने लेहेंगा लगाउने सुरमा छिन् । शीरदेखि पाउसम्म बेहुलीको रूपमा शृङ्गारिने योजनामा रहेकी उनी रातो रङको भेल्भेटको ब्राइडल लेहेंगा लगाउने तयारीमा रहेको बताउँछिन् । भेल्भेटको लुगाले अनुहारको सुन्दरतामा चमक थप्ने भएकाले भेल्भेट ब्राइडल लेहेंगा लगाउने योजनामा रहेको उनले बताइन्।

बेहुलीका लागि भेल्भेटकै लेहेंगा चल्तीको फेसनका रूपमा रहेकाले भेल्भेटको ब्राइडल लेहेंगा लगाउने सोचमा रहेको उनी बताउँछिन् । उनी भन्छिन्, ‘विवाहमा चुपचाप जग्गेमा बस्नु पर्छ । तर, रिसेप्सनमा भने हिँडडुल गर्नु पर्ने, फोटो सुट गर्नु पर्ने भएकोले लेहेंगा लगाउने विचार गरेकी हुँ।’

विवाहको रमाइलो र मनोरञ्जन गर्ने समयमा सारी सम्हाल्नु पर्ने चिन्ताबाट मुक्ति पाउन आफूले लेहेंगा रोज्न लागेको उनी बताउँछिन् । आफूलाई सारी लगाउने बानी धेरै नभएकाले लेहेंगामा सहज हुने उनको बुझाइ छ।
प्रिन्टेड फ्याब्रिक
प्रिन्टेड फेब्रिक लेहेंगा युवतीको रोजाइमा पर्न सफल भएको छ । स्कुल, कलेजका कार्यक्रम होस् वा पार्टी, भोज, विवाहको समारोहमा होस्, सधैं सबैको प्रिय पहिरन बनेको छ, प्रिन्टेड फ्याब्रिक लेहेंगा।

पुनम बराल मेडिकल रिप्रेजेन्टेटिभ हुन् । उनी विवाह, पार्टी वा अन्य भोजको समारोहमा प्रिन्टेड फ्याब्रिक लेहेंगामा सजिन रुचाउँछिन् । उनी भन्छिन्, ‘बजारमा चलेको फेसन अनुसारको लेहेंगा लगाउँछु।

आफूलाई सुहाउँदो लेहेंगा लगाउँछु ।’ गुलाबी र निलो रङ मनपराउने पुनम लेहेंगामा आफूलाई राम्री देखिएको महसुस हुने बताउँछिन्।‘मेरो शरीरकोे बनोटका लागि शरारा लेहेंगा सुहाउँछ । त्यसैले प्रायः प्रिन्टेड फेब्रिकमा शरारा लेहेंगा लगाउँछु,’ उनले भनिन् ।स्कुल, कलेज पढ्नेहरूको विशेष रोजाइमा पर्न सफल भएको लेहेंगा हो, प्रिन्टेड फेब्रिक लेहेंगा।
सिम्पल (सिल्क, नेट) लेहेंगा
हेभी लेहेंगा लगाउन मन नपराउने तर विवाह, पार्टीमा युनिक र राम्री देखिन चाहनेहरूको राम्रो विकल्प हुन सक्छ सिल्क, नेट लेहेंगा । हेर्दा फेसनेबल र आकर्षक हुने यो लेहेंगा हरेक उमेर समूहका महिलाको रोजाइ बन्न सफल भएको छ । हलुका बोर्डरमा कडाई गरेर सादा सिल्कको लेहेंगाको माग पनि निकै बढेको देख्न सकिन्छ।

राधा वली निजी संस्थामा कार्यरत छिन् । प्रायः विवाह, भोज, पार्टी सहभागी हुन रुचाउने उनी सिम्पल सिल्क लेहेंगा लगाउन मन पराउँछिन् । समारोह अनुसारको ड्रेस लगाउन मनपराउने उनी सिम्पल फिस्टेल डिजाइनको लेहेंगा लगाउने गर्छिन् । आफूलाई फिसटेलको लेहेंगा राम्रो लाग्ने हुनाले यो डिजाइनको लेहेंगा लगाउन रुचाउने उनी बताउँछिन् । ‘विवाह पार्टीमा नाच्दा, गाउँदा सारीमाभन्दा लेहेंगामा सहज हुन्छ । लेहेंगा लगाउँदा सारीलाई जस्तो स्याहार्नु पर्दैन,’ उनले भनिन्।

कुपन्डोलस्थित रहेको काबेरी कलेक्सनकी सञ्चालिका सुमित्रा मानन्धर तीन वर्षदेखि बुटिक सञ्चालन गर्दै आएकी छन् । लेहेंगा विवाहको समयमा निकै माग हुने उनी बताउँछिन् । उनी भन्छिन्, ‘विवाहमा लेहेंगा प्रचलनमा छ । लगाउन सहज हुने भएकाले लेहेंगा लगाउनेको संख्या बढ्दो छ ।’ विवाह गर्ने तरिकामा आएको परिवर्तनसँगै बेहुलीको पोशाकमा पनि परिवर्तन देखा परेको उनी अनुभव सुनाउँछिन् ।
ज्याकेट लेहेंगा
ज्याकेट लेहेंगा अघिपछि भन्दा ईदको समयमा बढी बिक्री हुने व्यापारी बताउँछन् । प्लाजो डिजाइनको लेहेंगा, कुर्ती र लामो ज्याकेट हुने यो लेहेंगा मुस्लिम समुदायको पर्व ईदको समयमा रुचाइने पोशाक रहेको आर्सिया बताउँछिन्।

उनी भन्छिन्, ‘ज्याकेट लेहेंगा मात्र नभएर हरेक लेहेंगा पहिलेदेखि नै लगाउँदै आएको पहिरन हो । अहिले नयाँ फेसन र डिजाइन मात्र दिइएको छ ।’ धेरैजसो अग्लो कद हुने महिलाले ज्याकेट लेहेंगा रुचाउने गरेको उनी बताउँछिन् । धेरै बुट्टा, बोर्डर मात्र भएको वा सादा सिल्क वा नेटका डिजाइनमा बजारमा ज्याकेट लेहेंगा पाइन्छन्।
 

 

प्रकाशित: ३ वैशाख २०७५ ०३:०१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App