coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अन्य

सरकारी निकायले काम नगर्दा सहर बिग्रिएको हो

नाजिर हुसेन, अभिनेता

तपाईँलाई मन पर्ने सहर कुन हो ?
मलाई मनपर्ने सहर काठमाडौं हो । यहाँको माहोल र परिवेश ज्यादै मन पर्छ । काठमाडौंमा मेरा आफ्ना सर्कलका मान्छेहरू पनि धेरै हुनुहुन्छ । मैले आफ्ना करिअर पनि यहीँबाट सुरु गरेको थिएँ । इच्छा र मन हुनेलाई काठमाडौंमा हरेक थोक पाइन्छ । पछिल्लो समय यो सहरलाई मैले धेरै नजिकबाट चिन्न पाएको छु।
काठमाडौंको के कुराले ध्यान तान्यो ?
मैले आफ्नो जीवन–संघर्षको सुरुवात पनि यही सहरबाट गरेको हुँ । ऐतिहासिक पक्ष हेर्दा पनि उपत्यका यत्तिकै महत्वपूर्ण र ऐतिहासिक सहर मानिन्छ । यहाँ मानव सम्यताकै इतिहास बोलेका किंवदन्ती छन् । उपत्यका मठ–मन्दिर र मौलिक कलाले सजिएको छ । यहाँ टोलैपिच्छे फरक–फरक संस्कृति पाइन्छ, यो पनि यहाँको अर्को महत्वपूर्ण पक्ष हो । यस्तै पक्षले मेरो ध्यान तान्यो।
उपत्यका बाहिरका सहर कस्तो लाग्छ ?
उपत्यका बाहिरका सहर झन् सुन्दर छन् । अहिले त देशका सबै सहर सडक सञ्जालले लगभग जोडिएका छन् । एक सहरको सुविधा अर्को सहरमा पुगेको छ । मलाई चितवन, पोखरा, शोलुलगायत सहर राम्रो लाग्छ । पोखरामा धुवाँधुलो र प्रदूषण छैन । पर्यटकीयरूपमा पोखरा एकदमै रमणीय ठाउँ हो । फेवाताल, प्याराग्लाइडिङ, गुफा र वरिपरि देखिने स–साना हिमाल त्यहाँका मुख्य आकर्षक पनि हुन् । अरु सहरमा पनि पोखरा जस्तै रमणीय छन्।
काठमाडौंभन्दा बाहिरको जीवनशैली कस्तो लाग्यो ?
मलाई ग्रामीण क्षेत्र घुम्न मन पर्छ । सहरभित्रका गाउँ घुम्न मन लाग्छ । तर, सहरवासीमा मानवता देख्दिनँ । सहरमा माया हराइसकेको छ । सबैले आफ्नो मात्रै सोच्छन् । सहरमा घर जोडिएका छन् । तर, मन तोडिएका छन् । गाउँमा यस्तो छैन । गाउँमा माया र आत्मीयता छुट्टै किसिमको छ । गाउँका मान्छे इमान्दार पनि लाग्छ । त्यसैले पनि मलाई गाउँ र त्यहाँको जीवनशैली मन पर्छ।
उपत्यकाको अस्तव्यस्त र भद्रगोल कम गर्न के गर्नु पर्ला ?
नीति निर्माण तहमा हुनेले विकासका काम गर्नु पर्‍यो । सहरवासीको आचरण पनि ठीक छैन । सहरमा बस्नेहरूले मनपरी गर्छन् । एकले अर्काको वास्ता राख्दैनन् । उपत्यका बिग्रनुको मुख्य कारण यहाँका सरकारी निकायले काम नगरेर हो।

यी निकायले दिने झन्झट र जनताको जीवनमाथि गरेको ठाडो खेलवाडको विरोध पनि हामी गर्न सक्दैनौं । सहरवासी बरु सहन्छन् । तर, दुःख गर्न खोज्दैनन् । जिम्मेवार निकायलाई खबरदारी गर्न सकेको भए विकास निर्माणका काम छिट्टै सकिन्थे । हाम्रो देशमा सरकारी निकायको कामकाज पनि पारदर्शी हुँदैन । कतै–कतै विकास निर्माणका काम भएको देख्दा खुसी लाग्छ।
तपाईँको विचारमा काठमाडौं कसरी राम्रो बन्छ होला ?
काठमाडौं अहिले जस्तो छ, अब पनि त्यसैमा सुधार गर्ने हो । अब नयाँ काठमाडौं बनाउँछु भनेर सम्भव छैन । किनकी यहाँ पहिले नै गल्ती भइसकेको छ।

यदि घर बनाउनेले एकैनासे घर बनाइदिएको भए, सडकको आसपासमा रुख रोपिदिएको भए, ठाउँ–ठाउँमा पर्याप्त खुला ठाउँ राखिदिएको भए सहर कति सुन्दर हुन्थ्यो होला । अर्को कुरा, यहाँका भवनले सहरलाई नै छेकेका छन् । भवनका कारण सहर कुरूप देखिएको छ । सरकारी निकाय र सहरवासीले बेवास्ता नगरको भए काठमाडौं यतिसाह्रो दिक्क लाग्दो हुँदैन्थ्यो होला।
तपाईँ कुन–कुन देशका सहर घुम्नुभएको छ ?
मैले चार वटा देशका सहर घुमेको छु । त्यसमध्ये धेरै बंगलादेशको ढाका, भारतको नयाँ दिल्ली, अस्टेलियाको मेलबर्नलगायत सहर मलाई राम्रो लाग्यो । विदेशी मुलुकका सहर व्यवस्थित, अनुशासित, शान्त र सुविधायुक्त छन् । हाम्रा सहर व्यवस्थित छैनन्।
विदेशका सहर घुम्दा कस्तो महसुस भयो ?
रमाइलो लाग्यो । म कलाकारिता देखाउने सिलसिलामै नेपालभन्दा बाहिरमा सहर घुमेको हुँ । नेपाल नछाड्दासम्म विदेशका सहर यस्ता छन् भन्ने सुनेको मात्रै थिएँ । तर, प्रत्यक्ष देख्न पाउँदा रमाइलो र ठाउँ बुझ्ने अवसर पाएँ । विदेशी मुलुकहरूमा सबै पक्ष व्यवस्थित पारिएको हुन्छ।
हाम्रा सहर किन त्यस्तै बन्न सकेनन् जस्तो लाग्छ ?
यहाँका सरकारी उच्च निकायका पदाधिकारीहरू विदेशका मुख्य सहर घुमेका छन् । तर, उनीहरू आफ्नोमा काम गर्दैनन् । यदि बनाउने हो भने हाम्रा सहर विश्वका नमुना सहर बन्छन् । यहाँ पाइने प्राकृतिक चिजहरू विदेशी मुलुकमा पाइँदैनन् । हाम्रा सहर प्राकृतिक रूपमै सजिएका छन्, मात्रै तिनलाई व्यवस्थित पार्न जरुरी छ।
तपाईँको सपनाको सहर कस्तो होस् भन्ने लाग्छ ?
म बसेको सहरमा प्रकृतिका अनेकौं रंगहरू भेटियोस्।अहिले त सहरमा भएको हरियाली पनि मासेर मरुभूमि बनाइँदै छ । यसले सहरलाई बिगार्छ । त्यस्तै, सहरमा सबैखाले सेवा–सुविधा होउन् । कतै पनि भद्रगोल नदेखियोस् । आफ्ना इच्छाहरू पूरा गर्न विदेशी मुलुकमा जान नपरोस् । सहरमा स्वच्छ सास फेर्न पाइयोस् । सहरवासीमा पनि सहयोगी भावना देखियोेस् । सबैमा मायालू भाव देखियोस् । दुःख पर्दा एकले अर्कोलाई हात दिओस्।
यहाँका नकारात्मक पक्षहरु के के हुन् ?
अव्यवस्थित र जोखिमपूर्ण सडक, हदैसम्मको ट्राफिक जाम, अव्यवस्थित पार्किङ, भीडभाड, र प्रदूषणले काठमाडौंलाई बिगारेको छ ।
यहाँका मन पर्ने पक्ष के हो ?
काठमाडौैंमा सबैखाले सेवा–सुविधाहरू पाइन्छ, यो नै यहाँको राम्रो पक्ष हो। सांस्कृतिक सम्पदा, जात्रा पर्व, मठ–मन्दिर, अनुकूल मौसमलगायत पक्ष हेर्दा काठमाडौं रामो लाग्छ।  
सहरको विकासका लागि सहरवासीले कस्तो जिम्मेवारी निभाउनु पर्ला ?
सहर बनाउनु छ भने सबैको सोच र नियत ठिक हुनुपर्छ । सबैले आफ्नो घरबाट निस्किएको फोहर सही ठाउँमा राख्ने हो भने पनि सहर यति धेरै फोहर हुने थिएन । हाम्रो सहरका समस्या कुनै व्यक्तिसँग भन्दा पनि कुनै निकायसँग बढी सम्बन्धित छन् । सरकारी निकायको जिम्मेवारीपना र पारदर्शिता नभएका कारण सहर बिग्रिएको हो ।
उपत्यका नजिकै घुम्न जानु पर्‍यो भने कता जानुहुन्छ ?
त्यति धेरै घुम्ने बानी छैन । कहिलेकाहीँ सुन्दरीजलतिर जान्छौं।
मन भएर पनि घुम्न नपाएको सहर कुन हो ?
मलाई इजिप्ट घुम्ने मन छ । यो सहरको फोटो र भिडियो हेरेको थिएँ, एकदमै रमाइलो लाग्यो । यहाँ मानव सभ्यताका विभिन्न वस्तुहरू सजाएर राखिएको छ । तिनको अध्ययन गर्न मन छ।
प्रस्तुति ; शिवहरि घिमिरे

प्रकाशित: ३ वैशाख २०७५ ०२:५० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App