८ वैशाख २०८१ शनिबार
समाज

अभिभावक सहायता कार्यक्रमले ४ लाख बालबालिका समेट्ने

काठमाडौं – विद्यालय जाने उमेर (५–९ वर्ष) समूहका विद्यालयको पहुँचबाहिर रहेका ४ लाख १ हजार ४ सय ९६ बालबालिकालाई विद्यालयभित्र ल्याउने गरी सरकारले यस वर्षको विद्यालय भर्ना अभियान सुरु गरेको छ।

आइतबारदेखि सुरु भएको भर्ना अभियानमा यस वर्ष विद्यालयबाहिर रहेका प्राथमिक तहका ८८ हजार २ सय ७ र आधारभूत तहका ३ लाख १३ हजार २ सय ८९ विद्यार्थीलाई विद्यालयभित्र ल्याउन प्रधानमन्त्री, मन्त्री, कलाकार, शिक्षक, पत्रकार, सभासद्, विद्यार्थीलगायत सबैले अभिभावकत्व लिने शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले अभिभावक सहायता कार्यक्रम अघि सारेको हो।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरीराजमणि पोखरेलले आइतबार पत्रकार सम्मेलनमार्फत ३० बुँदे तीन महिने कार्यक्रम कार्यान्वयन योजना प्रस्तुत गर्दै विपन्न बालबालिकाको अभिभावकलाई वित्तीय सहयोग गर्ने कार्यक्रम मन्त्रालयले ल्याउने तयारी गरेको बताए। ‘अधिकारमा आधारित अनिवार्य शिक्षा ऐन ल्याउन कानुन मन्त्रालयसँग छलफल अघि बढाइएको छ,’ मन्त्री पोखरेलले भने, ‘यो वर्षको विद्यालय भर्ना अभियानअन्र्तगत विपन्न बालबालिकाको अभिभावकलाई वित्तीय सहयोग गर्ने हाम्रो कार्यक्रम छ। यसका लागि अनिवार्य शिक्षा ऐन मन्त्रालयले ल्याउने तयारी गरेको छ।’ उनले तीन महिनाभित्र ऐन पनि आइसक्ने र सहज रूपमा भर्ना अभियान सम्पन्न हुने दाबी गरे।

‘विद्यार्थीलाई विद्यालयभित्र भर्ना मात्र गराएर हुँदैन स्कुलमा टिकाइ राख्ने भन्ने कुराले पिरोलिरहन्छ,’ मन्त्री पोखरेलले भने, ‘अभिभावक सहायता कार्यक्रमले बालबालिकालाई कक्षाकोठामा निरन्तरता र टिकाइ राख्न सहयोग गर्ने हाम्रो विश्वास छ।’

वैशाखभरि सबैले आआप्mनो तहबाट विद्यार्थी विद्यालयमा भर्ना गर्नुपर्ने मन्त्री पोखरेलले आग्रह गर्दै अपांगता भएका बालबालिकालाई समेत खोजी गरी त्यहीअनुसारको विद्यालयमा शिक्षादिक्षा मिलाउनेसमेत मन्त्रालयको कार्यक्रम कार्यान्वयन योजना रहेको बताए।

‘हामीले मुगुमा एक बालक भर्ना गर्न ल्यायौं तर ऊ शारीरीक अपांग भएकाले भर्ना गर्न सकेनौं,’ मन्त्री पोखरेलले अनुभव सुनाए, ‘त्यही भएर मैले सबै सहसचिव तथा सम्बन्धित निकायहरुलाई विभिन्न किसिमका अपांगता भएका नानीहरुको तथ्यांक र विद्यालय संख्या संकलन गर्न निर्देशन दिएको छु।’ उनले स्पष्ट पारे, ‘तथ्यांक प्राप्त भएपछि त्यहीअनुसार उनीहरुको शिक्षाको अधिकार सुरक्षित गरिने मन्त्रालयको कार्ययोजना छ।’

उनले सबैले आप्mनो तहबाट बालबालिका भर्ना गर्नुपर्ने अनुरोध गर्दै निरन्तरताका लागि सरकारले पूर्ण सहयोग गर्ने प्रतिबद्धता जनाए। उनले मुख्यसचिव लोकदर्शन रेग्मीले भर्ना अभियानका लागि कर्मचारीहरुको आर्थिक सहयोगमा ६ लाख जम्मा गरी भर्ना अभियानका लागि उपलब्ध गराउने जानकारी गराए। दुई जोर पोशाक, किताबकापी, कलम लगायत शैक्षिक खर्चको लागि प्रतिविद्यार्थी ६ हजार खर्च लाग्ने अनुमान छ। उनले सबै मिलेर विद्यालयबाहिर रहेका नानीहरुलाई विद्यालयभित्र ल्याउन सहयोग गर्नुपर्ने आग्रह गरे।

प्रधानमन्त्रीले विद्यार्थी भर्ना गरी सुरु गरेको ६ नम्बर प्रदेशमै २२ हजार बालबालिका विद्यालयबाहिर छन् भने प्रदेश नम्बर दुईमा सबैभन्दा बढी छन्। यो प्रदेशमा कुुल १ लाख ९१ हजार विद्यालय उमेरका बालबालिकाहरु विद्यालयबाहिर रहेको मन्त्रालयको तथ्यांक छ। ‘अब मन्त्रालयले हरेक तीन–तीन महिने कार्ययोजना बनाएर अघि बढ्ने सुरुवात गरेको छ,’ उनले भने, ‘यसले शिक्षामा सकरात्मक परिवर्तन ल्याउने हाम्रो विश्वास छ।’

मन्त्रालयका प्रवक्ता वैकुण्ठ अर्यालका अनुसार सबै आधारभूूत तहमा सबैभन्दा बढी बालबालिका विद्यालयबाहिर रहेका १३ जिल्ला छन्। ती जिल्ला सर्लाही, धनुषा, रौतहट, पर्सा, बारा, कपिलबस्तु, मोरङ, सुनसरी, रूपन्देही, सप्तरी, सिराहा, महोत्तरी र बाँके हुन्। जसमध्ये सबैभन्दा बढी सर्लाहीमा छन्, जहाँ २५ हजार ५ सय १५ बालबालिका विद्यालयबाहिर छन्।

‘प्रदेश नम्बर दुईका मुख्य मन्त्रीसँग तराईका पकेट क्षेत्रका बालबालिकालाई विद्यालयभित्र ल्याउन र टिकाउन अभिभावक सहयोग कार्यक्रम सञ्चालनबारे छलफल भइरहेको छ,’ प्रवक्ता अर्यालले नागरिकसँग भने, ‘आर्थिक अभावमा बालबालिकालाई विद्यालय पठाउन नसकेका अभिभावकलाई सरकारले आर्थिक सहयोग गर्ने तय गरेको छ।’ उनले थपे, ‘आवश्यताको आधारमा सहयोग गर्ने हो।’

मन्त्री पोखरेलले आसरसम्म सम्पन्न गर्नुपर्ने कार्यक्रम कार्यान्वयन योजनामा विद्यार्थी भर्ना तथा पाठ्यपुस्तक वितरण अभियान संचालन, संघीय शिक्षा विधेयक र अधिकारमा आधारित शिक्षा विधेयकको मस्यौदा तयारी, प्रदेश र स्थानीय तहका लागि कानुन मस्यौदा तयारी, प्रविधिक कार्यदलबाट स्कुल चार्टर खाका निर्माण र विद्यालयद्वारा स्कुल चार्टर निर्माणलगायत ३० बुँदे कार्ययोजना अघि सारेका छन्।

यसैबीच कलाका मदनकृष्ण श्रेष्ठले आफ्नी दिवंगत पत्नी यशोदा सुवेदी श्रेष्ठका नाममा निशा परियार, वर्ष गन्धर्व, सुमित्रा परियार, कृतिका सुनारलाई अभिभावकत्व गरेका छन्। यी चार विद्यार्थीलाई श्रेष्ठले स्नातकोत्तरसम्म पढाउन अभिभावकत्व ग्रहण गरेका हुन् भने हरिवंश आचार्यकी पत्नि रमिला आचार्यले सुजाता विकलाई अभिभावकत्व ग्रहण गरेकी छिन्।

प्रकाशित: ३ वैशाख २०७५ ०१:४७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App